Comments Add Comment

हठयोग : यम, नियम र आसन

राजयोग सर्वोत्तम मानिन्छ । सिद्ध राजयोगी बन्नका लागि हठयोग एक भ¥याङ हो । यद्यपि के पनि भनिन्छ भने यी दुबै अन्योनाश्रित छ । अर्थात जसरी हठयोग बिना राजयोग सिद्ध हुँदैन, त्यसैगरी हठयोगका लागि पनि राजयोगको अभ्यास आवश्यक छ ।

चित्तवृत्तिलाई विचारद्वारा दृढतापूर्वक रोक्नु र आसन, प्राणायाम आदिको मद्दतले त्यसको (चित्त एवं मनको) परमेश्वरमा लयवद्ध गर्नु नै योग हो । शरीरको सन्दर्भमा प्राण र वायुको एकताको नाम नै योग हो ।

हठयोग

हठयोग एक किसिमको योगशाला हो, जसबाट मस्तिष्क र शरीरको सन्तुलन मिलाउन सकिन्छ । यो थुप्रै योगासनको एक पूर्ण शृंखला हो । यसको नियमित अभ्यासले मानसिक शान्ति, स्वस्थ जीवन प्राप्त हुन्छ । यो योगासनले मनलाई शान्त तुल्याएर आत्मको गुप्त शक्ति जागृत गर्दै संकल्पशक्ति बढाउने मद्दत गर्छ ।

हको अर्थ सूर्य एवं ठको अर्थ चन्द्रमा हो । सूर्य र चन्द्र एकसाथ मिलन हुनु हठयोग हो । यी दुबै मानव शरीरको स्तम्भ हुन् ।

सूर्य जीवनीय शक्ति प्राणस्वरुप छ, जसले हाम्रो हृदयको माध्यामबाट क्रियान्वित भएर सास तथा रक्त संचारको कार्य गर्छ । त्यसैगरी चन्द्रमाले शरीरको सबै अशुद्धलाई बाहिर निकालेर सुक्ष्म जीवनीय शक्ति प्रदान गर्छ ।

हठयोग शृंखलामा सूर्य नमस्कार, आसन, ध्यानासन, मुद्रा, बन्ध, प्राणायाम, कुन्डलिनी जागरण योग सामेल छ ।

हठयोगमा प्राणायामको अभ्यास गर्दै जब प्राणवायु सुषुम्नामा प्रवेशगर्छ, तब मनले स्थिरता प्राप्त गर्छ । यसैले प्राणायामको अभ्यास त्यसबेलासम्म गर्नुपर्छ जबसम्म सुषुम्नामा प्राण वायु संचार हुँदैन ।

सुषुम्ना नाडीमा प्राणवायु प्रवेश नगरी मनलाई स्थिर राख्न संभव छैन । र, यदि सुषुम्नामा प्राणवायु प्रवेश गरिसकेपछि पनि कुनै कारणवश प्राणयामको अभ्यास छुटेमा साधक योग साधनाको मार्गबाट पछाडि जानुपर्दैन । जहाँबाट छुटेको छ, त्यही विन्दुबाट अगाडि बढ्न सकिन्छ ।

सामान्यत सुषुम्ना नाडी कफ आदि बन्दनले ढाकिएको हुन्छ । प्राणायामको निरन्तर अभ्यासबाट उक्त मार्ग खुला एवं शुद्ध हुन्छ । र, प्राणवायु, सुषुम्ना नाडीको मुख राम्ररी खुल्छ र त्यसमा सहज प्रवेश गर्छ ।

हठयोगमा कतै अष्टांग योग र कतै षडांग योगको मेल हुन्छ । यम, नियम, आसन, प्राणायाम, पत्याहार, धाराणा, ध्यान र समाधि यो आठ अंग अष्टांग योगको अंग हो । यसमा यसम र नियम छाडेर बाँकी ६ षडांग योगको अंग हो । योगको यी आठ अंगको साधना गरेपछि शुद्ध ज्ञान प्राप्त हुन्छ ।

यम

कुनैपनि जीवको हत्या, हिंसा नगर्नु, सत्य बोल्नु, चोरी नगर्नु, विर्यको रक्षा गर्नु, कुनै प्रकारको धन, द्रव्य अदिको इच्छा नगर्नु यम अन्र्तगत पर्छ ।

सत्य बोल्ने अभ्यासले वाकसिद्धि मिल्छ । अर्थात उनीहरुले जे बोल्छन्, त्यो घटित हुन्छ । कुनै किसिमको चोरी नगर्ने, धन–द्रव्यप्रति इच्छा नगर्ने, अनावश्यक वस्तुप्रति आशक्ति नराख्ने गुणले परम सन्तोष प्राप्त हुन्छ । कठोर ब्रम्हाचार्यको पालना गरेर वीर्यको रक्षा गर्नाले सौन्दर्यवान र प्रचन्ड बलशाली हुन्छ ।

नियम

शौच (पवित्रता), सन्तोष, तप, स्वाध्यान एवं इश्वरको भक्ति नै नियम हो । यसको महात्म्य यस प्रकार छ कि शौचको साधनले सत्वबुद्धि, मनको शुद्धता, एकाग्रता तथा इन्द्रियमाथि विजय प्राप्त हुन्छ ।

सन्तोषले उत्तम सुख मिल्छ । वास्तवमा आशक्ति र वासनाबाट मुक्ती हुँदा स्वतः शाश्वत सुखको प्राप्ती हुन्छ । तपले शरीर सिद्ध हुन्छ र इन्द्रियको सिद्धि (जस्तो दूराश्रवण वा दूरदृष्टि मिल्नु) मिल्छ । अर्थात शरीरमा जुन रोगको भय हुन्छ, त्यो नष्ट हुन्छ ।

स्वाध्यानबाट इष्ट देवताको दर्शन हुन्छ । यी सबैसँग ईश्वरको भक्ति गर्नाले समाधिको लाभ तथा त्यसको परमधामको प्राप्ति हुन्छ ।

आसन

आसन सिद्ध भएपछि साधकलाई गर्मी, जाडो, दुःख, सुख आदिको प्रभाव रहँदैन । मनलाई आफ्नो चेतनाले वशीभूत गर्न सक्छन् । भनिन्छ, जो आसनमा सिद्ध हुन्छन् उनीहरुले तीन लोकलाई जित्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment