Comments Add Comment

खानपानको नियम : भोक लागेपछि खानुहुन्छ कि समय तालिका अनुसार ?   

शारीरिक स्वास्थ्यको सोझो सम्बन्ध छ खानपानसँग । त्यसैले त भनिन्छ, जस्तो खान्छौं, हामी त्यस्तै हुन्छौं । हामीले ग्रहण गर्ने भोजनबाट नै शरीर निर्माण हुने पनि हो । अतः खाना कस्तो खाने भन्ने कुरा जति महत्वपूर्ण त्यती नै महत्व छ, कुन समयमा खाने भन्ने ।

धेरैजसो भन्ने गर्छन्, खाना खाने निश्चित समय तालिका हुनुपर्छ । जस्तो कि, विहान ७ बजे नास्ता, १२ बजे खाना, ४ बजे हल्का नास्ता, साँझ ७ बजे रातको खाना । यसरी तय गरिएको तालिका अनुसार नै खानपान गर्नुपर्छ भनिन्छ ।

अर्कोथरीको भनाई फरक छ । उनीहरु भन्छन्, भोक नलागी खानु उचित हुँदैन । जब शरीरलाई खानाको जरुरत हुन्छ, तब भोक महसुष हुन्छ । यसरी खानाको आवश्यक्ता भएको बखत मात्र हामीले भोजन ग्रहण गर्नुपर्छ ।

भोक लागेपनि, वा नलागे पनि । कुन तरिका सही हो त ?

भोक लागेपछि खानुका फाइदा

जब भोक लाग्छ, दिमागले राम्ररी काम गर्न सक्दैन । त्यसैले भोक लागेपछि खानु राम्रो हुन्छ किनकी यसबाट शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । भोक लाग्दा सन्तुलित भोजन लिइयो भने त्यसमा रहेको भिटामिन, मिनरल्स, फाइबर र फ्याट सजिलै शरीरमा अवशोषित हुन्छन् र उर्जा प्राप्त हुन्छ ।

भोक लागेपछि मात्र खाँदाका बेफाइदा

जब भोक लाग्छ, त्यतिबेला यो सोचिदैन कि के खानु सही र के खानु गलत हुन्छ । जे भेट्यो त्यही खाने गरिन्छ । यसले गर्दा कहिलेकाहीँ अस्वस्थकर कुराहरु पनि पेटमा पर्छ । र, सही पौष्टिक तत्व प्राप्त हुँदैन ।

धेरै भोक लागेको बेला दायाँबायाँ नहेरी अघाउन्जेल खाने गरिन्छ । यसरी खाँदा कहिलेकाहीँ आवश्यकताभन्दा बढि खाइन्छ । यो बानीले स्वास्थ्यमा धेरै समस्याहरु निम्त्याउन सक्छ ।

समयमा खाँदाका फाइदा

नियमित समयमा सही चीज खाँदा आवश्यकताभन्दा बढि खाइदैन, जसले गर्दा पाचन तन्त्रमा धेरै दवाव पर्दैन र स्वस्थ रहन सकिन्छ ।

नियमित एउटै समयमा खाने गरिएको छैन भने पेटसँग जोडिएका धेरै समस्याहरु उत्पन्न हुन सक्ने सम्भावना बढ्छ । त्यसैले समयमा खाँदा थकान र पेटको समस्या हुँदैन । जसले गर्दा शरीरमा उर्जा प्राप्त हुन्छ ।आफ्नो समयमा खानुहुन्छ भने शरीरुलाई खानामा रहेका पोषकतत्वहरु सही ढंगले अवशोषण गर्ने समय प्राप्त हुन्छ । यसले गर्दा शरीर स्वस्थ रहन्छ ।

समयमा खाँदाका बेफाइदा

बेलाबखत खाने समयभन्दा अगाडि नै भोक लाग्न सक्छ । यस्तोमा यदि आफ्नो समयमा खान्छु भनेर पर्खियौं भने भोक मरिसक्छ । यसले गर्दा पेटमा विभिन्न समस्या उत्पन्न हुन सक्छन् ।

कहिले काहीँ समयमा पनि भोक लागेको हुँदैन । यस्तो बेलामा जबरजस्ती खाँदा खाना रुच्दैन । यसले एकातिर खाना नाश हुन्छ भने अर्कोतिर शरीरले आवश्यक पौष्टिक तत्व प्राप्त गर्न सक्दैन ।

कहिलेकाहीँ हल्का खाना खाने हो भने जुन चाँडै नै पच्छ र फेरि भोक लाग्छ । तर, खानको लागि नियमित समयको प्रतिक्षा गरिन्छ । यस्तोमा कमजोरी र थकान हुन्छ । जसले गर्दा आफ्नो काममा ध्यान केन्द्रित गर्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment