News Summary
Generated by OK AI. Editorially reviewed.- लेखले बुद्धिस्ट सर्किटको भारतकेन्द्रित संरचनामा नेपालको आफ्नै पहिचान ओझेलमा परेको भन्दै ‘हिमालयन बौद्ध सर्किट, नेपाल’ प्रस्ताव गरेको छ।
- यस सर्किटमा लुम्बिनी, तिलौराकोट, रामग्राम, स्वयम्भूनाथ, बौद्धनाथ, नमोबुद्ध, हलेसीसहित तराई, उपत्यका र हिमाली बौद्ध सम्पदा जोडिनुपर्ने भनिएको छ।
- लेखका अनुसार सरकारले बौद्ध सम्पदाको एकीकृत अभिलेखीकरण, थप अनुसन्धान र प्रभावकारी राष्ट्रिय पर्यटन रणनीतिमा लगानी गर्नुपर्नेछ।
बुद्धिस्ट सर्किट भनेको भगवान् बुद्धको जीवन र बौद्ध धर्मसँग सम्बन्धित पवित्र स्थलहरूलाई जोड्ने तीर्थयात्रा वा पर्यटन मार्ग हो।
यसका चार प्रमुख स्थल हुन्- बुद्धको जन्मस्थल लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको स्थल बोधगया, पहिलो उपदेश दिएको स्थल सारनाथ र महापरिनिर्वाण प्राप्त गरेको स्थल कुशीनगर।
यीमध्ये लुम्बिनी नेपालमा पर्छ भने बाँकी तीन स्थल भारतमा पर्छन्।
यस सर्किटमा लुम्बिनीसँग जोडिएका नेपालभित्रका तिलौराकोट, रामग्रामलगायतका बौद्ध स्थलहरू पनि समावेश गरिएको पाइन्छ।
भारत सरकारको सन् २०१४ को एउटा आधिकारिक योजनामा भारतका विभिन्न बौद्ध स्थल समेटेर लुम्बिनीलाई एकदिने भ्रमणका रूपमा राखिएको थियो।
यसले नेपाललाई यात्राको मुख्य केन्द्रभन्दा सहायक गन्तव्य बनाउने संरचना देखाउँछ। यसको अर्थ सबै वर्तमान यात्रा कार्यक्रम यही बुद्धिस्ट सर्किटको अवधारणाबाट निर्धारित छन् वा यही ढाँचामा सञ्चालन भइरहेका छन् भन्ने होइन।
यहाँ उठाउन खोजिएको विषय के हो भने बौद्ध धर्म, संस्कृति, तीर्थयात्रा र विविध बौद्ध अनुभवको प्रचलित भारतकेन्द्रित संरचनाभित्र नेपालको आफ्नै पहिचान, नेतृत्व र सम्भावना ओझेलमा पर्न गएको छ ।
यो त्यही ‘कोठाभित्रको हात्ती’ तर्फ ध्यानाकर्षण गराउने प्रयास मात्र हो। समग्र नेपालको ब्रान्डिङ गर्ने हो भने हिमालयन बुद्धिस्ट सर्किट, नेपाल बढी विशिष्ट र आकर्षक सुनिन्छ। यो ब्रान्डले बुद्ध सर्किटमा किनारमा परेको नेपाललाई किनारबाट बौद्ध सभ्यताको केन्द्रमा ल्याउँछ।
भगवान् बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ। जति भने पनि यो यथार्थ अब परिवर्तन हुँदैन। त्यसैले नेपालले बौद्ध धर्मसँग सम्बन्धित आफ्नो सम्पदा र बौद्ध पर्यटनलाई आफ्नै भूगोल, इतिहास तथा सांस्कृतिक परिवेशका आधारमा समग्र रूपमा ब्रान्डिङ गर्नुपर्छ।
यस दृष्टिले प्रस्तावित हिमालयन बौद्ध सर्किट, नेपाल विशिष्ट, आकर्षक र नेपालको सन्दर्भसँग मेल खाने अवधारणा हुन सक्छ। यसले बुद्धको जन्मभूमिलाई समग्र नेपाली समाज र हिमाल, गुम्बा, ध्यान, साधना र जीवित बौद्ध संस्कृतिसँग जोडेर नेपालको स्पष्ट स्वामित्व तथा पहिचान स्थापित गर्ने अवसर दिन्छ।
बुद्धिस्ट सर्किट सुन्दा अरूले प्रचार गरेको यात्रा मार्ग सम्झिने सम्भावना रहेको अवस्थामा नेपालले आफ्नै विशिष्टता झल्काउने नाम रोज्नु व्यावहारिक हुन्छ।
यसको मूल रणनीति कसैसँग उही नाममा प्रतिस्पर्धा गर्नुभन्दा बुद्धको जन्मभूमि लुम्बिनी र हिमालयको बौद्ध अनुभवलाई नेपालको आफ्नै कथाका रूपमा स्थापित गर्नु हो।
यहाँ ‘हिमालय’ शब्दले उच्च हिमाली भूभाग मात्र नभई हिमालयसँग जोडिएको नेपालको व्यापक भौगोलिक तथा सांस्कृतिक परिवेशलाई जनाउँछ।
नेपालको तराई पनि हिमालयबाट बग्ने नदी र तिनले निर्माण गरेको मैदानी भूभागसँग सम्बन्धित छ। यस अर्थमा लुम्बिनीदेखि हिमालयसम्मको सम्बन्ध यस अवधारणाको आधार बन्न सक्छ।
सबै प्रमुख बौद्ध ग्रन्थहरूमा हिमालय र हिमाली क्षेत्रबारे उल्लेख छ। प्रारम्भिक ग्रन्थहरूमा हिमालय मुख्यतः भौगोलिक क्षेत्र, वनप्रदेश र साधनास्थलका रूपमा आउँछ भने पछिल्ला महायान तथा वज्रयान परम्परामा हिमाली क्षेत्रको धार्मिक र आध्यात्मिक महत्त्व अझ व्यापक हुन्छ। विशेषगरी पाली त्रिपिटकमा हिमालयका लागि ‘हिमवन्त’ शब्द प्रयोग भएको पाइन्छ। यसको अर्थ हिमालय वा हिमालयसँग सम्बन्धित विशाल पर्वतीय वनप्रदेश हो।
‘हिमवन्त सुत्त’ मा बुद्धले हिमालयलाई ‘पर्वतहरूको राजा’ का रूपमा उल्लेख गर्दै नागहरू हिमालयको आश्रयमा बलिया हुने र त्यहाँबाट ताल, नदी हुँदै समुद्रसम्म पुग्ने दृष्टान्त दिएका छन् ।
यही दृष्टान्तमार्फत भिक्षुले शीलमा आधारित भएर ज्ञानप्राप्तिका सात तत्त्व विकास गर्ने कुरा पनि व्याख्या गर्नुभएको छ।
बुद्ध स्वयंले हिमालयको उच्च पर्वतीय क्षेत्रमा कहाँ-कहाँ भ्रमण गरेका थिए भन्ने प्रश्नको अनुसन्धान हुन बाँकी छ।
प्राचीन बौद्ध ग्रन्थहरू पूर्ण यात्रा-विवरण होइनन्। तिनको मुख्य उद्देश्य बुद्धका उपदेश र भिक्षुसङ्घका नियम संरक्षण गर्नु थियो। त्यसैले उहाँका सबै यात्राको विवरण अभिलेखित भएको नहुन सक्छ।
नेपालको बौद्ध सम्पदाको पहिलो आधार लुम्बिनी र यस वरपरका ऐतिहासिक स्थलहरू हुन्। लुम्बिनी, तिलौराकोट, रामग्राम स्तूप र कुदान गौतम बुद्धको जन्म, शाक्य–कोलिय इतिहास, पारिवारिक सम्बन्ध तथा अस्तिधातुको परम्परासँग जोडिएका छन्।
निग्लिहवा र गोटिहवा भने क्रमशः कनकमुनि र क्रकुच्छन्द पूर्वबुद्धसँग सम्बन्धित स्थलका रूपमा चिनिन्छन्। यी स्थलले नेपालको बौद्ध पहिचानलाई ऐतिहासिक, पुरातात्त्विक र धार्मिक आधार प्रदान गर्छन्।
यसको अर्को आधार पहाडी क्षेत्रका बौद्ध तीर्थस्थल र जीवित परम्परा हुन्। काठमाडौंका स्वयम्भूनाथ र बौद्धनाथ, काभ्रेपलाञ्चोकको नमोबुद्ध, काठमाडौंकै फर्पिङ र खोटाङको मराटिका अर्थात् हलेसी यसका महत्त्वपूर्ण उदाहरण हुन्।
यी स्थलमा प्राचीन चैत्य, बोधिसत्त्वसम्बन्धी धार्मिक आख्यान, गुरु पद्मसम्भवको साधना परम्परा र निरन्तर चलिरहेका धार्मिक अभ्यास भेटिन्छन्।
यसले नेपाललाई पुरातात्त्विक स्थलहरूको देशसँगै जीवित बौद्ध आस्था र साधनाको केन्द्रका रूपमा प्रस्तुत गर्छ। हिमाली क्षेत्रमा यो सम्पदा अझ व्यापक छ।
मुस्ताङका लोमान्थाङस्थित गुम्बाहरू, घर गुम्बा अर्थात् लो ग्याकर र मुक्तिनाथ उल्लेखनीय छन्। मुक्तिनाथ बौद्ध र हिन्दु दुवैको साझा तीर्थस्थल पनि हो ।
हुम्लाका रालिङ गुम्बा, यालबाङ गुम्बा र लिमी उपत्यकाको हल्जीस्थित रिन्चेनलिङ गुम्बा धार्मिक आस्था र स्थानीय सांस्कृतिक जीवनका महत्त्वपूर्ण केन्द्र हुन्। जुम्लाको दुदुल स्तूप तथा सिञ्जा उपत्यका र आसपासका प्राचीन बौद्ध चैत्य र अभिलेखीय सम्पदा पनि यस व्यापक सञ्जालमा समेटिनुपर्छ।
नेपालको हिमाली बौद्ध सम्पदा यी जिल्लामा मात्र सीमित छैन। पूर्वमा ताप्लेजुङको घुन्सास्थित टासी छ्योलिङ गुम्बा र ओलाङचुङगोलाको गुम्बा, सोलुखुम्बुका तेङ्बोचे र थामेलगायतका गुम्बा, दोलखाको बिगु गुम्बा, उत्तरी गोरखाको चुम उपत्यकाका मु र राचेन गुम्बा, तथा डोल्पाको शे गुम्बा र धो–तरापका धार्मिक सम्पदा यसका थप उदाहरण हुन्।
रसुवा, सिन्धुपाल्चोक, मनाङ, सङ्खुवासभा र मुगुलगायतका जिल्लाका बौद्ध बस्ती, गुम्बा, चैत्य र साधनास्थललाई पनि विस्तृत अभिलेखमा समेट्न आवश्यक छ।
यी सम्पदामध्ये धेरैबारे सरकारी दस्तावेज, पर्यटन गुरुयोजना, धार्मिक संस्थाका प्रकाशन तथा अन्य अध्ययनमा विवरण उपलब्ध छन्।
नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र कर्णाली पर्यटन गुरुयोजनामा पनि विभिन्न स्थल समेटिएका छन्। त्यसैले समस्या अनुसन्धानको पूर्ण अभावभन्दा पनि उपलब्ध ज्ञानलाई एकीकृत गर्ने, आवश्यक थप अनुसन्धान गर्ने र त्यसलाई प्रभावकारी राष्ट्रिय पर्यटन रणनीतिमा रूपान्तरण गर्ने चुनौती हो।
यहाँ हाम्रा नीतिनिर्माता र सरोकारवालाले पर्याप्त ध्यान नदिएको प्रश्न हो – नेपालले आफ्नो बौद्ध सम्पदाको व्याख्या, यात्रा संरचना र अन्तर्राष्ट्रिय प्रचारमा कति आफ्नै नेतृत्व स्थापित गर्न सकेको छ ?
यस अर्थमा प्रस्तावित ‘हिमालयन बौद्ध सर्किट, नेपाल’ केही प्रसिद्ध गुम्बा जोड्ने मार्ग मात्र नभई लुम्बिनीदेखि पूर्व-पश्चिमका हिमाली क्षेत्रसम्म फैलिएको नेपालको जीवित बौद्ध सम्पदाको सञ्जाल नेतृत्वदायी अवधारणा हुन सक्छ।
लुम्बिनीलाई केन्द्रमा राखेर नेपालको तराई, उपत्यका र हिमालयका बौद्ध सम्पदा जोड्ने नेपालबाट विकसित राष्ट्रिय सञ्जाल यसको उद्देश्य हो।
यसलाई लामो (दुई हप्ता, चार हप्ता वा अझ बढीको) यात्रामा समेत प्रवर्द्धन गरी विभिन्न रुचि, समय र पहुँचअनुसारका नेपाली सर्किटका रूपमा विकास गर्न सकिन्छ।
हाम्रो आध्यात्मिक चेतनामा पदयात्रा तथा तीर्थयात्रा सधैँ नै जोडिएका छन्। त्यसका लागि जिल्लागत अभिलेखीकरण, ऐतिहासिक प्रमाणको परीक्षण र स्थानीय बौद्ध समुदायको सहभागितामा अनुसन्धान आवश्यक हुन्छ।
प्रमाणित इतिहास, धार्मिक परम्परा र स्थानीय जनविश्वासको भिन्नता स्पष्ट राख्दै अघि बढेमा यो अवधारणाले नेपालको विशिष्ट पहिचान, सम्पदा संरक्षण र स्थानीय आर्थिक अवसरलाई एउटै बिटोको बल दिन सक्छ।
यो ‘हिमालयन बुद्धिस्ट सर्किट, नेपाल’ अभियान केवल नाम फेर्नेमै सीमित हुनुहुँदैन। बुद्धलाई नेपालको अमूल्य रत्नका रूपमा सम्मान गर्दै नेपाली रुपैयाँमा उनको स्थान सुनिश्चित गर्न अब ढिलाइ गर्नुहुँदैन। सरकारले बौद्ध सम्पदाको अनुसन्धानमा गम्भीर चासो र लगानी देखाउनुपर्छ। भएका अनुसन्धान छरिएका छन् । तिनको एकीकृत अभिलेखीकरण, थप अनुसन्धान र प्रभावकारी प्रचार आवश्यक छ।
आफ्नै ऐतिहासिक थातथलो र जीवित बौद्ध परम्परालाई आधार बनाएर नेपाललाई बौद्ध धर्म, संस्कृति, तीर्थयात्रा र विविध बौद्ध अनुभवका लागि वर्षभरि भ्रमण गर्न सकिने प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ। पुरानो अवधारणा नेपालप्रेरित छैन जस्तो लाग्छ। अतः ‘हिमालयन बौद्ध सर्किट’ को अवधारणाले अवश्य नै बुद्धमय नेपाल निर्माण गर्न मद्दत गर्छ।
प्रतिक्रिया 4