Comments Add Comment

रुकुम पश्चिम घटनाको मुद्दा बिग्रन दिने छैनौं : महान्यायाधिवक्ता खरेल

२० जेठ, काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम पश्चिममा दलित युवकको हत्याको मुद्धालाई बिग्रन नदिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने बताएका हुन् ।

‘यो मुद्धालाई बिग्रन दिइने छैन, म विश्वास दिलाउन चाहन्छु, अभियोजनको मामिलामा तल माथि हुन कुनै ठाउँमा दिइने छैन’ महान्यायधिवक्ता खरेलले भने ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रेमिकाले बोलाएर बिहे गर्न भनी १८ जना साथीसहित आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ५ जनाको भेरी नदी किनारमा शव भेटिएको थियो । एक जना अझै वेपत्ता छन् । १२ जना घाइते भएका छन् ।

महान्यायाधिवक्ता खरेलले रुकुम पश्चिमको घटनामा बाहिर प्रचारमा आएजस्तो अनुसन्धानका क्रममा नदेखिएको पनि बताएका छन् । ‘कतिपय विषय सञ्चार माध्यममा व्यक्तिगत कुरासँग जोडेर पनि आएका छन् । मैले युट्युब र अनलाइन मिडिया फलो गरिरहेको छु । त्यो पुष्टि हुने प्रमाण देखिएको छै’ उनले भने ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले माया प्रेमको विषयबाट रुकुम घटना उब्जिएको बताए । घटनामा पीडित पक्षले २० जनाविरुद्ध किटानी जाहेरी दिएको र १८ जना पक्राउ परेको उनले बताए । उनीहरुविरुद्ध अनुसन्धान गर्न अदालतबाट १० दिनको म्याद लिएको पनि महानिरीक्षक ज्ञवालीले जानकारी दिए ।

घटनाको गाम्भीर्यतालाई हेरेर संघीय प्रहरी इकाइ नेपालगञ्जबाट एसएसपीको नेतृत्वमा टोली पठाएको, केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीबाट पनि टोली पठाइएको उनले बताए । कर्णाली प्रदेश प्रहरी प्रमुख पनि घटनास्थलमा पुगेर पीडित परिवारलाई भेटेको र घटनाको अनुसन्धान गर्न निर्देशन दिएर फर्किसकेको महानिरीक्षक ज्ञवालीले संसदीय समितिमा जानकारी गराए ।

घटनामा बेपत्ता रहेका एकजनाको खोजी भइरहेको पनि उनले बताए । ‘नदीमै पनि बगाइएको हुन सक्छ भनेर गोताखोरसमेतको व्यवस्था गरेर खोजी गरिरहेका छौं’ महानिरीक्षक ज्ञवालीले भने । अन्य ५ जना मृतकको शव भने पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment