Comments Add Comment

फ्राङ्कफर्टको पोष्टमा पाँच गोल गर्दै वायर्नले बनायो ४ अंकको अग्रता

११ जेठ, काठमाडौं । जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार अबेर भएको खेलमा लिग लिडर वायर्न म्युनिखले एनट्राट फ्राङ्कफर्टलाई ५–२ ले पराजित गरेको छ ।

घरेलु मैदान एलिएन्ज एरेनामा सहज जितपछि वायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथि ४ अंकको अग्रता कायम गरेको छ । त्यसअघि डर्टमण्डले वल्फ्सवर्गलाई पराजित गर्दै वायर्नलाई चुनौती दिएको थियो ।

उपाधि होडमा अघि रहेका यी दुई क्लब अर्को चरणमा एकआपसमा भिड्दैछन् ।

घरेलु मैदानमा लिओन गोरेट्जाकाले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा थोमर मुलरले गोल गरेपछि वायर्नले पहिलो हाफमा अग्रता दोब्बर बनायो ।

दोस्रो हाफको सुरुमै रोवर्टो लेवान्डोस्कीले गोल गरेपछि वायर्नले ३–० को अग्रता लियो ।

त्यसपछि ३ मिनेटको अन्तरमा फ्राङ्कफर्टले दुई गोल फर्काउँदा खेल रोमाञ्चक बनेको थियो । फ्राङ्कफर्टका लागि ५२ औं र ५५ औं मिनेटमा मार्टिन हिन्टेरेगरले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । खेल ३–२ को अवस्थामा रहेका बेला वायर्नले दुई गोल थप्यो ।

६१औं मिनेटमा अल्फन्सो डेभिसले गोल गरेपछि वायर्नले अग्रता बढायो । फ्राङ्कफर्टका लागि दुई गोल गरेका हिन्टेरेगरले नै ७४औं मिनेटमा आत्मघाती गोल पनि गरेपछि वायर्नले ५–२ को सहज जित पक्का गरेको हो ।

जितपछि शीर्ष स्थानको वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ । समान खेलबाट ५७ अंकसहित डर्टमण्ड दोस्रोमा छ ।

एक खेल कम खेलेको फ्राङ्कफर्ट २८ अंकसहित १३ औं स्थानमा छ । फ्राङ्कफर्ट रेलिगेसन जोनभन्दा ५ अंकले मात्र अघि छ ।

लिगअन्तर्गत आज तीन खेल हुँदैछ । जसमा साल्का ०४ ले अग्सबर्गसँग, आरबी लाइपजिगले माइन्जसँग र एफसी कोल्नले फर्चुना डुसेलडोर्फसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment