Comments Add Comment

कार्यसूचीमा राखियो संविधान संशोधन विधेयक

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । बैठक सुरु हुनुअघि संसद सचिवालयले प्रकाशित गरेको आइतबारको कार्यसूचीमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने उल्लेख छ ।

गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको कार्यसूचीमा फेरि राखिएको हो । संसद सचिवालयका अनुसार सरकारले यही जेठ ९ गते दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका थिए ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले आइतबार बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् ।

निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको हो ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्छौं भनेपछि यही जेठ १४ गतेको कार्यसूचीबाट संविधान संशोधनको विषय झिकिएको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ ।

यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

राजपाको अर्को संशोधन विधेयक

कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले विधेयक ल्याएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन सम्बन्धी अर्को विधेयक ल्याएको छ ।

तर, राजपाले ल्याएको संविधान संशोधन सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता हुन बाँकी छ ।

राजपाले नक्सा सम्बन्धी विषय संशोधन गर्दा आफूहरुको मागलाई समेत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको थियो । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि यही विषय राखेको थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक नक्सासम्बन्धी विषयमा मात्रै संविधान संशोधन गर्ने र बाँकी विषयमा छलफल गर्दै गरौंला भनेपछि राजपा नेपालले आफ्ना मागहरुलाई उल्लेख गरेर संविधान संशोधन सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्न खोजेको छ ।

राजपाले आफ्नो संविधान संशोधन प्रस्तावमा प्रदेशको संख्या तथा सिमांकन हेरफेर गर्नुपर्ने, त्यसका लागि सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रदेशको प्रतिनिधित्व हेरफेर गर्ने लगायतका विषयलाई समावेश गरेको छ ।

तर, राजपालाई समाजवादीको छैन साथ !

राजपा र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ बनिसकेको छ । नयाँ पार्टी बनेको जानकारी निर्वाचन आयोगलाई दिइसकेको छ । तर, कानुनी रुपमा राजपा र समाजवादीको अस्तित्व कायम छ ।

पार्टी एक भइसकेको भएपनि राजपाले आफूहरुलाई नसोधी संविधान संशोधन विधेयक लगेको समाजवादीको आरोप छ ।

‘हाम्रो दलमा संविधान संशोधन विधेयक लानेबारे छलफल भएको छैन । राजपाले लग्यो । आइतबार सरकारले ल्याएको विधेयक हाउसमा पेश गर्ने कार्यसूची तय भएको जानकारी प्राप्त भयो । सरकारी विधेयक पास हुन केही दिन लाग्छ । त्यहि बीचमा हामी निर्णय गर्छौं,’ समाजवादीका नेता उमाशंकर अरगरियाले अनलाइनखबरसँग भने ।

सरकारले ल्याएको विधेयकमा विरोध गर्ने पक्षमा आफूहरु नरहेको पनि उनले बताए । ‘खाली हाम्रा कुरा पनि सुनियोस् भन्ने हो । नक्सा बाहेकका विषयलाई सम्बोधन गर्नेबारे अहिलेसम्म राजपा र सरकार दुवैसँग कुनै छलफल भएको छैन,’ नेता अरगरियाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment