Comments Add Comment

इन्धन बोक्ने ट्यांकरबाट लागूऔषध बरामद, चालक र सहचालक पक्राउ

२५ जेठ, वीरगञ्ज । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भारतमा लकडाउन खुकुलो गरिएको भएपनि नेपालले लकडाउनलाई कडाइ नै राखेको छ । नेपालको सीमा क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी साधन आवागमन बन्द गरिएको छ । तर लागूऔषध ओसार प्रसारमा संलग्न व्यक्तिहरुले अत्यावश्यक समान बोक्ने सवारी साधानलाई समेत प्रयोग गर्न थालेका छन् ।

लकडाउनअघि पैदल यात्रीहरुले शरीरमा बेरेर लागूऔषध ओसार प्रसार गर्ने गरेको अधिकांश घटना सार्वजनिक हुने गरेको थियो । तर शनिबार अपरान्ह लकडाउनको मौका छोपेर भारतको रक्सौलबाट इन्धन बोक्ने ट्यांकरमा लागूऔषध ल्याउँदै गरेको फेला परेको छ । ट्यांकर चालक बाराकाे जितपुर सिमरा–२१ अमलेखगञ्ज बस्ने २६ वर्षीय विशाल खड्का र सहचालक १८ वर्षीय देवकुमार वललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चोकमा ना ७ ख ९७४४ नम्बरको ट्यांकर चेकजाँच गर्दा लागूऔषध विनरेक्स १ सय एमएलको ८ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुले लागूऔषधलाई ५ सय लिटरको माउन्टेन ड्यू र १ लिटर मिनिरल वाटरको बोतलमा खन्याएर राखेका थिए ।

‘चेकजाँचको क्रममा स्टेरिङको मुनिपट्टि प्लास्टिकको झोलामा केही समान देखियो, के छ त्यसमा भनेर सोध्दा जुस हो भनेर बोतल देखाए,’ चेकजाँचमा संलग्न प्रहरी अधिकारीले भने, ‘खोलेर हेर्दा लागूऔषध रहेछ ।’

सुरुमा चालक सहचालकले जुस नै हो भनेर जिद्धि गरे पनि पछि लागूऔषध भएको स्वीकार गरेपछि बरामद गरिएको उनले बताए । लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment