Comments Add Comment

‘उद्धार’ उडानको भाडा नियमितभन्दा चार गुणा महंगो

टिकट काटिसकेकाहरू बिलखबन्दमा

हालै मात्र यूएईबाट नेपाल फर्किएकाहरु ।

२९ जेठ, काठमाडौं । मलेसियाबाट नेपाल फर्किन ३ महिनाअघि रमेश क्षत्रीले २५ हजार रुपैयाँमा टिकट काटे । तर, कोरोना भाइरसको संक्रमण फैलावट रोक्न नेपाल सरकारले अन्तरार्ष्ट्रिय उडानमा रोक लगाएपछि आउन पाएनन् ।

अहिले सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकहरूलाई फिर्ता ल्याउन भनेको छ र नेपाली दूतावासहरूमाथि घर फर्किन चाहनेहरूको विवरण पनि संकलन गरेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासको सूचीमा उनको नाम पनि छ ।

तर हातमा भएको टिकट काम नलाग्ने भयो । अब घर फर्किने हो भने उनले अतिरिक्त रकम खर्चिनु पर्ने भएको छ । ‘मसँग भएको टिकट नेपाल एयरलाइन्सकै हो । तर यसलाई नै काम लाग्ने बनाउन मैले ३८ हजार रुपैयाँ थप्नुपर्ने भएछ,’ रमेशले अनलाइनखबरसँग टेलिफोनमा दुखेसो पोख्दै भने, ‘यहाँ बेखर्ची भएर बसेको दुई महिना बढी भयो, अब कहाँबाट त्यत्रो पैसा ल्याएर टिकट काट्ने ?’

क्षत्रीको भन्दा जटिल समस्या छ, यूएईमा अलपत्र रोहन मगरको । उनीसँग कम्पनीले दिएको दुबई एयरलाइन्सको टिकट हातमा छ । घर फर्किन भनेर नेपाली दूतावासमा नाम पनि टिपाएका छन् ।

तर प्राथमिकता सूचीमा पर्नेनपर्ने टुङ्गो छैन । परिहाले पनि नेपाल एयरलाइन्स वा हिमालय एयरलाइन्सको टिकट काट्नुपर्ने दूतावासका अधिकारीहरूले बताएका छन् । ‘चार्टर्ड फ्लाइटको ६० हजार भाडा तोकिएछ, साहुले दिएको टिकट रद्द गरेर दोब्बर भाडाको अर्को टिकट दिन सक्दिन भन्छ,’ उनी भन्छन्, यदि मैले नै टिकट काटेर आउनुपर्ने भयो भने ऋण गर्नुपर्छ ।’

उनको प्रश्न छ, ‘सरकारले उद्धार गर्न लागेको कि ऋणको खाडलमा हाल्न लागेको ?’

रमेश र रोहन प्रतिनिधि पात्र मात्र हुन् । अहिले विभिन्न श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरू यस्तै समस्या भोगिरेहका छन् । सरकारले समस्यामा परेका आफ्ना नागरिकलाई उद्धार गर्ने भने पनि हवाई टिकट, होटल क्वारेन्टिनलगायतका सबै खर्च आफैँले ब्यहोर्नुपर्ने भनेको छ ।

नेपालीहरूलाई काठमाडौंसम्म ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलान्सलाई चार्टर फ्लाइटको जिम्मा दिइएको छ । नेपाली दूतावासहरूले भाडादर तोकेर नै सूचना निकाल्न थालेका छन् ।

मलेसियाको दूतावासले एक हजार पाँच जनाको प्राथमिकताको सूचीसँगै भाडादर तोकेर सूचना निकालेको छ । दूतावासको सूचीमा रहेका अधिकांशको हातमा नेपाल एयरलाइन्स वा अन्य एयरलाइन्सको टिकट छ ।

तर दूतावासले यसअघि नै टिकट लिइसकेकाहरूको रकम रिफन्ड हुने–नहुने केही जानकारी दिइएको छैन ।

साथै, सरकारले सार्वजनिक गरेको चार्टर्ड उडानको भाडादर हेर्ने हो भने नियमित उडानको भन्दा चार गुणासम्म महँगो छ । मलेसिया र खाडीमा ६० हजारदेखि ९२ हजारसम्म भाडादर तोकिएको छ ।

अन्तर्राष्ट्रिय उडानको भाडादर निश्चित नहुने भएपनि समयमै टिकट काट्ने गर्दा सस्तो पर्न जान्छ । विदेशमा काम गरेर फर्किने कामदारले केही महिनाअघि नै टिकट बुक गर्ने भएकाले निकै सस्तो मूल्यको टिकट पाउने गरेका छन् । अब अप्ठेरोमा परेकाहरु महंगो रकम तिरेर फर्किनुपर्ने भएको छ ।  तिर्न नसक्ने उतै रोकिनुपर्नेछ ।

मलेसियास्थित नेपाली दूतावासले आफ्नो सूचनामा भनेको छ, ‘समयमै टिकट खरिद नगरेमा प्राथमिकता अनुसारपछिका यात्रुलाई टिकट खरिद गर्ने अवसर प्राप्त हुनेछ । पर्याप्त यात्रु नभएमा उडान रद्द हुनेछ ।’

कुन देशका लागि कति भाडा तोकियो ?

देश भाडा (रुपैयाँमा)  अमेरिकी डलरमा
दमाम (साउदीअरब) ७०,८०० ५९०
रियाद (साउदीअरब) ७५,६०० ६३०
जेद्दाह (साउदीअरब) ९२,४०० ७७०
दुबई ६०,००० ५००
आवुदाबी (यूएई) ६०,००० ५००
सारजाह (यूएई) ६०,००० ५००
क्वाललम्पुर (मलेसिया) ६२,४०० ५२०
दोहा (कतार) ६५,४०० ५४५
जोर्डन ९७,८०० ८१५
ओमन ६१, २०० ५१०
बहराइन ६५,४०० ५४५
कुवेत ६८,४०० ५७०
साइप्रस १,०५,००० ८७५
नारिता (जापान) १,१२,२०० ९३५
सुडान १,१२,८०० ९४०
फ्याङकर्फट (जर्मनी) १,५०,६०० १२५५
लन्डन (बेलायत) १,६२,००० १३५०
बैंकक (थाइल्यान्ड) ४६,८०० ३९०
हङकङ ६६,००० ५५०
माल्दिभ्स ७१,४०० ५०५
श्रीलंका ४८,००० ४००
बंगलादेश १९,८०० १६५
नयाँ दिल्ली २४,६०० २०५
मुम्बइ ३७,२०० ३१०
बैगलोर ४०,२०० ३३५

मलेसियास्थित नेपाली दूतावासको सूचना हेर्नुस्
यो पनि पढ्नुहोस श्रम गन्तव्य मुलुकका दूतावासहरूको प्रस्ताव–व्यावसायिक उडान नै खोलौं
यो पनि पढ्नुहोस विदेशमा अलपत्र नेपालीको पीडा हेर्ने कि हातको पैसा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment