Comments Add Comment

बेहुली लिन जाँदा यो हाल !

१३ जेठ, रुकुम । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीसँग विवाह गर्न चाहन्थे । उनी शनिबार राति १९ जना साथी लिएर दुलही ल्याउन सोती गएका थिए ।

केटी पक्षबाट पटक–पटक मानसिक रूपमा तनाव र शारीरिक रूपमा कुटपिट व्यहोरेका नवराज जब युवतीको घर नजिकै पुगे, युवतीले भन्दा उनकी आमाले चाँडै थाहा पाइन् ।

त्यसपछि उनले ‘जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ’ भन्दै गाउँका मानिसलाई बोलाएपछि दुलही लिन गएका युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए । कुटपिट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ ।

लखेटी–लखेटी भेरी नदीसम्म पुर्‍याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका-१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएकाहरु पानीमा पौडिन नसक्नेहरुको मृत्यु भएको बताउँछन् । भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।
यो पनि पढ्नुहोस चौरजहारी घटना : ३ को शव भेटियो, वडाध्यक्षसहित १२ पक्राउ

घाइते युवा सरोज भँडेल भन्छन्, ‘हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौं । सडक तेर्सो भएकाले मारिने डर भएपछि नदीमा हामफालेका थियौँ । आफूहरुले नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।’

नवराजका बाबुका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । उनले भने ‘यो विवाह ठीक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफैं उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफैं छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।’

घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । मृतक युवकको शव जाजरकोट अस्पतालमा राखिएको छ ।

घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।

घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् ।

रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय गरेर अनुसन्धान पनि जारी रहेको बताए  ।

प्रतिनिधिसभा सदस्य सत्य पहाडीले घटनाको न्यायिक छानविन गर्न माग गरेकी छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल प्रहरीलगायत सम्बन्धित निकायले तदारुकताका साथ घटनाको अनुसन्धान गरिरहेको भन्दै उचित छानबिन गरी दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस चौरजहारी घटनाबारे छानबिन गर्न जनार्दन शर्माको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment