
१२ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा एक युवक हत्या र ६ जना बेपत्ता भएको घटनाबारे छानबिन गर्न नेकपा नेता जनार्दन शर्माले माग गरेका छन् ।
रुकुमका जनप्रतिनिधिसमेत रहेका शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् ।
उनले घटनाबारे स्थलगत अनुगमन गर्न र छानबिनमा सघाउन स्थानीय सरकार, जनप्रतिनिधिलगायत सरोकारवालासमक्ष पनि आग्रह गरेका छन् ।
‘घटनाबारेको अनुसन्धानमा सहयोग पुर्याउन, तथ्य सबैका सामु ल्याउन स्थानीय सरकार, पार्टीलगायत सरोकारवाला सबैलाई स्थलगत निरीक्षण गर्नसमेत अनुरोध गर्दछु,’ शर्माले फेसबुमा लेखेका छन् ।
गत शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकको हत्या भएको थियो । उनी जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका हुन् ।
जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठका अनुसार, उनीसँगै रहेका अन्य ६ युवा पनि अझैसम्म बेपत्ता छन् ।
उच्च जातकी युवतीमाथि प्रेम गरेका कारण घटना भएको समाचारहरू यसबीच प्रकाशमा आएका छन् । तर, अहिलेसम्म यसको ठोस कारण पत्ता लाग्न सकेको छैन ।
प्रतिक्रिया 4