Comments Add Comment

रंगभेदविरुद्ध अमेरिकामा १२ औं दिन पनि प्रदर्शन

२५ जेठ, काठमाडौं । अमेरिकामा प्रहरी दमन र रङ्गभेदविरुद्ध लगातार १२ औं दिन पनि प्रदर्शन भएको छ । प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोयड मारिएपछि अमेरिकामा यो आन्दोलन शुरु भएको थियो ।

यसै क्रममा वासिङ्टन डीसीमा हजारौं मानिसले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । यो प्रदर्शन अमेरिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

अमेरिकाको न्युयोर्क, सिकागो र सन्फ्रान्सिस्कोलगायतका सहरमा पनि आन्दोलनकारीहरुले प्रदर्शन गरेका थिए । ह्वाइट हाउस नजिकै रहेको लाफायेट्टे पार्कनजिकै पनि उनीहरुले प्रदर्शन गरेका थिए ।

वासिङ्टन डीसीकी मेयर मुरीओ बोझरले आन्दोलनको समर्थन गरेकी छिन् । गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चर्च पुर्‍याउन फेडेरेल ल इन्फोर्समेन्ट अफिसर्सले आन्दोलनकारीमाथि अश्रुग्यास प्रहार गरेका थिए । यो घटनाको मेयरले विरोध गरेकी छिन् । उनले फेडेरल ल इन्फोर्समेन्ट अधिकारी हटाउन पनि माग गरेकी छिन् ।

त्यस्तै फ्लोयडको जन्मस्थलमा सयौं मानिसहरुले भेला भएर पुष्पगुच्छा चढाउँदै उनीप्रति सम्मान व्यक्त गरेका छन् । मे २५ मा प्रहरी नियन्त्रणमा जर्ज फ्लोयडको मृत्यु भएको थियो ।

सार्वजनिक भएको भिडियोमा नियन्त्रणमा लिएपछि उनलाई प्रहरी अधिकारी डेरेक चौविनले लामो समयसम्म घुँडाले थिचेको देखिएको छ । चौविनलाई हत्याको आरोपमा मुद्दा चलाइएको छ । अन्य तीन प्रहरी अधिकारीलाई निलम्बन गरी चौविनलाई सहयोग गरेकामा मुद्धा चलाइएको छ ।

रङ्गभेदको आन्दोलन अमेरिकाको साथै बेलायतमा पनि फैलिएको छ । शनिबार बेलायतको लण्डनमा भएको आन्दोलनको क्रममा भएको झडपमा कम्तीमा १० जना प्रहरी घाइते भएका छन् ।

आन्दोलनको क्रममा आन्दोलनकारीले संसद् भवनअघि आफ्नो साइकलले प्रहरीको घोडालाई हानेका थिए । त्यससँगै झडप भएको थियो । यसैक्रममा १४ जनालाई पक्राउ गरिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment