News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थल आसपासका पाँच व्यावसायिक फर्मलाई उपभोक्ता ठगीका कारण कुल १४ लाख ५ हजार रुपैयाँ जरिबाना गराएको छ।
- चारवटा फर्मलाई जनही ३ लाख रुपैयाँ र एक होटललाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।
- अनुगमनमा एमआरपी नदेखाउने, दोहोरो मूल्य टाँस्ने र म्याद सकिएका सामान बिक्री गर्ने फर्महरू फेला परेका थिए।
११ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित होटल तथा व्यावसायिक फर्महरूमाथि आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना गराएको छ ।
विभागले बिहीबार गरेको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता हित विपरीतका गम्भीर गतिविधि फेला परेपछि पाँचवटा व्यावसायिक फर्मलाई कुल १४ लाख ५ हजार रुपैयाँ नगद जरिबाना गराएको छ । त्यस्तै एक प्रतिष्ठित होटललाई स्पष्टीकरणका लागि कार्यालयमा बोलाएको छ ।
अनुगमनका क्रममा ती फर्महरूले उपभोक्तालाई प्रत्यक्ष ठगी गर्ने उद्देश्यले विभिन्न अवैध क्रियाकलाप गरेको विभागको भनाइ छ । विभागका अनुसार अनुगमन गरिएका फर्महरूमा सामानको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरेको, साविकको मूल्य छोपेर नयाँ स्टिकर टाँसेर महँगोमा बिक्री गरेको र एउटै सामानमा दोहोरो मूल्यका स्टिकर टाँसेको पाइएको थियो ।
यस्तै कतिपय फर्महरूले तोकिएको एमआरपीभन्दा बढी मूल्य असुल गरिरहेको र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने म्याद सकिएका, फुड कलर समेत प्रयोग तथा बिक्रीका लागि राखेको अवस्थामा फेला परेका छन् ।
सबैभन्दा बढी जरिबाना पर्नेमा चारवटा फर्म रहेका छन् । विभागले एयरपोर्ट क्षेत्रमा रहेका सान इन्टरप्राइजेज, ओरियन्टल होटल्स, टी थ्री थकाली ग्रुप र साई किरण इन्टरप्राइजेजलाई जनही ३ लाख रुपैयाँका दरले नगद जरिबाना तिराएको छ ।
यी फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) बमोजिमको कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम तत्काल जरिबाना गरिएको विभागको भनाइ छ।
यसैगरी, सोही क्षेत्रमा सञ्चालित होटल सोनिगः प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । यस होटलले पनि उपभोक्ता संरक्षण ऐन विपरीतका कार्य गरेको अनुगमन टोलीले फेला पारेको थियो । अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले सोल्टी होटल लिमिटेडलाई आफ्नो व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात सहित २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रतिक्रिया 4