Comments Add Comment

प्रदेश २ ले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने

२५ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोनाका कारण रोजगार गुमाएका युवाका लागि ‘युवा स्वरोजगार तथा उद्यम विकास’ कार्यक्रम संचालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आईतबार प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा रोजगार गुमाएका युवाका लागि यो कार्यक्रम ल्याउने उल्लेख गरिएको छ ।

स्वरोजगारका अवसर सृजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउन एवं वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवाको ज्ञान, सीप, क्षमता र पूँजीलाई प्रभावकारी रुपमा उपयोग गर्न आवश्यक व्यवस्था गरिनेछ ।

रोजगार सृजना गर्न स्थानीय तहसँगको सहकार्य र समन्वयमा घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रदेश अनुकुल लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

दलित तथा विपन्न वर्गहरुको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि प्रदेशका आठ वटै जिल्लामा प्रदेश प्रमुख रोजगार कार्यक्रम संचालन गरिनेछ । साथै प्रदश प्रमुख नैतिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

प्रदेश दलित सशक्तिकरण ऐनको कार्यान्वयनमा जोड दिदैं दलित विकास समिति र उच्चस्तरीय जातीय छुवाछुत अनुगमन समिति गठन गरिनेछ ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अझ परिस्कृत र सशक्त ढँगले अगाडि बढाइने छ । अभियान अन्तर्गत छोरी शिक्षा, छात्रवृत्ति, छोरी लोकसेवा तयारी कक्षा, आदर्श विवाह, साइकल वितरण र छोरीहरुको राज्य संरचना ५० प्रतिशत सहभागिताका लागि संरचनात्मक व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

जैविक विविधताको संरक्षण तथा सम्बर्द्धनका लागि धनुषाको धनुषाधाममा एउटा चिडियाघर निर्माण गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ ।

आगामी आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदनसहितको प्रदेश आयोजना बैङ्कको निर्माण गरी प्रादेशिक गौरवका आयोजनाहरुको पहिचान गरिनेछ ।

यस्तै, प्रदेशका जनताहरुको वित्तिय पहुँच अभिवृद्वि गरी पुँजी निर्मणमा सहयोग पुर्‍याउन प्रदेश विकास बैङ्क स्थापनाका लागि आवश्यक प्रक्रिया पूरा गरी सञ्चालन गरिनेछ ।

वीरगञ्जमा प्रविधि विश्व विद्यालय र सप्तरीमा कृषि कलेज स्थापना गरी क्रमशः कृषि विश्व विद्यालय स्थापना गरिनेछ ।

प्रदेश सरकारले महिला सशक्तिकरणका लागि प्रादेशिक महिला आयोग गठन गर्ने लक्ष्य पनि लिएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा धेरै कुराहरु चालू आवकै नीति तथा कार्यक्रमबाट समेटिएको छ ।

‘खेत–खेतमे पानी, हात–हातमे काम’, प्रत्येक पालिकालाई सदरमुकामसँग जोड्ने, प्रादेशिक परिवहन सेवा, संघीयताका लागि आन्दोलन गरेका स्व. गजेन्द्रनारायण सिंह र गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको शालिक निर्माण जस्ता पुरानै नीति तथा कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment