Comments Add Comment

इन्धनको मूल्य महंगो भयो, घटाउनुपर्छ : वायुसेवा सञ्चालक

१४ जेठ, काठमाडौं । वायुसेवा सञ्चालकहरुले नेपालमा हवाई इन्धनको मूल्य अत्यन्तै महंगो भएको र यसले कम्पनीलाई व्ययभार बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारले पछिल्लो पटक तोकेको राष्ट्रिय-अन्तर्राष्ट्रिय उडान माथिको प्रतिवन्ध क्रमशः खुकुलो पार्ने संकेत गरेको छ । त्यसक्रममा नियमित व्यवसायिक उडान सुरु हुनु अगाडि व्यवसायी हवाई इन्धनको भाउ लटाउने लबिङमा लागेका हुन् ।

वायुसेवा संचालक संघले हवाई उद्योग सञ्चालनमा कुल खर्चको ३५-४० प्रतिशत हवाई इन्धनको हिस्सा हुने भन्दै मूल्य घटाएर राहत दिन माग गरेको हो । कोरोना भाइरसको महामारीका कारण संसारभर असर परेको भन्दै यसले नेपालमा समेत नकारात्मक प्रभाव पारेको संघका प्रवक्ता योगराज कंडेलले बताएका छन् ।

उडान खुलेपनि केही समय विदेशी पर्यटक नआउँदा डलर फेयर नपाउने भएकाले वायुसेवा कम्पनीले साविकको जस्तै गरी कमाउन सक्ने छैनन् । जसले गर्दा उनीहरुको आम्दानीमा समेत चाप पर्नेछ । यस अवस्थामा हवाई इन्धनको मूल्य घटाएर सहुलियत दिन व्यवसायीले माग गरेका हुन् ।

भारतले हवाई इन्धनको मूल्य प्रतिलिटर २० भारतीय रुपैयाँमा झारेको छ । चीनले समेत ५० प्रतिशत अनुदान दिएको सन्दर्भमा समेत नेपालमा इन्धनको भाउ घट्नुपर्ने व्यवसायीको तर्क छ ।

नेपालमा आन्तरिक उडानतर्फ हवाई इन्धने अहिले प्रतिलिटर ७५ रुपैयाँमा बिक्रि भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निकै घटेपनि नेपालमा त्यसको अनुपातमा नघटाइएको प्रति समेत संघले असन्तुष्टि व्यक्त गरेको छ ।

नेपालमा प्रतिलिटर १० रुपैयाँ भन्दा कम मुनाफा राखी मूल्य समायोजन गर्न संघले माग गरेको छ । यसले यात्रुले सहुलियत पाउने तथा व्यवसायीले समेत राहत पाउने संघले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment