Comments Add Comment

महायज्ञबाट संकलित करिब सवा सात करोड रकम रंगशालालाई हस्तान्तरण

२६ जेठ, चितवन । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आयोजना गरिएको धनधान्याञ्चल महायज्ञ मूल समारोह समितिले संकलित रकम हस्तान्तरण गरेको छ ।

रंगशाला परिसरमा आयोजित एक कार्यक्रमका बीच मूल समारोह समिति संयोजक विजय सुवेदीले रंगशाला निर्माणको नेतृत्व गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई ७ करोड १४ लाखको चेक हस्तान्तरण गरे ।

गत माघ १९ देखि २७ गतेसम्म आयोजना गरिएको महायज्ञबाट बोलकबोलसहित ६९ करोड ४० लाख ५६ हजार रकम संकलन भएको थियो । सो मध्ये संकलित ७ करोड ८९ लाख ७७ हजार ४ सय २८ नगद मध्ये ७५ लाख ९० हजार खर्च कटाएर ७ करोड १४ लाख हस्तान्तरण गरिएको हो ।

महायज्ञमा बोलकबोल रकम ६१ करोड ५० लाख ७९ हजार ४ सय रुपैयाँ उठ्न बाँकी छ ।
बाँकी रकममा अधिकांश सरकारी निकायहरुले बोलेका रकम छन् । सरकारी बोलकबोल रकम ५१ करोड ६० लाख छ भने, निजी क्षेत्रका व्यक्तिहरुले बोलेका ९ करोड ९० लाख उठन बाँकी रहेको महायज्ञ मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिए ।

रकम हस्तान्तरण समारोहमा बोल्दै मूल आयोजक समितिका संयोजक विजय सुवेदीले राष्ट्रिय गौरवको परियोजना गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आयोजना गरिएको महायज्ञले आर्थिक संकलनका साथै नागरिकहरुमा सहयोग गर्नुपर्छ भन्ने भावना र चेतना दुवैको विकास गरेको बताए ।

बाँकी बोलकबोल रकम उठाउनका लागि आफूहरुले पहल लिँदै सहयोग गर्ने बाचा पनि सुवेदीले गरे । धुर्मस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले अहिलेसम्म रंगशाला निर्माणमा भएको प्रगती अहिले लकडाउनका कारणले आएको समस्या लगायतका बिषयमा जानकारी गराए ।

उनले जोखिम र चुनौतीका बीच पनि रंगशाला निर्माणको कामलाई गत वैशाख २० गतेबाट सुरु गरिएको बताए । महायज्ञमा बोलकबोल भएको रकम उठाउन सबैले सहयोग गर्नेपर्ने धुर्मुसले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment