Comments Add Comment

बजेटमा पुराना योजनाको भुक्तानी प्राथमिकतामा राख्न माग

२३ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदले आगामी आर्थिक बर्षको बजेटमा गत बर्षको भुक्तानीलाई प्राथमिकतामा राख्न माग गरेका छन् । उनीहरुले आगामी आर्थिक बर्षको बजेटमा पनि गत बर्ष सम्पन्न गरिएका योजनाको भुक्तानी नगरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रदेश सभामा शुक्रबार भएको विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै विपक्षीका साथै सत्ता पक्षका सांसद समेतले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेटमा आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न गरिएका योजनाको भुक्तानी समावेश गराउन उनीहरुले माग गरेका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रस्तुत गरेको विनियोजन विधेयकको २५ नम्बर बुँदामा गत आर्थिक बर्षको बजेटलाई समावेश गरिएको भन्दै सांसदहरुले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले भुक्तानीको विषयलाई सबैभन्दा तल राखेर सरकारले प्राथमिकतामा नराखेको छर्लङ्ग देखिएको बताए ।

राजपाकी सांसद सुरिता कुमारी साहले भुक्तानी नभएका कारण सदन समेत एक बर्षदेखि अवरुद्ध हुँदै आएकाले यसमा अब नजर अन्दाज गर्न नहुने बताए ।

समाजवादी पार्टीका उपनेता रामाशिष यादवले गत बर्षको भुक्तानी नभएको बिषयमा सरकार सामु ठूलो प्रश्न चिन्ह खडा भएको भन्दै उनले अब भुक्तानी दिन बिलम्ब गर्न नहुने बताए । उनले असारमा बजेट खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै फागुनदेखि नै काम शुरु गर्नुपर्ने समेत बताए ।

समाजवादी पार्टीकै सांसद अशोक यादवले सबै प्रकृया पूरा भए पनि भुक्तानी नदिने कर्मचारीलाई विदाई गर्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शत्रुद्यन महतोले सबै प्रकृया पूरा भइसक्दा समेत भुक्तानी दिन आलटाल गर्नु ठीक नभएको बताए ।

शुक्रबारको बैठकमा बस्ने अधिकांस सांसदले भुक्तानीमै जोड् दिएका छन् । उनीहरुले कोरोनाबिरुद्ध लड्ने कुरा र गत बर्ष सम्पन्न गरिएका योजनालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न भएका ८ सय ४२ योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

सत्तारुढ सांसदले भनिन् –आफ्नै सरकारमाथिको भरोसा हट्यो

शुक्रबारको बैठकमा सत्तारुढ दल समाजवादीकी सांसद करिमा बेगमले हिन्दी भाषामा एउटा टुक्का सुनाइन् भने एउटा गीत पनि गाइन् । उनको टुक्का थियो, ‘हमे तो अपनो ने लुटा गैरोमे कहाँ दम था मेरी किस्ती थी डुबी वहाँ जहाँ पानी कम था ।’

उनले गीत गाइन, ‘हम थे जिनके सहारे, ओ हुए ना हमारे…।’

गीतको अर्थ प्रष्टयाउँदै उनले भनिन्, ‘हामी जसको भरोसा गरेका थियौं, ती हाम्रो हुन सकेनन् ।’

अनि, ‘आफ्नैले लुट्यो अरुसँग कहाँ थियो पावर’ भन्दै टुक्का अर्थ्याइन् ।

उनले प्रदेशका जनता भोकले मर्न लाग्दा समेत प्रदेश सरकारले केही गर्न नसकेको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment