+
+

श्रम गन्तव्य मुलुकका दूतावासहरूको प्रस्ताव–व्यावसायिक उडान नै खोलौं

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते १९:०४

२३ जेठ, काठमाडौं । प्रमुख श्रम गन्तव्य मुलुकका नेपाली दूतावासहरूले व्यावसायिक उडान खोल्न सरकारसँग प्रस्ताव गरेका छन् । ‘उद्धार’ फ्लाइट भन्ने तर टिकटको मूल्य कामदार आफैँले तिर्नुपर्ने अवस्था आएको भन्दै उनीहरूले व्यावसायिक फ्लाइट सञ्चालन गरेर नै नेपाल जान दिन सुझाएका हुन् ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र लकडाउनका कारण विदेशमा अप्ठ्यारोमा परेका नागरिकहरूको सरकारले शुक्रबारबाट उद्धार सुरु गरेको छ । उद्धारका लागि सरकारको प्राथमिकता सूचीअनुसार दूतावासहरूले काम गरेका छन् । उद्धार गर्नुपर्ने सूचीमा धेरै श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरू छन् ।

मलेसिया, कतार र साउदी अरेबियाका राजदूतहरूले भने व्यावसायिक उडान खुला गर्नुपर्ने बताएका हुन् । चार्टड फ्लाइट गर्दा प्राथमिकता निर्धारण गर्न, टिकट मूल्य, कामदारहरूको ग्राउन्ड ह्यान्डेलिङ गर्न कठिन हुने उनीहरूले बताए ।

व्यावसायिक उडान भएमा जहाज कम्पनीहरूबीच प्रतिस्पर्धा भएर टिकट मूल्य पनि सस्तोमा उपलब्ध गराउन सकिने उनीहरूको तर्क छ ।

मलेसियामा साढे ६ हजार पर्खाइमा

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार त्यहाँ छ हजार तीन सय ४३ जना प्राथमिकताको सूचीमा परेका छन् । श्रम रोजगार तथा पत्रकार समूहले शुक्रबार गरेको भर्चुअल छलफलमा राजदूत पाण्डेले भने, ‘सरकारले उद्धारका लागि बनाएको १५ वटा प्राथमिकताका योग्यताभित्र परेकाहरू फर्किन चाहिरहनुभएको छ । उहाँहरूलाई सरकारले रोक्नुपर्ने कारण पनि छैन।’

तर सबैलाई चार्टर फ्लाइटबाट उद्धार गर्न सजिलो छैन । उनका अनुसार धेरै कामदारसँग विभिन्न समयमा लिएका नेपाल फर्किने टिकट छ भने व्यावसायिक उडानबाटै घर फर्किने अवस्थामा कतिपयको खर्च कम्पनीले बेहोर्न सक्छ। तर सरकारले चार्टर्ड फ्लाइट गर्दा रोजगारदाता टिकट दिन तयार नहुने खतरा देखिएको भन्दै राजदूत पाण्डेले भने ‘यदि नेपालले व्यावसायिक उडान सुरु गर्‍यो भने जसलाई जानु छ, उहाँहरू टिकट लिएर जानुहुन्थ्यो ।’

साउदीमा पनि उस्तै चिन्ता

साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतका अनुसार साउदी अप्ठ्यारोमा परेका १५ सय नेपालीलाई आवासको व्यवस्था गरिएको छ । तर धेरै दिनसम्म यो सम्भव छैन । साथै करिब १० हजार कामदार साउदीबाट फर्काउनुपर्ने अवस्थामा रहेको भनेर पहिचान गरिएको उनले जानकारी दिए ।

उनका अनुसार धेरै कामदारको श्रम करारमा स्वदेश फिर्ताको टिकट कम्पनीले दिने व्यवस्था छ । तर अहिले सरकारले चार्टर्ड फ्लाइटबाट उद्धार गर्न लागेको छ। तर अहिलेसम्म फ्लाइटहरूको मिति र टिकटको मूल्यबारे यकिन नहुँदा समस्या पर्ने देखिएको उनले बताए । फ्लाइट हुनुभन्दा एक हप्ताअघि नै विस्तृत जानकारीहरू आउनुपर्ने भन्दै उनले ढिला सूचना आएमा फ्लाइटमा प्राथमिकताका आधारमा कसलाई कसरी पठाउने भन्ने टुङ्गो लगाउन गाह्रो हुने बताए ।

साउदीकै सरकारले पनि फ्लाइट उपलब्ध गराउन सकिने बताएको भन्दै उनले चार्टर्ड फ्लाइटबारे सरकारले आवश्यक निर्णय गरेर जानकारी दिनुपर्नेमा जोड थियो।

कतारमा अनिश्चितता

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज पनि अन्य राजदूतका कुरामा सहमत छन्। अहिले उद्धार पर्खिरहेकामध्ये धेरै कामदारले नेपाल फर्किन मार्च अगाडि नै विभिन्न विमान कम्पनीको टिकट लिएका छन् र धेरैजसो वायुसेवा प्रदायकले टिकट ‘रिफन्ड’ गरेका छैनन् । यस्तो अवस्थामा नेपालले चार्टड फ्लाइट गर्दा कम्पनीहरूबाट लिइएको टिकट खेर जाने देखिएको उनले बताए ।

विमान कम्पनीले उडान मिति मात्रै सारेकाले रोजगारदाताले कामदारलाई चार्टड फ्लाइटका लागि नयाँ टिकट दिन मान्ने/नमान्ने अनिश्चित रहेको उनको भनाइ छ । चार्टर्ड उडान महँगो हुने भएकाले नियमित उडानबाटै फर्काउने व्यवस्था गर्न सके कामदारलाई सहज हुनेमा राजदूत भारद्वाज पनि सहमत छन् ।

दूतावासले कतारबाट उद्धार गर्नुपर्ने भनेर सात हजार कामदार र विद्यार्थी पहिचान गरेको छ । तर अहिलेसम्म कहिलेबाट कतिजना उद्धार गर्ने भन्ने सरकारको निर्णयको नआएको भन्दै राजदूत भारद्वाजले फ्लाइट हुनुभन्दा एक हप्ता जानकारी आए मात्रै प्राथमिकताका आधारमा स्वदेश फर्किनेको व्यवस्थापन गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?