१५ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानहरुको बक्यौता रकम दशैं अघि नै भुक्तानी गर्ने जनाएको छ ।
बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सो कुराको जानकारी दिएका हुन् ।
सचिव मिश्रले उखु किसानको भुक्तानीलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए ।
उनले भने, ‘बर्दिया र कैलालीका उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने गरी मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । किसानलाई भुक्तानी गर्ने विषयमा मन्त्रीस्तरबाटै निर्णय भइसकेको छ ।’
‘भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको छ । दशैँअघि नै किसानले रकम पाउने गरी काम भइरहेको छ,’ उनले थपे ।
उनका अनुसार असारमै भुक्तानी गर्ने भनिए पनि केही प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको हो । अब भने किसानले पाउनुपर्ने रकम चाडपर्वअघि नै उपलब्ध गराउने गरी मन्त्रालयले काम अघि बढाएको उनको भनाइ छ ।
उखु किसानले लामो समयदेखि बक्यौता रकम भुक्तानीका लागि सरकारसँग पटक–पटक ताकेता गर्दै आएका छन् । साथै काठमाडौं केन्द्रित आन्दोलन पनि गर्दै आएका छन् । सरकारी अधिकारीहरूले भुक्तानीको आश्वासन दिँदै आए पनि किसानहरुले रकम नपाउँदा मर्कामा परेको गुनासो गर्दै आएका छन् ।
सचिव मिश्रले किसानलाई यसपटक भुक्तानी हुनेमा ढुक्क रहन आग्रह गरे ।
प्रतिक्रिया 4