Comments Add Comment

व्यवसाय खुलाउन चेम्बरको यस्तो प्रस्ताव, सीडीओले जनाए सहमति !

२२ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा व्यवसाय सञ्चालन गर्ने विषयमा बिहीबार प्रमुख जिल्ला अधिकारी र व्यवसायीबीच छलफल भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितका पदाधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेबीच लकडाउनको समयमा व्यवसाय सञ्चालन गर्ने विधिका विषयमा छलफल भएको हो ।

छलफलमा चेम्बर अध्यक्ष श्रेष्ठले व्यवसायलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरी सञ्चालन गर्न सकिने प्रस्ताव गरेको छ । रेड जोन, यल्लो जोन र ग्रीन जोन गरी तीन क्षेत्रमा वर्गीकरण गर्ने र कुन क्षेत्रमा के के खुलाउने भन्ने विषयमा उनले प्रस्ताव गरेका थिए ।

अध्यक्ष श्रेष्ठले आफूले राखेको प्रस्तावमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सहमति जनाएको बताए । उनका अनुसार व्यवसाय सञ्चालन  गर्ने विषयमा अब जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा प्रस्ताव पठाउनेछ ।

चेम्बरले लामो समय लकडाउन हुँदा अर्थतन्त्र चलायमान हुन नपाएको भन्दै केही खुकुलो बनाउन माग गरेका छन्  । चेम्बर लगायतका उद्योगी–व्यवसायीहरुको आग्रहपछि सरकारले ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने बताए पनि अन्य व्यवसायहरुका विषयमा भने सरकार बोलेको छैन ।

अध्यक्ष श्रेष्ठले कोरोना संक्रमण फैलन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर कम जोखिम भएका क्षेत्रहरुमा उद्योग–व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताए । अझै लामो समय यही मोडलमा लकडाउन जारी रहने हो भने मुलुकको अर्थतन्त्र नै धराशायी हुने खतरा रहेको भन्दै उनले चाडो भन्दा चाडो सरकारले सहज बनाउने निर्णय गर्नुपर्ने बताए ।

चेम्बरले यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई पनि लिखित सुझाव नै बुझाएको छ । चेम्बरले जोखिमका आधारमा रातो, पहेलो र हरियो क्षेत्र छुट्याएर तीन वटामा वर्गीकरण गरी लकडाउनको मोडल परिवर्तन गर्नुपर्ने बताएको छ ।

साँझ ८ बजेदेखि विहान ५ बजेसम्म सबै क्षेत्रमा लकडाउन कडा पार्ने, अन्तर प्रदेश सडक सञ्जाल तथा हवाई यात्रा सबैतिर बन्द गर्ने चेम्बरको प्रस्ताव छ ।

हरियो र पहेलो क्षेत्रमा जिल्लाभित्र दूरी कायम गरेर सवारीसाधन भने सञ्चालनमा ल्याउनुपर्ने चेम्बरले बताएको छ । उद्योगधन्दा, बैंक तथा वित्तीय सेवा, सामान ढुवानीलगायत भने सबै क्षेत्रमा खुलै राख्नुपर्ने प्रस्ताव गरिएको चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment