+
+
Shares
टिप्पणी :

वाम दु:खान्तका ‘महानायक’

ओली सत्तालिप्सामा यति डुबे कि शासकीय महत्त्वाकाङ्क्षी लिस्नुको उचाइ कति हुन्छ भन्ने भेउ नै पाउन सकेनन् !

सुरेश प्राञ्जली सुरेश प्राञ्जली
२०८३ जेठ १४ गते ९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली २०८२ सालको विद्यार्थी हताहतीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका छन् ।
  • ओलीले आफ्नो कार्यकालमा सनकका भरमा संसद् विघटन गरेपछि नेपालको राजनीतिमा असंवैधानिकता र चरम दलीयकरण मौलाएको थियो ।
  • गलत राजनीतिक निर्णयहरूका कारण एमाले अध्यक्ष ओली यतिखेर आफ्नै दलभित्र घेराबन्दीमा परेका छन् भने सहयोगीहरूले उनको साथ छाडेका छन् ।

प्राचीन युनानी दार्शनिक एरिस्टोटलले ग्रीक साहित्यिक/नाट्य सिद्धान्त सम्बन्धी आफ्नो ग्रन्थ ‘पोएटिक्स’ मा प्रयोग गरेको ‘ह्यामर्सिया’ शब्द यतिखेर नेपालका चर्चित राजनीतिक पात्र एमाले अध्यक्ष खड्गप्रसाद ओलीको प्रवृत्तिगत विचलन र चारित्रिक ‘स्वयं–संहार’ को गाथा केलाउन उपयोगी हुन्छ। विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरको चर्चित दु:खान्त ‘ह्यामलेट’ को मुख्य पात्रको नाम पनि ह्यामलेट नै हो। उसको ‘ह्यामर्सिया’ (स्वयं–संहार) शास्त्रीय दु:खान्तमध्ये चर्चित मानिन्छ। नायक स्वयंको परिस्थितिगत गल्ती र त्यसैले क्रमशः डोर्‍याउने नियतिजन्य दु:खद् अन्त्यतर्फको अवस्थालाई ‘ह्यामर्सिया’ को बृहत्तर रूपमा बुझ्न सकिन्छ।

केपी ओली र ह्यामलेट बीच समान प्रवृत्तिगत मनोदशा देखिन्छ। त्यसैले पनि पात्र ‘ह्यामलेट’ र ओलीको परिस्थितिगत कमजोरीको लेखाजोखा चाखलाग्दो हुन सक्छ। यस मानेमा कि ‘ह्यामलेट’ जे–जस्तो दिमागी विचलनबाट गुज्रिएको नाट्यपात्र हो, केपी ओली पनि लगभग त्यही हाराहारीमा राजनीतिक रूपले विचलित पात्र हुन्। फरक यत्ति हो कि केपी ओली यथार्थ पात्र हुन्, ह्यामलेटचाहिं नाट्यपात्र !

पात्र ह्यामलेटले परिस्थितिको रणनीतिक आकलनमा विवेक प्रयोग गर्नुपर्ने आवश्यकता ठान्दैन। तत्काल लिइहाल्नुपर्ने निर्णय पनि टार्दै जान्छ। अर्थात्, कथानकको माग अनुसार ह्यामलेटले आफ्नो पिताको हत्यारा (आफ्नो काका ‘क्लाउडियस’) को सफाइ गरिहाल्नुपर्ने थियो, तर ऊ विलम्ब गर्दै जान्छ। उसको दूरदर्शिता क्रमशः शून्यतर्फ धकेलिन्छ र ओलीकै जस्तो ह्यामलेटको तीक्ष्ण चेतनामा पनि ‘स्ट्राटेजिक नलनेस’ (रणनीति–शून्यता) हावी हुन्छ। अन्ततः यही परिस्थितिगत निर्णय खराबी (एरर अफ जजमेन्ट) ले नै उसलाई आफ्नै दु:खान्ततिर डोर्‍याउँछ। ठीक यसैगरी आफ्ना शृङ्खलाबद्ध निर्णय खराबीका कारण केपी ओलीको पनि शासकीय चमकधमकीय अवनतिको वक्ररेखा कोरिएको प्रतीत हुन्छ !

खासमा, ओली आफूलाई राजनीतिका सर्वकालिक महानायक ठान्छन्। यस आलेखमा उनै ‘महानायक’ को अलिकति चारित्रिक ‘खुबी’ र त्यसैको स्खलनको वासलातमाथि मन्थन गर्दै ओलीको चमकधमकयुक्त शासकीय स्टारडम खस्किनुका कारण र तिनका नियतिजन्य वस्तुस्थितिमाथि थोरबहुत गौर पनि गरिनेछ।

हुनत, ओली एक हुन् ! अनेक पनि उनै हुन् ! नेपाली राजनीतिका सृष्टिकर्ता, संहारकर्ता र पालनकर्ता ! उनी दाता, विधाता जम्मै हुन् ! उनीसित अद्भुत शक्ति छ ! वेद, पुराण, उपनिषद्, पूर्वीय दर्शन, पश्चिमा दर्शन जम्मै उनै हुन् ! यस लोकमा अन्तिम सत्य भन्ने केही छ भने त्यो पनि उनै ओली हुन् ! सिर्फ ओली ! ओली सर्वव्यापी छन् !

त्रिलोक, १४ भुवनका हर्ताकर्ता उनै हुन्, ओली ! यीबाहेक ओली एक जना ‘अब्बल अभिनेता’ हुन् ! सँगै, निर्देशक पनि हुन्। उनले अभिनय र निर्देशन गरेको उनको चर्चित सिनेमाको नाम हो- ओलीतन्त्र ! उनका आसेपासे त उक्त ‘सिनेमा’ ओलीको शासनकालभरि ब्लकबस्टर भएको भ्रममा बसिरहे।

२०८२ को फागुन २२ को बिहान ओलीका आँखा खुल्दा नेपाली राजनीतिक बजारमा ओलीतन्त्र नामक उनको सिनेमा फ्लप भइसकेको थियो !

स्वयं ओलीका निम्ति त ओलीतन्त्र बलिउडको यस्तो एउटा कालजयी र अब्बल सिनेमा हो, जुन पहिलो पटक रिलिज भएको दशकौंपछि पनि दर्शकको उच्च मागका आधारमा हलमा पुनः रिलिज हुन्छ। अथवा, त्यस्तो सिनेमा, जुन रिमेक हुँदा पनि उस्तै सुपर–डुपर हिट हुन्छ ! मानौं, ओलीतन्त्र शाहरुख–काजोल अभिनित सर्वकालिक ‘दिलवाले दुल्हनिया ले जायेंगे’ (डिडिएलजे) नै हो !

तर, २०८२ को फागुन २२ को बिहान ओलीका आँखा खुल्दा नेपाली राजनीतिक बजारमा ओलीतन्त्र नामक उनको सिनेमा फ्लप भइसकेको थियो ! सँगै, अर्को टर्रो विडम्बना त के भने स्टारडम जोगाउन नसकेका अभिनेता/निर्देशकबाट उनी एकाएक दर्शक बन्ने नियति भोग्न अभिशप्त बने। त्यो पनि एक्लो दर्शक ! जतिखेर उनीसित सँगै बसेर नेपाली शासकीय राजनीतिको धमाकेदार एक्सन फिल्म हेरिदिने सत्ता राजनीतिका मनखाने सहयात्री पनि भइदिएनन् !

पछिल्लो पटक भ्रष्टाचारको विरोध र सुशासनको माग राख्दै सडकमा ओर्लिएका दर्जनौं कलिला विद्यार्थीको हताहतीको सम्बन्धमा जाँचबुझ गर्न बनेको आयोगको सुझाव प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली पक्राउ परे। यस्तो लाग्छ, पक्राउ पर्दा उनी थोरबहुत खुशी पक्कै पनि भए !

किनभने, जनताले ब्यालेट विद्रोह गरेर थचारिसकेको भए तापनि ओलीलाई लागेको थियो कि उनका अरिङ्गाल (कार्यकर्ता) ले आन्दोलनको नयाँ प्रलय सिर्जना गर्नेछन् र झन्डै दुईतिहाइ जनसमर्थन सहितको मजबुत सरकार तासको पत्ता जसरी गर्ल्यामगुर्लुम ढल्नेछ ! पुनः आफू प्रधानमन्त्री बन्नेछु ! त्यसपछि पितृपिण्ड पनि राज्यकोषबाटै खानेछु !

(यो तथ्य कसरी पुष्टि हुन्छ भने, उनी अस्पतालले–हिरासतमा आराम गरिरहेको बेला उनलाई भेट्न जानेसित अस्पतालकै शय्याबाट ‘म पक्राउ पर्दा आन्दोलन किन उठेन ?’ भनेर उनी कुर्लिएको तथ्य उनकै दलका नेता/कार्यकर्ताले सार्वजनिक गरे।)

ओलीको सत्ता राजनीतिको पहिलो इनिङ ठिकठाक नै मान्नुपर्छ। २०७२ को संविधान जारी हुँदै गर्दा दिल्ली संस्थापनले नेपालको शासकीय राजनीतिमा आफूले गर्दै आएको सूक्ष्म व्यवस्थापनलाई संस्थागत गर्ने अनुकूलताका निम्ति दबाब दिन नाकाबन्दी लाद्यो। त्यही कदम विरुद्ध ओलीले देखाएको अडानको जगमा ओलीतन्त्रको उदय भयो। उक्त तन्त्रउपर सुरुआती चरणमा केही उत्साह पनि देखिन्थ्यो।

बालेन्द्र शाह

त्यतिखेरका कतिपय युवा उमेरकाले उनलाई ‘केपी बा, आई लभ यु’ समेत भन्न भ्याएका थिए ! उनलाई नेपालको शासकीय राजनीतिको नायक बन्ने पर्याप्त अवसर पनि थियो। तर उनमा खलनायकी गुण बढ्ता सवार भइदियो। अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह हाराहारीकै एक दबङ्ग शासकीय पात्रका रूपमा उदाउने अवसरबाट च्युत भएर आफ्नो निधारमा भगौडाको लाहाछाप लगाउन सहर्ष राजी भए।

त्यसो त, कुनै बेला क्रिकेटर सन्दीप लामिछानेसँगको प्रसङ्ग जोड्दै क्रिकेट बललाई डल्लो नामकरण गरेर भाइरल बनेका क्रिकेट पारखी ओली आफूले पनि शासकीय राजनीतिक क्रिजमा टिकेर सेन्चुरी नै हान्न सक्थे। तर, पेभेलियनको बाटो रोजे।

२०७२ मा ओलीले रचेको भारतविरोधी राष्ट्रवादी स्क्रिप्ट मन पराएका जनताले २०७४ को आमचुनाव मार्फत पूर्ण सिनेमा नै बनाऊन् भनेर सत्ताको साँचो उनैको हातमा थमाइदिए। नेपालको राजनीतिक इतिहासमा नौ महिनाभन्दा बढ्ता नटिकेको कम्युनिस्टको सत्ता इतिहासको स्वर्णिम पानामा आफ्नो नाम लेखाउन कामयाब भएपछि उनी शासकीय दम्भले एकाएक फुल्न थाले !

आफूले टेकेको भुइँ बिर्सिए। प्रामाणिक ज्ञानको मूल स्रोत र अन्तिम सत्य आफैंलाई मान्ने उनको प्रवृत्तिलाई जनमतले वैधानिकीकरण गरिदिएको भ्रमले उनलाई गाँज्यो ! फलतः उनमा पाँचौं रोमन शासक ‘निरो क्लाउडियस’ वाला अहङ्कार हावी भयो।

त्यसो त, उनको शासकीय अवनतिको वैरीमध्ये एक आफ्नै अनियन्त्रित जिब्रोमाथि लगाम लगाउन नसक्नु पनि हो। उनले तत्कालीन कम्युनिस्ट लोकप्रियतालाई मुलुकको हित अभिवृद्धिका निम्ति उपयोग गर्न सक्थे ! तर, कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा सत्तासीन ओली–सरकार कतैबाट पनि कम्युनिस्ट जस्तो देखिएन। बरु त्यो त मुलुकको शासकीय रिटार्डेसनको कारक बनिदियो। उनी र उनका सत्ता साझेदार दल भ्रष्टाचार, कुशासन अनि राज्यकै दलीयकरणमा मुग्ध भए, जसको प्रमाण वर्तमान सरकारले खारेज गरेका हजारभन्दा अधिक राजनीतिक नियुक्ति पनि हुन् !

ओली र उनका सत्ता साझेदार दलको मिलीभगतमा राज्यकोषमा ‘फुपूको श्राद्ध’ अर्थात् मुलुकी सम्पत्तिको बेलगाम दोहन गरियो ! ओलीतन्त्रमा उनले सत्ता–संयन्त्रकै मूल्य अपचलन गरी राष्ट्रवादको खुद्रा किराना पसल खोले र म्याद गुज्रिएको राष्ट्रवादी ललिपप बेच्ने धृष्टता पनि गरे ! मुलुकलाई राजनीतिक सिन्डिकेटको अखडा बनाएनन् मात्रै, न्याय सम्पादन गर्ने राज्य निकाय अनि प्रशासन र सुरक्षा संयन्त्रको चरम दलीयकरण गर्न नेतृत्व गरे।

ओलीले आफ्नो दलमा मुखरित हुन थालेको विद्वत्/क्रिटिकल मासलाई सबैभन्दा पहिला ठेगान लगाए। यसो भनौं, दलबाटै गलहत्याएरै निकाले। शायद उनको त्यही कदम नै हो, जहाँबाट एमालेको दलीय विरासत ह्रासोन्मुख भएको हो। उनी सत्तालिप्सामा यति डुबे कि शासकीय महत्त्वाकाङ्क्षी लिस्नुको उचाइ कति हुन्छ भन्ने भेउ नै पाउन सकेनन् ! उनले चालेका हरेक राजनीतिक कदम नै स्थापित लोकतान्त्रिक विधिको खिलाफमा थिए। ती सबै गलत आशय र कानूनको आफूअनुकूल व्याख्या अनि बलमिच्याइँबाट नि:सृत थिए।

त्यसो त, ओलीले जनमत मार्फत पाएको तत्कालीन ऐतिहासिक जिम्मेवारी र अवसर उनी स्वयंकै कारण तुहिंदै गर्दा उनले आफूसित भएको राष्ट्रवादको अन्तिम तुरुप पनि फालेका थिए। त्यो थियो- नेपालको अतिक्रमित भूभाग सहितको चुच्चे नक्शा ! जुन कदम राष्ट्रियताले निर्देशित थिएन, बरु त्यो त एउटा ‘राजनीतिक कार्ड’ भएको तथ्य उनका राष्ट्रहित विपरीतका शृङ्खलाबद्ध हर्कतले स्पष्ट्याउँछन्। उनी आफ्नो सत्ता जोगाउन जुनसुकै स्तरमा ओर्लिन सक्थे !

त्यसैका निम्ति हुन सक्छ, उनले रातारात तत्कालीन भारतीय खुफिया एजेन्सी प्रमुखसँग सरकारी निवास बालुवाटारमै भेटेको समाचार छापामा आएका थिए। भारतीय निसान चिह्नमा लेखिएको ‘सत्यमेव जयते’ माथि पनि उनले सस्तो टिप्पणी गरे। उनी पूर्वीय दर्शन, इतिहास र सभ्यताको पण्डित्याइँ गर्दै भगवान रामको जन्मथलो अयोध्या पनि नेपालकै ठोरीमा रहेको पुनर्व्याख्या गरिदिए। मुलुकको प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्नै नहुने अशोभनीय र कूटनीतिक रूपले उद्दण्ड हर्कत गरेकै कारण उनको कार्यकालमा नेपाल–भारत सम्बन्ध इतिहासकै खराब अवस्थामा पुग्यो।

आफ्नो प्रधानमन्त्रीय कार्यकालको दोस्रो इनिङसम्म आइपुग्दा त उनको पावरप्ले नै अति सङ्घर्षपूर्ण बन्यो ! शासकीय डेलिभरीको कुनै पनि रन स्कोरबोर्डमा जोड्न सकेनन् !

आफ्नो प्रधानमन्त्रीय कार्यकालको दोस्रो इनिङसम्म आइपुग्दा त उनको पावरप्ले नै अति सङ्घर्षपूर्ण बन्यो ! शासकीय डेलिभरीको कुनै पनि रन स्कोरबोर्डमा जोड्न सकेनन् ! यसैबीच, उनी राज्य संस्था दलीयकरणको अपजसी दबाब थेग्न नसकेर आत्मबल गुमाउँदै गए। दलीय किचलो व्यवस्थापनमा समेत चुकेपछि उनले आफ्नो नाकामयाबीको शोधभर्नाको हिसाबकिताब खोज्न सनकको भरमा निर्वाचित संसद् नै विघटन गरिदिए।

नेपाली राजनीतिले असंवैधानिकताको उच्चतम हदको अभ्यास यदि गरेको छ भने उनकै कार्यकालमा गरेको छ। नेपालको शासकीय राजनीतिलाई उनले आफू सत्तासीन होउञ्जेल खुद्रा सिद्रा बजार बनाइसकेका थिए। नेपालको संसदीय राजनीतिको घिनलाग्दो बजारीकरण हुँदै थियो, ‘नार्सिसिस्टिक पर्सनालिटी डिस्अर्डर’ (आत्ममुग्धताजन्य मानसिक विचलन) ले ग्रसित ओली भने आत्मघाती गल्तीहरू दोहोर्‍याउन तम्सिरहे। उनकै पार्टी पङ्क्तिका कतिपय नेताले उनलाई नेपाली राजनीतिको पेले भन्छन्। हो, उनी नेपाली राजनीतिका यस्ता पेले हुन्, जसले आफ्नै गोलपोस्टमा गोल गरेर उत्सव मनाउँछ !

अन्ततः चमकधमकयुक्त शासकीय ‘स्टारडम’ भएका ओलीलाई नियतिले गलहत्याउँदै ल्याएर न्यूनतम मानवीय संवेदना समेत नभएको ‘काँतर शासक’ बनाइदियो ! यतिसम्म कि २०८२ भदौ २३ र २४ को जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएकालाई श्रद्धाञ्जली नामक एउटा शब्द खर्चिने आत्मबल पनि गुमाए। यतिसम्म कि आफ्ना नेताको गाडीले ठक्कर दिएर घाइते बनाइएकी बच्चीमाथि नै पनि आक्रोश पोख्ने धृष्टता गरे। उनको ‘शासकीय दु:खान्त’ निम्तिनुमा यस्ता कैयौं शृङ्खलाबद्ध गल्तीहरू निर्णायक छन्।

कतिपयले रणनीतिक चातुर्य भएका नेता मान्ने ओलीमा राजनीतिक नायकीय गुण हुँदाहुँदै पनि शासकीय ‘निर्णय खराबी’ का कारण उनको राजनीतिक ह्यामर्सिया निम्तियो, जुन उनको मात्रै होइन, उनको दल एमालेकै निम्ति ‘ग्रिक दु:खान्त’ मा दर्शाइने नायकीय अन्त्य बराबरकै ‘दु:खद’ नियति हो। उनी यतिखेर आजसम्म आफैंले निर्माण गरेको पार्टीको बलियो विश्वासको किल्लाभित्रै घेराबन्दीमा परेका छन्। साख्खै ठानिएका कमरेडहरूले समेत अब उनको साथ छाडेका छन्।

नेपालको वाम आन्दोलन (कम्युनिस्ट आन्दोलन) नै एकखाले अस्तित्व सङ्कटको उत्तरार्धतिर आइपुग्दै गर्दा यसको अपजस सबैभन्दा बढ्ता उनै ओलीको भागमा पर्छ। यस्तो लाग्छ, आजसम्म उनले महानायकको आवरणमा वाम दु:खान्तको खलनायकी भूमिका निर्वाह गरिरहेका थिए। अथवा, यही दु:खान्त मञ्चनको रिहर्सल गरिरहेका थिए।

लेखक
सुरेश प्राञ्जली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?