Comments Add Comment

टर्कीमा पूर्ण लकडाउनविना नै कसरी नियन्त्रणमा आयो कोरोना ?

२३ जेठ, काठमाडौं । टर्कीमा कोरोना भाइरस (कोभिड-१९) अन्य मुलुकको तुलनामा केही ढिला आयो । पहिलो संक्रमित मार्च १९ मा फेला परेका थिए । तर त्यसपछि निकै छिटो महामारी मुलुकभर फैलियो । एक महिनाभित्रै यो महामारी मुलुकको सबै ८१ प्रान्तमा फैलिएको थियो ।

टर्की विश्वमा सबैभन्दा छिटो कोरोना भाइरसको महामारी फैलिरहेको थियो । कुनै समयमा टर्कीको अवस्था बेलायत र चीनको भन्दा पनि खराब अवस्थामा पुगेको थियो । यस्तो अवस्थामा टर्कीको अवस्था इटालीको भन्दा भयाबह हुने आशंका गरिएको थियो ।

तर अहिले टर्कीको अवस्था पहिलाको जस्तो छैन । यो अवधिमा टर्कीले पूर्णरुपमा लकडाउन पनि गर्नु परेन । टर्कीमा आधिकारिक रुपमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या चार हजार ३९७ पुगेको छ । धेरैले भने यो संख्या अझै धेरै हुन सक्ने आशंका पनि गरेका छ । किनकी टर्कीमा मृत्यु हुने धेरैको कोरोना परीक्षण गरिएको थिएन । यद्यपि अन्य मुलुकको तुलनामा टर्कीमा कोरोना भाइरसबाट मृत्यु हुनेको यो संख्या कम हो । टर्कीको जनसंख्या साढे आठ करोड छ ।

फरक किसिमको लकडाउन

कुनै पनि मुलुकमा कोरोना भाइरसको महामारी हुनसम्म जानसक्छ भन्ने आकलन विशेषज्ञहरुले समेत गर्न गाह्रो छ । तर युनिभर्सिटी अफ केन्टका संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जेरेमी रोसमेन भने टर्कीले मुलुकमा हुनसक्ने ठूलो क्षतिलाई रोकेको बताउँछन् ।

उनी भन्छन्, ‘टर्की त्यस्ता मुलुकहरुको सूचीमा छ, जसले निकै छोटो अवधिमा परीक्षण, पहिचान, छुट्याउने र आवागमन रोक्नेजस्ता काम गर्‍यो । त्यसैले टर्की निकै प्रभावकारी तरिकाले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सफल मुलुकको सूचीमा परेको छ ।’

कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको समयमा दैनिक जीवनमा केही कामहरुमा रोक लगाइयो । कफी हाउस जान प्रतिबन्ध लगाइएको थियो, शपिङ मल बन्द गरिएको थियो भने मस्जिदहरुमा सामूहिक नमाजमा रोक लगाइएको थियो । ६५ वर्षभन्दा बढी उमेरका मानिसलाई पूर्ण रुपमा लकडाउनमा राखिएको थियो । धेरैको बिदा हुने सप्ताहान्तमा कफ्र्यु लगाइएको थियो र सहरहरुको सीमा सिल गरिएको थियो ।

इस्तानबुल सहर कोरोना भाइरसको महामारीको केन्द्र बनेको थियो । त्यससँगै यो सहरको गति सुस्तायो ।

टर्कीमा कसरी ट्रयाक गरियो कोरोना भाइरस ?

टर्कीमा संक्रमित मानिसहरुको कन्ट्याक्ट ट्रेसिङका लागि ६ हजारभन्दा धेरै मानिसको टोली बनाइएको छ ।

टर्कीमा मार्च ११ मा पहिलो संक्रमित देखिएसँगै कन्ट्याक्ट ट्रेसिङको काम शुरु गरिएको थियो । त्यसअघि कन्ट्याक्ट ट्रेसिङको सबै योजना तयार भइसकेको थियो । यस्तो अवस्थामा विदेशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको विषयमा सबै डराएका थिए । तर उनीहरुले अन्य मुलुकको तुलनामा निकै छिटो यसलाई नियन्त्रणमा ल्याउन सफल भए ।

टर्कीका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का कार्यकारी प्रमुख डाक्टर इरशाद शेख टर्कीबाट सर्वजनिक स्वास्थ्यको विषयमा विश्वले धेरै कुरा सिक्न सक्ने बताएका छन् ।

सुरुमा टर्कीमा दैनिक तीन हजारसम्म नयाँ संक्रमित भेटिन थालेका थिए । तर परीक्षण बढाइएसँगै यसले माहामारी नियन्त्रणको लागि निकै राम्रो काम गर्‍यो । साथै मानिसहरुको परीक्षणको नतिजा पनि एक दिनभित्र आउने व्यवस्था गरियो । टर्कीमा शुरुवातदेखि नै महामारी नियन्त्रणको लागि बिरामीलाई विभिन्न किसिमका औषधिहरु दिनुका साथै प्लाज्मा र उल्लेख्य मात्रामा अक्सिजनको पनि व्यवस्था गरिएको थियो । जसको कारण टर्कीमा कोरोना भाइरसका संक्रमितमध्ये मृत्यु हुनेको संख्या एक प्रतिशतभन्दा पनि कम रहन पुग्यो । जुन टर्कीका लागि एक गर्व गर्न लायक विषय रह्यो । अस्पतालमा पनि बिरामीलाई राम्रो स्याहार प्रदान गरिएको थियो ।

अझै सकिएको छैन लडाइँ

टर्कीको एसोसिएसनले अझै महामारीको विषयमा सरकारको काम सकिएको बताएको छैन । एसोसिएसनले सरकारले चालेको कदम पूर्णरुपमा सही नरहेको बताएको छ । उसका अनुसार सरकारले चालेको काममा धेरै कमजोरी थियो । जत्यसमध्ये एक एक सीमा खुला छाड्नु हो । यद्यपि डब्ल्यूएचओले भने टर्कीको प्रशंसा गरेको छ ।

त्यसो त टर्कीलाई महामारी नियन्त्रणको लागि सहयोग पुग्ने केही कुराहरु पनि थिए । उदाहरणका लागि युवाको र आईसीयू बेडको संख्या धेरै हुनु पनि एक कारण हो । तर, अझै पनि दैनिक करिब एक हजार नयाँ संक्रमित देखिइरहेका छन् । टर्कीलाई अहिले कोरोना भाइरसको महामारी नियन्त्रणमा सफल मुलुकको रुपमा लिन थालिएको छ । तर, अझै पनि मुलुकमा यो महामारी नसकिएको विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment