Comments Add Comment

गणतन्त्र ल्याउन लडेका सबै शक्ति एक हुनु राष्ट्रिय आवश्यकता हो : प्रचण्ड

१५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो ।’

उनले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै वेपत्ता र घाइतेहरुको त्याग र समर्पणप्रति सम्मान प्रकट गरेका छन् ।

देउवाको पनि शुभकामना

यसैबीच नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देशमार्फत उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिएका छन् ।

साथै उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको र संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएको र केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्ने अवगत गराउँदै काँग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्नसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment