Comments Add Comment

कोरोनाबाट जोगिन किसानको रोजाइमा छरुवा धान प्रविधि

२१ जेठ, कैलाली । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्न थालेपछि पश्चिम तराईका किसानहरु चिन्तामा परेका छन् । धान खेती लगाउने समयमा सरकारले लक डाउन थप कडाइ गरेको छ । ठूलो संख्यामा खेताला प्रयोग गरेर खेती लगाउँदा संक्रमण फैलन सक्ने भन्दै उनीहरु त्रसित भएका हुन् ।

यस्तो अवस्थामा बर्दियाको बारबर्दिया-९ बनगाईका किसान खिमलाल भट्टराईलाई भने कुनै चिन्ता छैन । गाउँका अरु किसानलाई खेताला खोज्न भ्याइनभ्याइ छ । उनी भने प्रविधिको प्रयोगबाट एक्लै खेती गर्ने योजनामा छन् ।

‘अरुको ८/१० जना नभई खेती हुँदैन । मैले दुईजनाको भरमा खेती गरिरहेको छुँ,’ उनले भने, ‘कोरोनाको संक्रमणको जोखिममा प्रविधिले समय, पैसा र जनशक्ति सबैको बचत गरेको छ । ‘

गत वर्ष १० कठ्ठामा नयाँ प्रविधिबाट खेती गरेका भट्टराईले यस वर्ष त्योभन्दा धेरै क्षेत्रफलमा धान लगाउने योजना बनाएका छन् ।

अर्का कृषक कृष्णप्रसाद भट्टराईले यस वर्ष छरुवा प्रविधिबाट धान लगाउने बताउँछन् ।

‘सरकारले लकडाउन कडा पारेको छ । धेरै भिडभाड गर्ने अवस्था छैन,’ उनले भने ‘भिडभाड नहुँने गरी यो प्रविधिबाट खेतीगर्दा संक्रमणको डर पनि हुँदैन ।’

उनले गत वर्षसम्म परम्परागत शैलीले खेती गर्नेहरु पनि यस वर्षदेखि छरुवा धानतर्फ आकषिर्त भएको बताए ।

‘हामी मात्रै होइन वरपरका धेरैले यस विषयमा चासो दिएका छन्,’ उनले भने, ‘१०/१२ जना खेताला चाहिने अवस्थामा २ जनाबाटै खेती गर्न सकनेे हुँदा यसतर्फ किसानको चासो बढेको हो । ‘

बिगत ४ वर्षदेखि यही प्रविधिबाट धान लगाउँदै आएकी खैरापुरकी हुर्मती चौधरीले यस वर्ष डेढ बिघामा छरुवा धान लगाउँदै छिन् ।

‘म, मेरो श्रीमान र छोराले डेढ बिघामा धान लगाउँदै छौँ,’ उनले भनिन्, ‘परम्परागत शैलीले खेती गर्दा त कम्तिमा १०/१२ जना चाहिन्थ्यो । ‘

थोरै व्यक्तिबाट पनि खेती गर्न सकिने भएको हुँदा संक्रमणको डर नभएको उनले बताइन् ।

‘खेतला बोलाउनु परेको भए विभिन्न ठाउँबाट आउने थिए । उनीहरुबाट हामीलाई र हामीबाट उनीहरुलाई डर थियो । तर, यसपालि परिवारकै ३ जना सदस्यबाट खेती गर्दैछौ,’ उनी भन्छिन्, ‘त्यसैले डर छैन ।’

बिगतका वर्षहरु भन्दा यसवर्ष किसानहरु यसप्रति बढी आकषिर्त भएको छरुवा धान प्रविधिको प्रवर्द्धन गरिरहेको सिसा परियोजना बाँके-बर्दियाका संयोजक शालीन आचार्यले बताए ।

‘रोपाइँ गर्दा खेताला र रोपारहरु धेरै चाहिन्छ । यसमा एक जना ड्राइभर र एक जना प्राविधिक भए पुग्छ,’ उनले भने, ‘भिडभाडविनै खेती गर्न सकिने भएका कारण किसान बढी आकषिर्त भएको हुनु पर्छ । ‘

बिगतका वर्षहरुमा प्रचारप्रसारको अभावका कारण किसानहरुले यसतर्फ ध्यान नदिएको भन्दै उनले भने, ‘यस वर्ष कोरोना संक्रमण फैलने चिन्ताले किसानहरु भिडभाड नगरि खेती गर्न यो प्रविधिमा चासो देखाएका हुन् । ‘

जेठ को पहिलो सातादेखि असार दोस्रो सातासम्म छरुवा प्रविधि गर्ने समय रहेको आचार्य बताउँछन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले किसानहरु अहिले प्रविधिसँग ननिक भएको बताए । जटिल अवस्थामा पनि खेती लगाउँनै पर्ने हुँदा प्रबिधिको प्रयोगमा किसानको आकर्षण बढेको उनको भनाइ छ ।

‘वर्तमान अवस्थामा किसानहरुलाई धेरै चिन्ता छ । खेती गर्दा रोगको डर नगर्दा भोकको डर,’ उनले भने, ‘आफू सुरक्षित रहन पनि प्रविधिको प्रयोग गर्नेहरु बढेका हुन् ।’
थोरै व्यक्तिबाट धेरै खेती गर्न सकिने हुँदा संक्रमण फैलन सक्ने खतरा पनि कम हुने ढकाल बताउँछन् ।

पछिल्लो समय बर्दियाको राजापुर क्षेत्रमा यो प्रविधिमार्फत खेती गर्नेहरु बढिरहेका छन् ।

गत वर्ष ४ सय बिघाको हाराहारीमा छरुवा प्रविधिबाट खेती भए पनि अहिले त्यो क्षेत्र बढ्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment