२० जेठ, कैलाली । कोरोना संक्रमितको उपचार गर्न कैलालीको टीकापुर अस्पतालले तयार पारेको १२ शय्याको आइसोलेसन अहिले भरिभराउ छ ।
सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा २४ शय्याको आइसोलेसन छ, तर २५ संक्रमित उपचार गराइरहेका छन् ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठ भन्छन् ‘हाललाई त्यसैमा बेड थप गरेर व्यवस्थापन गरेका छौं’ अझै १०÷१२ जनालाई त्यसरी व्यवस्थापन गर्न सक्छौं त्यसपछि भने समस्या हुन्छ’ उनले भने ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १६ स्थानमा १८० आइसोलेसन वार्ड तयार गरिएको छ । मंगलबार बिहानसम्म कैलालीको सेती प्रादेशिक अस्पतालमा २५ जना, टीकापुर अस्पतालमा १२ जना, ४ शय्याको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा १ जना कोरोना संक्रमित उपचाररत छन् । गौरिगंगा नगरपालिकाको ५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्र भने अहिलेसम्म खालीे छ ।
गौरीगंगामा सोमबार १२ जना संक्रमित भेटिएपछि प्राथमिक स्वासथ्य केन्द्रमा आइसोलेसन शय्या विस्तार गरिएको नगरपालिकाका प्रमुख भीम देउवाले बताए ।
सञ्चालनमा आएन कोरोना अस्पताल
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार गरेको ५० शैय्याको कोरोना अस्पताल पनि सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ । तर, अस्पताल हस्तान्तरण गरेको एक साता बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
‘हामीलाई अस्पताल हस्तान्तरण भएको हो । उपकरण लगाए अन्य बिभिन्न सामाग्री जडान हुन सकेको छैन’ सूचना अधिकारी श्रेष्ठले भने, ‘त्यो जडान गरेर सेवा सुचारु गर्छौं ।’
अस्पतालका जनरल फिजिसियन डा. शेरबहादुर कमर गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पताल ल्याउनुपर्ने बताउँछन् ।
‘हनहन्ती ज्वरो आयो भने, सास फेर्न नसक्ने अवस्थामा अक्सिजन दिन अस्पताल ल्याउनु पर्छ’ उनले भने ‘लक्षण नै नदेखिने, पोजेटिभ देखिएलगत्तै अस्पताल पुर्याउँदा बेड अभाव भएको हो ।’
भेन्टिलेटर र आईसीयु पनि अभाव
हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमणको जटिल बिरामी देखिएका छैनन् । तर कोरोना संक्रमित बिरामीहरुको उपचार गर्नका निम्ति सुदूरपश्चिम प्रदेशमा भेन्टिलेटर र आईसीयुको पनि अभाव देखिएको छ । सुदूरपश्चिम प्रदेशमा हाल १४ आईसीयू वार्ड र ८ वटा भेन्टिलेटर रहेको छ ।
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरबाहेकका ७ जिल्लामा एउटा पनि आईसीयू वार्ड र भेन्टिलेटर छैन ।
सेती प्रादेशिक अस्पतालमा १० शय्याको आईसीयु वार्ड र ६ वटा भेन्टिलेटर रहेको छ भने, महाकाली अस्पतालमा ४ आईसीयू शय्या र २ वटा भेन्टिलेटर रहेको छ । यी बाहेक अन्य आईसीयू र भेन्टिलेटर निजी अस्पतालका हुन् ।
‘१०० जना बिरामीमध्ये १० जनालाई आईसीयूमा राख्नुपर्छ । त्यसमध्ये ३ प्रतिशत बिरामी नबाँच्न सक्छन् । यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेशमा भेन्टिलेटर र आईसीयू निकै कम छ’ सेती प्रादेशिक अस्पतालमा फिजिसियज डा. कमरले भने ‘हामी कहाँ ३ सय भन्दा बढी आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने हो ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4