Comments Add Comment

कोरोनामा देश, कोमामा विद्यालय

कोरोनाको अचूक औषधि लकडाउन मात्र देखेको सरकारले भोलिको दिन आकलन गर्न सकेको देखिँदैन । लकडाउनले निम्त्याउँदै गरेको समस्या कोरोनाको गतिभन्दा कति तीव्र होला यो त अनुमान मात्र गर्न सकिन्छ ।

भनिन्छ, दुःख र संकट विनानिमन्त्रणा टुप्लुक्क आउने पाहुना हुन् । सरकारको यस्तो गतिविधिले भोलिका दिनमा कत्तिको असर पार्ने छ, अहिलेलाई सबैले आ–आफ्ना आराध्यदेवकै जिम्मा लगाइदिऔं । आस्तिक जतिले आराध्यदेवको र अन्यले नियतिको जिम्मा लगाएकै ठीक ।

मुलुकमा भएका कतिपय खेतीयोग्य जमिन बाँझै छ । सीमित मात्रामा उत्पादन गरिएका तरकारी खाडल खनेर पुरिन्छ । कतै बारीमै कुहिएको तरकारीमाथि नै हलो चल्छन् । उत्पादित अन्नले बजार भाउ नपाएर किसानले कौडीको मोलमा बिक्री गर्नुपरिरहेको छ । बिचौलीयाको जगजगी छ ।

आधारभूत रुपमा कृषिमा आश्रित हाम्रो अर्थव्यवस्था कोरोनापश्चात के हुने हो ? हामी नेपालीको क्रयशक्ति के हुने हो ? गरिबीको रेखा सगरमाथाभन्दा अग्लो हुने सम्भावना प्रष्ट देखिँदैछ । कमाउन गएका लाखौं युवा धमाधम घर फर्किँदै छन् । स्वदेशमा रोजगारी सिर्जना हुने त कता हो कता सीमित मात्रामा स्वरोजगारी प्रदान गर्दै आएका सयौं प्रतिष्ठानहरू धरासायी बनिरहेका छन् । यिनीहरूले यो महासंकटको घडीमा सरकारसँग सहयोगको याचना गरिरहेका छन् । तर, सरकार याचकलाई मलमपट्टी लगाउने त कहाँ हो कहाँ, व्यवसायीहरूले कर तिरेनन् भनेर उर्दी जारी गरिरहेको छ ।

यस्तो अवस्थामा अब थोरै चिन्ता गरौं कोमामा पुगेको मुलुकको वर्तमान शिक्षाको । अझ विशेषगरी विद्यालय शिक्षाको । जो  हामी जो भुइँमान्छेका रुपमा छौं, उनीहरूले त चिन्तासम्म गर्ने न हो । उनीहरूको चिन्ताको विषय भनेको नै आफू जस्तै गरी छोराछोरी पनि भविष्यमा भुइँ मान्छे नबनून भन्ने हो । ती  मान्छेका छोराछोरीहरूले त सुविधा पाएकै छन् । भोलि पनि उनीहरूले नै सुविधा पाउनलायक मानिसमा दरिन्छन्, यो यथार्थ हो । मुलुकका बालबालिकाहरूले विद्यालय देख्न नपाएको नै चार महिना हुन लागिसक्यो ।

विद्यालयहरूमा पिपल उम्रिएको छ । लेउलाग्दै गरेका छन् । ढोका र झ्यालहरूमा माकुराले थुप्रै पुस्ता उत्पादन गरेर आफ्नो वंश वृद्धि गरिसकेका छन् । तर, हाम्रो सरकार अनलाइन पढाउने निर्देशिका जारी गरेर सिंहमाथि विराजमान छ । जुत्ता चप्पल नलगाई स्कुल जानुपर्ने, आँङ ढाक्ने एकसरो कपडा लगाउन नपाउने, किताबकपी देख्नै नपाउने अनि स्कूल गएमा खाजा खानपाउने आशाबोकेका बालबालिकाहरूले अब गाई भैैंसी, बाख्रा कुखुरासँग घरै बसेर अनलाइन पढ्न पाउने सौभाग्य प्राप्त गर्दैछन् ।

चिनियाँ उखान छ ‘एक वर्षको योजना गरिरहेका छौं भने धान रोप, दश वर्षको योजना गरिरहेका छौं भने बिरुवा रोप, जीवनभरिको योजना गरिरहेका छौं भने नागरिकलाई शिक्षित बनाऊ’ ।

तर वर्तमान विषम परिस्थितिका बाबजुद पनि मुलुकका हजारौं निजी शिक्षाप्रदायक संस्थाहरूले विभिन्न वैकल्पिक उपायहरू खोज्दै शैक्षिक गतिविधिबाट विमूख भइरहेका बालबालिकाहरूलाई सम्पर्कमा ल्याएर उनीहरूको बालमस्तिष्कमा परेको असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा थालेका प्रयासलाई स्वनामधन्य विद्हरूले रडाको मच्चाइदिने क्रमको पनि हामीबीचमा कमी छैन । यो खेती पनि अहिले मौलाइरहेकै छ ।

अर्कोतिर, बालबालिका प्राथमिकतामा भनेर नथाक्ने विद्वानहरूको पनि हामी बीच कमी छैन । तर, जब बालबालिकालाई शैक्षिक गतिविधिसँग जोड्ने कुरा आउँछ, उहाँंहरूलाई सन्निपातको ज्वरोले सताउँछ । ‘भर्चुअल क्लास’ गर्नैहुन्न । यो शुल्क उठाउने बहाना हो । ‘भर्चुअल क्लास’ गरिहाले पनि शुल्क भने उठाउन हुँदैहुँदैन । यो सबै बालबालिकाको पहुँचमा छैन । कसैलाई काखा र कसैलाई पाखा गर्नै मिल्दैन ।

जतिजति ज्वरोले च्याप्छ, उतिउति उहाँहरू बरबराउन थाल्नुहुन्छ । यहाँ चिनियाँ भनाइको त के कुरा बालबालिकालाई अभिमन्यु बनाएर चक्रव्यूहभित्र राख्नमै तल्लीन छौं हामी । हामी विद्यालय शिक्षाको कहालीलाग्दो अवस्थालाई सम्बोधन गर्दै निकास निकाल्न प्रयास गर्नेभन्दा बढी हामी छैन, हुँदैन र सकिँदैन भन्ने अलाप भट्याउनमै मस्त छौं । के छ ? के गर्दा हुन्छ ? र के गरे सकिन्छ भन्ने चिन्तन खै कता अलमलिएको छ ?

सबै अन्योल र धमिलो पानीमा माछा मार्नेहरू सक्रिय भएका छन् । मुलुकको शिक्षा कोमामा छ । बिचरा अभिभावक सरकारको सूचना तथा विज्ञप्तिको प्रतीक्षामा छन् । तर सम्बन्धित मन्त्रालयको सूचना वा विज्ञप्ति बिहान, दिउँसो र साँझको कुन सत्य हो छुट्ट्याउनै मुस्किल छ ।

संकटको बेलाअन्तर मन्त्रालय समन्वय र सम्बन्ध एकादेशको कथा भएको छ । सतहमा देखिने बिग्रह देखाउनैका लागि हुन् कि वास्तविकता ? ठम्याइदिने कसले ? सरकारी र निजी विद्यालयको आ–आफ्नो आत्मसम्मानमा एकैपटक प्रहार हुँदाशिक्षाको अभिभावकत्व लिने मन्त्रालयको साथ र सहयोग थियो वा थिएन भविष्यले बताउला । तर, बिग्रह जति निजी विद्यालयकै सल्लाहमा आएको भनी अनर्गल प्रचार गरी दाबी गर्ने बुझक्कडहरूले स्रोतको पहिचान देखाउने साहस नदेखाउनु आफैँमा झुट ठहर्दैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment