Comments Add Comment

डडेल्धुरामा क्वारेन्टिनमा बसेका बालकको मुत्यु

१८ जेठ, डोटी । डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् ।

गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए । ‘उहाँहरू राति पुगेपछि क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो,’ प्रनाउ न्यौपानेले भने, ‘हामीकहाँ फोन आयो, बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल पुर्‍याएका थियौं ।’

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो ।

ती बालकले ज्वरोको उपचार गराइरहेको बुझिएको उनले बताए । यसअघि उनको मुम्बईस्थित एक अस्पतालमा मलेरियाको उपचार भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पठाइसकेको निमित्त मेसु विष्टले जानकारी दिए । ‘रिपोर्ट आएपछि मात्र दाहसंस्कार गर्ने कि भन्ने कुरा चलेको छ,’ विष्टले भने, ‘यस विषयमा प्रशासनसँग छलफल भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment