Comments Add Comment

बजेटमा कांग्रेसको टिप्पणी : आम्दानी अठन्नी खर्च रुपैयाँ जस्तै भयो

१६ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले जनताको हित विपरित बजेट आएको भन्दै स्वीकार्य नहुने बताएको छ ।

सरकारले बिहीबार १४ खर्ब ७४ अर्ब १६ करोडको बजेट पेश गरेपछि कांग्रेसले पार्टी निकट अर्थशास्त्रीहरुलाई बोलाएर सांसदहरुसँग छलफल गरेको थियो ।

पूर्व अर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द राज पोखरेल र डा. स्वर्णीम वाग्ले तथा अर्थविद् डा. विश्व पौडेलले बजेटको राम्रो पक्ष र कमजोरीबारे धारणा राखेका थिए ।

बजेट परिणामभन्दा प्रचारमुखी भएको र जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको कांग्रेसको ठहर छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनले शिथिल भएको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रम प्राथमिकतामा नपरेको उसले बताएको छ ।

पर्याप्त रोजगारी सिर्जना गरी मुलुकको आर्थिक क्रियाकलापलाई गतिशील बनाउने र आम नागरिकहरुको क्रय शक्तिलाई पुनर्स्थापना गर्ने योजना नआएको उसले बताएको छ । रोजगारीका नाममा आफ्ना समिति कार्यकर्तालाई तत्काल लाभ पुग्ने किसिमका कार्यक्रम समावेश भएका छन्, जसले बजेटको दुरुपयोगलाई बढावा दिनेछ’ कांग्रेस संसदीय दलले भनेको छ ।

विषम र असामान्य अवस्थामा पनि विगतमाझै सामान्य बजेट ल्याएको, मितव्ययीता अबलम्बन गर्नुपर्नेमा विदेशी र आन्तरिक ऋणको आधारमा बजेट बनाएको कांग्रेसको आरोप छ । यो बजेट कार्यान्वयन नहुने भन्दै कांग्रेसले भनेको छ, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’ भने जस्तै बजेटले मुलुकमा ठूलो दुर्घटना निम्त्याउन सक्दछ । तसर्थ राष्ट्र र जनताको हित विपरीतको सरकारले ल्याएको बजेट नेपाली कांग्रेसलाई स्वीकार्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment