News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सम्पूर्ण उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य गरेको छ।
- आयातकर्ता र उत्पादकले भन्सार बिन्दुमै एमआरपी सहित लेबल राख्नुपर्ने व्यवस्था लागू गरिएको छ।
- स्थानीय तह र प्रशासनलाई बजार अनुगमन गरी एमआरपी उल्लंघनमा कडा कारबाही गर्न अधिकार दिइएको छ।
२७ चैत, काठमाडौं । बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न सरकारले सम्पूर्ण उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै आयातकर्ता, उत्पादक र विक्रेताका लागि छुट्टाछुट्टै दायित्व तोकेको हो ।
विभागले तोकिएको एमआरपीभन्दा बढी मूल्य लिए वा लेबल नभएका सामान खरिद–बिक्री गरे कडा कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
आयातकर्ता र उत्पादकलाई कडाइ
अब विदेशबाट आयात गरिने वस्तुमा भन्सार बिन्दुमै आयातकर्ताको विवरण र एमआरपी सहित लेबल लगाउनुपर्ने छ । यो व्यवस्था कार्यान्वयनका लागि भन्सार विभागलाई नियमन गर्न अनुरोध गरिएको छ ।
त्यसैगरी स्वदेशी उद्योगहरूले पनि वस्तु उत्पादनकै क्रममा प्याकेजिङमा मूल्य, ब्याच नम्बर, तौल र म्याद सकिने मिति (एक्सपायरी डेट) स्पष्ट देखिने गरी स्थायी लेबल राख्नुपर्ने छ । यसको सहजीकरण र नियमनका लागि उद्योग विभागलाई आग्रह गरिएको छ ।
विक्रेतालाई निर्देशन र उपभोक्तालाई अपिल
विभागले थोक तथा खुद्रा विक्रेतालाई स्पष्ट लेबल र एमआरपी उल्लेख नभएका कुनै पनि सामान खरिद तथा बिक्री नगर्न कडा निर्देशन दिएको छ ।
विक्रेताले कुनै पनि बहानामा लेबलमा उल्लेखित मूल्य (एमआरपी) भन्दा बढी रकममा सामान बेच्न पाउने छैनन् ।
साथै, विभागले आम उपभोक्तालाई पनि सचेत गराएको छ । कुनै पनि वस्तु खरिद गर्नुअघि अनिवार्य एमआरपी र उपभोग गरिसक्नुपर्ने म्याद लगायत विवरण हेरेरमात्र खरिद गर्ने बानी बसाल्न विभागले विशेष अपिल गरेको छ ।
स्थानीय तह र प्रशासनलाई अनुगमनको जिम्मा
बजार अनुगमन देशभरि प्रभावकारी बनाउन उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३२ बमोजिम सबै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरिएको छ ।
अब स्थानीय तह र प्रशासनले आ–आफ्ना क्षेत्रमा निरीक्षण अधिकृत तोकी स्पष्ट लेबल र एमआरपी लक्षित गरी बजार अनुगमन गर्नुपर्ने छ ।
विभागले हाल बजार अनुगमन टोली खटाएर एमआरपी कार्यान्वयन अवस्थाबारे अनुगमन तीव्र पारेको जनाएको छ ।
सबै व्यवसायीलाई एमआरपी व्यवस्था अनिवार्य कार्यान्वयन गर्न विभागले आग्रह गरेको छ ।
‘अनुगमन क्रममा एमआरपी सहित लेबल नभएको वा बढी मूल्य लिएको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ,’ सूचनामा छ ।
प्रतिक्रिया 4