Comments Add Comment

जेठको गर्मीमा कोरोनाको ग्राफ : १२ दिनमा चारजनाको मुत्यु, ४३७ संक्रमित

१२ जेठ, काठमाडौं । जेठ महिना लागेसँगै काठमाडौंमा समेत गर्मी बढेको छ । तराईका ‘बोसो पगाल्ने’ गर्मी छ । तर, गर्मीसँगै भाइरस संक्रमणको ग्राफ पनि ह्वात्तै बढेको छ ।

जेठ महिनाको १२ दिनमै ४३७ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६८२ पुगेको छ । यही अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

नेपालमा माघ ९ गते कोरोनाको पहिलो संक्रमण देखिएको थियो । त्यसयता संक्रमण निकै ढिलो गरी फैलियो । सरकारले चैत ११ देखि कोरोना फैलिन नदिन भन्दै लकडाउन घोषणा गर्‍यो । तर, लकडाउनकै अवधिमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । जेठ १२ गते सोमबार साँझसम्मको तथ्यांक हेर्दा कुल संक्रमितको संख्या ६८२ पुगेको छ ।

माघ ९ देखि जेठ १ गतेसम्म आइपुग्दा संक्रमतिको संख्या २४५ मात्र थियो । जेठ २ गते एकसाथ ९ जना थपिए । यसरी थपिने क्रम दैनिक बढ्दै जान थाल्यो । जेठ ४ गते संक्रमितको संख्या २९१ पुग्यो भने जेठ ५ गते एकैचोटि ३५७ पुग्यो ।

१२ दिन उताको तथ्यांक विश्लेषण गर्दा जेठ ५ गते ३५७ संक्रमित देखापरेको मा ८ गते यो संख्या ४५७ अर्थात सय अंकमा चुलिएको देखिन्छ ।

पुरूषको तुलनामा महिलामा कम संक्रमण देखिएको छ । ६०२ जना पुरूष संक्रमित भएका छन् भने महिलाको संख्या ८०  मात्र छ  ।

जेठ ८ गते कुल संक्रमतिको संख्या ४५७ थियो भने भोलिपल्ट साँझमा बढेर ५१६ पुग्यो । त्यसको चार दिन पछि अर्थात जेठ १२ गते सोमबारसम्म आइपुग्दा यो संख्या बढेर ६८२ पुगेको छ । यो समाचार लेख्दै गर्दा अरु संख्या थपियो भने अचम्म नमाने हुन्छ ।

यसरी माघयताका कुल संक्रमित ६८२ मध्ये ४३७ जना यही जेठ महिनामा थपिएका संक्रमितहरु हुन् ।

कुल ६८२ संक्रमितमध्ये अहिलेसम्म निको हुनेको संख्या ११२ छ । कोरोनाबाट ४३ जिल्लाहरू प्रभावित बनेका छन्  । पुरूषको तुलनामा महिलामा कम संक्रमण देखिएको छ । ६०२ जना पुरूष संक्रमित भएका छन् भने महिलाको संख्या ८०  मात्र छ  ।

हाल ४६ हजार २९ जना क्वारेन्टाइनमा बसेका छन् । माघयता कुल ९१ हजार ६४२ जनाको पीसीआर टेस्ट भएको छ ।

१२ दिनमै चार जनाको मुत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्यातर्फ विचार गर्दा अहिलेसम्म मृत्यु भएका चारैजना यही जेठ महिनाका हुन् । ४३७ संक्रमित भेटिँदा चार जनाको ज्यान जानु भनेको झण्डै एक प्रतिशत मृत्युदर यो १२ दिनमा देखिएको छ ।

जेठ ३ मा सिन्धुपाल्चोककी सुत्केरीको पहिलो मृत्यु भएको थियो भने ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा निधन भएका ७० वर्षका पुरुषको पनि कोरोनाका कारण निधन भएको ८ दिनपछि पुष्टि भएको छ ।

त्यसैगरी बाँकेको क्वारेन्टाइनमा र रुपन्देहीको क्रिमसन अस्पतालका दुई पुरुषको यही साता मृत्यु भएको छ ।

तथ्यांकलाई हेर्दा अब कोरोना संक्रमणको दर बढ्ने र यसले अझै केही समय नेपालीहरुलाई दुःख दिने सम्भावना देखिन्छन् । यो सम्भावनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वीकार गर्दै थप सतर्क हुनुपर्ने बताएका छन् ।

सोमबार देशबासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्रीले भने, ‘एक महिनाअघि सम्बोधनका क्रममा मैले आउने साताहरु अझ चुनौतिपूर्ण हुने बताएको थिएँ । फागुन ३ देखि चैत २९ गतेसम्म झण्डै २ महिनासम्म संक्रमितको संख्या दोहोरो अङ्कमा ननाघ्नु र मानवीय क्षतिबेगर बन्दाबन्दीको पालना हुनुले विश्व स्वास्थ्य संगठनले हाम्रो मुलुकलाई अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको बताएको थियो । तर, नयाँ बर्षको पहिलो हप्ता बितेसँगै महामारीको संक्रमण फेरि विस्तार हुन थाल्यो । यतिबेला संक्रमितहरुको संख्या ६ सय नाघेको छ ।’

र, प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘आसन्न जोखिमले हामीलाई थप सजग हुन, अझ उच्च योजनाका साथ संक्रमणलाई नियन्त्रण गर्न र राज्यका सबै अंगहरुलाई महसुस हुने गरी अझ चुस्त र प्रभावकारी बनाउन माग गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment