Comments Add Comment

रुपन्देही सामूहिक हत्याकाण्ड : सिंजालीले स्वीकार गरे अभियोग

२८ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या गरेको आरोपमा पक्राउ परेका झसेन्द्र सिंजालीले अभियोग स्वीकार गरेका छन् ।

उनीहरुले आफ्नो चरित्र हत्या गर्ने गरेका कारण त्यसबाट विक्षिप्त भई सबैलाई ठीक लगाउने योजना अनुसार हत्या गरेको उनको दाबी छ ।

तिलोत्तमा–१० मैनहियास्थित गंगादेवी पशु फार्मका तीनजना कामदारसहित स्थानीय दुई किशोरको सोमबार राति सामूहिक हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा सुर्खेतको लेकबेंसी गाउँपालिका–५ का ३१ वर्षीय सिंजालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फार्ममा काम गर्ने माधव मुसहर र उनकी श्रीमती जानकी लगायतले आफ्नो व्यक्तिगत चरित्रमा आक्षेप आउने गरी चरित्रहत्या गरेको र त्यसबारे गाउँमा पनि चर्चा भएपछि आफू विक्षिप्त बन्न पुग्दा सबैलाई ‘ठीक बनाउने’ सोच अनुसार घटना भएको बयान झसेन्द्रले दिएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए ।

जेठ २७ गते राति सबै बसेर मदिरा सेवन गरेका थियौं । सो समयमा पनि उनीहरुले आक्षेप लगाउन छाडेनन् । त्यही आक्षेपका कारण एक्कासी आवेशमा आएर उनीहरुको हत्या गरेको बयान सिंजालीले दिएका छन् । अरु दिन माधव र उनकी श्रीमती छुट्टै घरमा सुत्ने गरेपनि त्यसदिन हत्या गर्ने योजना अनुसार सिंजालीले भैंसी गोठमै बोलाएर मदिरा खुवाएका थिए । ‘सुरुमा सबै जनालाई लठ्ठीले हिर्काएर अचेत बनाएको र फरुवाले हानेर ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ घटनाको अनुसन्धानमा संलग्न प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरक्षिक राजकुमार वैदवारले भने ।

सिंजालीले केही दिन अगाडि मुसा मार्ने विष समेत किनेर राखेको खुलेको छ । अभियुक्त सिंजालीलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तब्य ज्यान मुद्दामा एक हप्ता म्याद थप गरी अनुसन्धान भइरहेका छ भने मृतकहरुको भिसेरा र रगतको नमुना संकलन गरी प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउन लागिएको वैदवारले जानकारी दिए ।

मृतकहरको शवलाई पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको रुपन्देही प्रहरी प्रमुख थापाले बताए । तिलोत्तमा–१० मैनहियास्थित कृष्णबहादुर पुन र रामबहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत रूपन्देही सैनामैना–५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी, फार्ममै बस्ने रमेश भन्ने पोषराज मुसहर र स्थानीय १५ वर्षका करुण चौधरी र १६ वर्षका आशिष थारुको जेठ २७ गते राति हत्या भएको थियो । सिंजाली उक्त फर्ममा काम गर्नुअघि तिलोत्तमा–११ कै शिवपुरस्थित गंगा पशु तथा कृषि फार्ममा श्रीमतीसँग काम गर्थे ।

उनकी श्रीमती मदिराको लतमा फसेकाले बारम्बार झगडा गर्ने गरेकाले काम प्रभावित भएको भन्दै फार्म सञ्चालकले कामबाट निकालिदिएका थिए । पाँच जनाको हत्यामा अहिलेसम्म सिंजाली बाहेक अरुको संलग्नता वा योजनाको कुनै संकेत नभेटिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment