Comments Add Comment

प्रदेश १ को बजेट अधिवेशन १४ जेठदेखि, दुईवटा हलमा बैठक कक्ष

१२ जेठ, विराटनगर । जेठ १४ गतेबाट सुरु हुने प्रदेश १ को बजेट अधिवेशन सञ्चालनको तयारी पूरा भएको छ । बैठकका लागि प्रदेश सभाहल भित्र व्यक्तिगत दुरी कायम गरी सांसदका लागि कुर्सी राखिएको छ ।

प्रदेश नं १ सरकारको मन्त्रिपरिषदको बैठकले जेठ १४ गते दिउँसो २ बजेदेखि बैठक बोलाउने निर्णय गरेको थियो । कोरोना संक्रमणको त्रास फैलिएपछि प्रदेशको हिउँदे अधिवेशन ६ चैत २०७६ मा स्थगित भएको थियो ।

एक नम्बर प्रदेश सभामा सत्तारुढ दल नेकपा ६७ मुख्य प्रतिपक्षी कांग्रेसका २१ सदस्य छन् । प्रतिपक्षी समाजवादी पार्टीका ३ राप्रपा र लोकतान्त्रिक मञ्चबाट १–१ जना सदस्य छन् ।

पुरानो हलमा ६० जना, बाँकीले मनिटरबाट हेर्ने

प्रदेशसभा सचिवालयले बैठक सञ्चालनका लागि दुईवटा हललाई प्रयोगमा ल्याउन लागेको छ । एउटा हलमा ६० जना मात्र अटाउने भएका कारण बाँकीलाई सांसदलाई राख्न संसद सचिवालयकै अर्काे बैठक कक्ष प्रयोग गरिने प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार दुबै बैठक कक्षमा मनिटरबाट स्क्रिन सेयरिङ गरिनेछ ।

‘सांसदका लागि बैठक कक्षको स्क्रिन सेयरङिको व्यवस्था मिलाएका छौं’ उनले भने ‘सामाजिक दुरी कायम गर्न प्रविधिको प्रयोग गरिएको छ ।’

सांसदको पुरानो हलमा बस्ने सदस्यहरुले रोष्टम प्रयोग गरेर बोल्न पाउनेछन् । नयाँ हलमा बस्नेले भने माइकको सहायताले बोल्नुपर्ने छ ।

प्रदेश नं १ सभाका संसदिय दल र कार्यव्यवस्था समितिको सहमतिपछि सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न लागिएको हो । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको पराजुलीले बताए ।

बजेट अधिवेशन अवधिभर प्रदेश सभामा हातधुनुपर्ने, सेनिटाइजर, मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

बैठक सञ्चालनका लागि कोरोना जाँच

प्रदेश सभा सञ्चालनका लागि सांसदहरुको कोरोना जाँच गरिएको छ । मुख्यमन्त्री शेरधन राईसहित जाँच गर्ने सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार कोरोना संक्रमणको जोखिम भएका कारण बैठकमा अतिथिलाई प्रवेश नदिने भएको छ । सधै बैठक कक्ष भित्र बस्ने पत्रकारलाई पनि छुट्टै राखिने भएको छ ।

हल साँघुरो भएका कारण पत्रकारलाई बाहिर बनाइएको मिडिया सेन्टरको ब्यावस्था गरिएको छ । बजेट अधिवेशन अवधिभर अतिथिलाई प्रवेश नदिइने छ ।

सातौं अधिवेशन नयाँ भवनमा

कोरोना महामारी त्रासका कारण छैटो अधिवेशन गर्दा दुईवटा हल प्रयोग गर्नुपरेपछि प्रदेशसभाको सातौं अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने तयारी सुरु भएको छ ।

प्रदेशसभाका सचिव पराजुलीका अनुसार सातौं अधिवेशनका लागि छुट्टै प्रीफ्याक्ट भवन बनाइनेछ । प्रिफ्याब भवनका लागि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले तयारी सुरु गरेको पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment