Comments Add Comment

प्रकाशमानले भने– नेपाली भूमि रक्षा गर्न राष्ट्रिय एकता बलियो बनाऔं

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना भाइरस संक्रमणको जोखिममा सुरक्षित भएर पेशागत धर्म निर्वाह गर्न र सरकारलाई निरन्तर खबरदारी गरिरहन प्रेस युनियनलाई आग्रह गरेका छन् । नेपाली भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रिय एकतालाई बलियो बनाउन पनि उनले अपिल गरेका छन् ।

नेपाल प्रेस युनियन २९ औं वर्ष प्रवेश गरेको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै नेता सिंहले सो अपिल गरेका हुन् । सबैखाले जटिलतालाई नेपालीहरुको एकता र सहकार्यमा मात्रै परास्त गर्न सकिन्छ भन्ने कुराको हेक्का राखेर अघि बढ्न पनि उनले अपिल गरेका छन् ।

युनियनमा आबद्ध सम्पूर्ण पत्रकारहरुलाई २९ औं वर्षगाँठको शुभकामना दिँदै नेता सिंहले देशमा लोकतन्त्र स्थापना र जनताका हक अधिकारको पक्षमा युनियनले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका छन् ।

उनको सन्देशमा लेखिएको छ, ‘देशमा लोकतन्त्र र जनताका हकअधिकारसहित जनताको बलिदानबाट प्राप्त परिवर्तनका उपलब्धीमाथि अहिले पनि विभिन्न कोणबाट प्रहार शुरू भएको छ । यो अवस्थामा नेपाल प्रेस युनियनको भूमिका थप बढेको छ । इतिहासमा जस्तै आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने सक्षम प्रेस युनियन अहिले आवश्यकता हो भन्ने मलाई लागेको छ ।’

कोरोनाको विपत्तिमा जनअपेक्षा अनुरुपका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले स्वदेश तथा विदेशमा रहेका प्रत्येक नागरिकलाई सरकार अभिभावक हो भन्ने वोध हुने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment