Comments Add Comment

लकडाउन अवधिमा सुदूरपश्चिममा ११४ ले गरे आत्महत्या

११ जेठ, डोटी । चैत्र ११ गते लकडाउन भएदेखि शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशमा ११४ जनाले आत्महत्या गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार यस अवधिमा ५६ महिला र ५८ पुरुषले आत्महत्या गरेका हुन् । जसमा बालक पाँच र बालिका १० रहेका छन् ।

सबैभन्दा बढी ९१ जनाले झुण्डिएर आत्महत्या गरेको खुलेको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशबहादुर सिंहले जानकारी दिए । उनले भने, ‘झुण्डिएर आत्महत्या गर्नेहरुमा महिला ३३ र १३ बालबालिका रहेका छन् ।’

यस्तै विष सेवन गरेर १९ जनाले आत्महत्या गरेका छन् । भिरबाट हामफालेर दुई र पानीमा हामफालेर दुई जनाले आत्महत्या गरेको एसएसपी सिंहले जानकारी दिए ।

गत वर्ष यही अवधिमा सुदूरपश्चिममा ११३ जनाले आत्महत्या गरेका थिए । लकडाउनका बेला आत्महत्याका घटना बढेका समाचार आइरहेको भए पनि सुदूरपश्चिममा त्यस्तो समस्या नदेखिएको एसएसपी सिंहको भनाइ छ ।

आत्महत्या गर्नुमा लकडाउनले खासै असर नगरेको भए पनि महिलाको संख्या भने गत वर्षको तुलनामा बढेको तथ्याङ्कले देखाउँछ ।

गत वर्ष यो अवधिमा ११ बालिकासहित ५० महिलाले आत्महत्या गरेका थिए भने यो वर्ष १० बालिकासहित ५६ महिलाले आत्महत्या गरेका छन् ।

गतवर्ष पाँच बालकसहित ६३ जना पुरुषले आत्महत्या गरेका थिए भने यस वर्ष पाँच बालकसहित ५९ पुरुषले आत्महत्या गरेका छन् ।

पारिवारिक विवाद, घरेलु हिंसा, प्रेममा धोका, पढाइमा असफलता जस्ता कारणहरुले आत्महत्या गर्ने गरेको पाइएको एसएसपी सिंहले बताए ।

सुदूरपश्चिममा गत आर्थिक वर्षमा ४७५ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षको हालसम्म ४१६ जनाले आत्महत्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment