+
+
Shares

लोकतान्त्रिक गणतन्त्र नभए जनताले सुख पाउँदैनन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते ७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको संरक्षण अपरिहार्य रहेको बताए ।
  • लोकतन्त्रका संस्थाहरू कमजोर भएमा समाज बलियो नहुने र यसबाट अधिनायकवाद हुर्किने जोखिम रहने चिन्ता ओलीले व्यक्त गरे ।
  • प्रणालीप्रति असन्तुष्टि भए पनि त्यसलाई वैधानिक रूपमा सम्बोधन गर्न गणतान्त्रिक प्रणाली नै आवश्यक पर्ने ओलीले उल्लेख गरे ।

१५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता संस्थाहरूको संरक्षण अपरिहार्य रहेको बताएका छन् । लोकतान्त्रिक गणतन्त्र नभए जनताले  सुख पनि नपाउने उनको भनाइ छ ।

‘लोकतान्त्रिक गणतन्त्र नभए केके गुमाउनु पर्छ भन्ने कुरा गणतन्त्र नरहेका बेला मात्रै समाजले महसुस गर्न पाउँछ, जुन हाम्रो अघिल्लो पुस्ताले भोगेको थियो,’ ओलीले गणतन्त्र दिवसको अवसरमा फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रका यी संस्थाहरू कमजोर भए भने कुनै पनि समाज बलियो रहँदैन, जनताले सुख पनि पाउँदैनन् ।’

लोकतन्त्रका संस्थाहरू कमजोर भए कुनै पनि समाज बलियो बन्न नसक्ने र जनताले सुखसमेत नपाउने उनको भनाइ छ । त्यसैले लोकतान्त्रिक गणतन्त्रका अंगहरूको रक्षा गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा उनले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा शान्त मनले चिन्तन गर्न उनले सबैलाई आह्वान पनि गरेका छन् ।

‘लोकतान्त्रिक गणतन्त्रका यी अङ्गहरूको रक्षा गर्नु भनेको हामी सबैको भविष्यको रक्षा गर्नु हो,’ ओलीले लेखेका छन्, ‘गणतन्त्र दिवसको यस पवित्र दिनमा उद्वेलित नभइकन, शान्त मनले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर संघर्ष सम्झन र लोकतन्त्र कमजोर भयो भने भविष्य कस्तो होला भनेर चिन्तन गर्न म सबैमा आह्वान गर्दछु ।’

जनताको निराशाबाट लाभ लिन संस्थामाथि अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिबाट लोकतान्त्रिक अधिकार कमजोर बन्ने तथा अधिनायक तन्त्र हुर्किने जोखिम रहने उनले उल्लेख गरेका छन् । त्यसैले उनले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकार क्षेत्रको अनतिक्रम्यता र रक्षा नै, यसबेला समग्रमा गणतन्त्रको रक्षा हुने जनाएका छन् ।

देशमा धेरै राजनीतिक परिवर्तन भए पनि परिवर्तनको गति हामीले चाहेजति तीव्र हुन नसकेको भन्दै उनले त्यस्तो गति सामाजिक चेतनामा भर पर्ने जनाएका छन् । गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै ओलीले लेखेका छन्, ‘चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?