
१० जेठ, बुटवल । बाँकेमा शनिबार थप २७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
संक्रमित सबै बाँकेको नरैनापुर गाउपालिकाका मात्रै हुन् । यसअघि नरैनापुरमा ८६ जना संक्रमित थिए । शनिबार थपिएकासँगै नरैनापुरमा कोरोना संक्रमितको संख्या १ सय १३ जना पुगेको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा नयाँ २७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ । भारतसँग सीमाना जोडिएको बाँकेको नरैनापुर प्रदेश ५ मै सबैभन्दा बढी संक्रमित हुने गाउँपालिका बनेको छ ।
प्रदेश नम्बर ५ मा कोरोना भाइरस संक्रमित संख्या २ सय ७१ पुगेको छ ।
भारतबाट आएकाहरू क्वारेन्टाइनमा नबसी घरमा जाँदा संक्रमण हुनेको संख्या वृद्धि भइरहेको हो ।
प्रदेश ५ मा पहिलो पटक वैशाख १९ गते बाँकेको नेपालगन्ज–८ का ६० वर्षीय मदरसाका शिक्षकमा र रूपन्देहीको कोटहीमाइ गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवकमा कोरोना देखिएको थियो ।
रुपन्देहीका युवक एक हप्ताअघि र बाँकेका पहिलो संक्रमितसहित २१ जना निको भएर शुक्रबार मात्रै घर फर्किएका छन् । नरैनापुरका एक जनाको क्वारेन्टाइनमा र गुल्मी मदानेका एक पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
प्रतिक्रिया 4