Comments Add Comment

लकडाउनपछिको सहर र साइकलयात्रीको लागि गर्नुपर्ने तयारी

गत जुन ३ मा तेस्रो विश्व साइकल दिवस सबै साइकलप्रेमी र वातावरणप्रेमीहरूले मनाए । यही समयताका कोरोना भाइरसका कारण विश्वका कैयौं देशका उच्च पदस्थहरूले समेत साइकलप्रेम प्रदर्शन गरे ।

जसले साइकललाई अपरिहार्य आवश्यकताको रुपमा परिभाषित गर्न समेत मद्दत पुग्यो । कोभिडका कारण विश्वभरका सहरहरूमा यसअघि कहिलै नदेखिएको तीव्र परिवर्तनहरू देखिएका थिए ।

कोभिडको फैलावट रोक्न गरिएको लकडाउनसँगै विश्वभरि अनुमानित तीन अर्ब मानिसले कुनै न कुनै रुपमा आवागमनविहीन भएर बस्नु परेको विभिन्न तथ्यांकहरूले देखाएका छन् ।

यसले विशेषत: सहरी क्षेत्रका मानिसहरूमा अकल्पनीय परिवर्तन ल्याएको छ । त्यो हो सहरी भेगको वायुप्रदूषणमा आएको उल्लेखनीय कमी । यतिबेला वायुप्रदूषणमा आएको कमीका कारण आकाश स्वच्छ बनेको छ भने सडकहरू चम्किएका छन् । त्यस्तै, सहरहरूमा देखिएका चराको चिरबिर र कोकिलका गीतहरू यसअघि सायदै सुन्न पाइएको थियो । मानौं, मानिसहरू घरभित्र थुनिँदा यता प्रकृतिबाहिर निस्किन पाएकी छन् ।

लकडाउन बिस्तारै खुकुलो पारेसँगै पुन: कार, मोटरगाडीको आधिपत्यले सडकहरू खुम्चिने र स्वच्छ वायु र वातावरण पुन:प्रदूषित हुने त होइन ? भन्ने बारेमा सबैजसो सहरवासी र नेतृत्व चिन्तित हुँदैगर्दा धेरैजसो युरोपियन र विकसित सहरहरूले केही आमूल परिवर्तन ल्याउने निर्णय गरेका छन् । महामारीमा सार्वजनिक यातायातका साधनहरूमा सामाजिक दुरी लागु गर्ने व्यवस्थापन खोजिरहेका छन् ।

मेट्रो र बसहरूमा सामाजिक दुरीको नियम पूर्ण प्रभावकारी हुनेबारे विश्वास गर्न गाह्रो छ । लन्डन मेट्रोमा सामाजिक दुरी र मास्क नलगाई मानिसहरू यात्रा गरेको खबर बीबीसीको रिपोर्टिङमा आएको थियो । मेट्रोका कर्मचारीका अनुसार अध्ययनका क्रममा ९% यात्रीले मात्र मास्क लगाएको पाइएको थियो भने प्रायले सामाजिक दुरीसम्बन्धी गाइडलाइन अपनाएका थिएनन् । त्यहाँ केही दिनअघि मात्र पब्लिक बस ड्राइभर ईश्रत अली कोभिड १९ को संक्रमणका कारण मरेको खबर आएसँगै ज्यान गुमाउने बस ड्राइभरहरूको संख्या ३३ पुगेको छ । अफिस अफ नेसनल डाटाले बस ड्राइभरहरूको मृत्युको ग्राफ नेसनल हेल्थ वर्करहरूको भन्दा ५ गुणा धेरै रहेको उल्लेख गरेको छ ।

त्यस्तै, रेलवे र मेट्रोका ११ जना कर्मचारीको पनि कोभिड १९को संक्रमणका कारण मृत्यु भएको छ । यी मृत्युका कारण त्यहाँको सरकार पनि धेरै दबाबमा थियो । बस ड्राइभरहरूले सरकारको कमीकमजोरीको विरोध गर्न सुरु गरेका थिए।

दुई पटक लण्डनको मेयर बनेका बोरिस जोनसन अहिले ब्रिटिस प्रधानमन्त्रीको रुपमा छन् । उनी मेयर हुँदा उनले लन्डनलाई साइकल सिटीको रुपमा विकास गर्न धेरै योजनाहरू ल्याए । उनले आफ्नो कार्यकालमा सहरलाई अभूतपूर्वरुपमा विकास गरेका थिए । उनकै योजनाका कारण लण्डन सहर साइकलमैत्री मात्रै भएन त्यहाँ सडक दुर्घटना, वायुप्रदूषण कम गरी लण्डन र लण्डनवासीको जीवनशैलीमा सुधार समेत आयो ।

लकडाउनमा देखिएको स्वस्थ वातावरणलाई यदि बरकारार राख्ने हो भने स्पष्ट छ सरकारहरूले विषेश कदम चाल्नु आवश्यक छ । सहरी यातायात प्रणाली र नीतिमा अन्य प्राथमिकता अबको समयमा सस्टेनेबल यातायातलाई यदि प्रोत्साहन गरिएन भने हाम्रो सहरले लकडाउनपछिको वायुप्रदूषण, सडक जाम र दुर्घटनाको आतंक भोग्नुपर्नेछ ।

तिनै जोनसनको लिगेसी बोकेर हालका मेयर साडिक खानले मेयरभएको समयदेखि नै साइकलसिटीको रुपमा विकास गर्नको लागि लन्डनमा दुई गुणा बजेट विनियोजन गरेका छन् ।

प्रधानमन्त्री बोरिसले मे ६ मा संसदलाई सम्बोधन गर्दै कोरोना महामारीबाट बच्नको लागि काममा जाँद सार्वजनिक सवारीको साटो अन्य उपाय अपनाउन आग्रह गरेका थिए । उनले त्यसको लागि सरकारी योजना समेत तयार भइरहेको उनले बताएका छन् ।

उनको संकेत साइकलयात्रीको प्रोत्साहत तर्फ केन्द्रित थियो । यदि त्यस्तो भयो भने त्यो साइक्लिङको लागि गोल्डेन युग हुने विश्वभरका साइकलप्रेमीहरूले विश्वास लिएका छन् । जोनसनले कोरोना भाइरससँग लड्नको लागि तयार पारेको रणनीतिक कार्यक्रममा साइक्लिङलाई प्रमुख स्थानमा राख्ने तयारी भइरहेको बताएका थिए ।

यसलगत्तै मे ९ मा ट्रान्सपोर्ट सेक्रेटरी ग्रान्ट साप्सले २.५ अर्ब पाउण्डको इमर्जेन्सी एक्टिभ ट्राभल फण्ड घोषणा गरे । जुन फण्डबाट बेलायतभर केही हप्ताभित्रै सक्नेगरी साइकल लेन एवं पैदलयात्रीलाई सहज हुनेगरी सडक बनाउने तयारी भइरहेको छ । ‘अहिले आपतकालीन समयमा लाखौं मानिसहरूले साइकललाई व्यायामदेखि सुरक्षित र सामाजिक दुरीयुक्त यातायातका साधनको रुपमा प्रयोग गरेका छन् ।’ सेक्रेटरीले ग्रान्ट्सले भनेका छन् ।

लण्डनका मेयर साडिक खान र ‘ट्रान्सपोर्ट फर लण्डन’ ले संयुक्त रुपमा गत मे ६ मा ‘लण्डन स्ट्रिटस्पेस’ कार्यक्रम घोषणा गरे । यस कार्यक्रमअन्तर्गत् लकडाउन खोलेपछि सम्भावित १० गुणा साइकलको लागि र ५ गुणा पैदलयात्रीका सडकहरू बढाउन लागिएको छ । लण्डनका सडकहरूको रुपान्तरित स्वरुप फास्ट-ट्र्याकको मापदण्ड अनुरुपको हुनेछ भने सामाजिक दुरी कायम गर्न महत्वका साथ साइकल लेनहरूलाई स्थान दिइनेछ । साथै, चौडा फुटपाथ पेभमेन्ट पनि तयार गरिँदैछ । साइकलयात्रा र पैदलयात्रामा प्रोत्साहन गर्दै बस र मेट्रोमाथिको दबाब कम गर्न यस्तो योजना बनाइएको सरकारी अधिकारीहरू बताउँछन् ।

मध्यलण्डन विश्वकै सबैभन्दा ठूलो कारमुक्त क्षेत्रमध्ये एक बनेको छ । जहाँ लाखौं मानिसहरूले अहिले साइकल चलाउन वा हिँड्न नै सुरक्षित महसुस गर्न थालेका छन् ।

त्यहाँ सहरमा रहेको कारको निर्भरतालाई हटाउनको लागि पनि साइकलयात्रीलाई प्रोत्साहन गर्न लागिएको बताइएको छ । जुन स्वास्थ्यको लागि समेत महत्वपूर्ण छ ।

ब्रिटेनले २०३० सम्ममा कार्बन ईमिसन घटाउने लक्ष्य लिएको छ । सोही योजना सफल बनाउन पनि साइकलयात्रीलाई गरिने प्रोत्साहन महत्वपूर्ण हुने त्यहाँको सरकारी अधिकारीहरूको बुझाइ छ ।

पेरिसका मेयर एने हिडाल्गो, ब्रसेल्सका यातायातमन्त्री ईल्के भान डन ब्रान्ड्ट, लण्डनका मेयरका साडीक खान, मिलानका मेयर बेप्पे साला र उपमेयर मार्को ग्रानेली, रोमको मेयर भर्जिनिया रागी, बार्सिलोनाका मेयर आदा कोलाउ, उपमेयर जानेट सान्ज, काउन्सिलर अफ मोबिलिटी रोजा अलारकन, बर्लिनमा सिनेटर अफ ट्रान्सपोर्ट, रेगिने गुन्थर (ग्रीन पार्टी) र बेलायती प्रधानमन्त्री बोरिक जोनसोनले आफ्ना सहरमा साइकलयात्री र बटुवालाई प्रोत्साहन गर्न खेलेको भूमिका उल्लेखनीय छ । डच र डेनिस सहरहरूको कुरै नगरौं । उनीहरू साइकल, बटुवा र ह्विलचियरमैत्री सहरका मानक हुन् ।

गत ११ मेबाट लकडाउन खोलेको पेरिसमा सार्वजनिक सवारी कम गर्न र कार मोटरगाडीहरूको आधिपत्यलाई नियन्त्रण गर्न आक्रामक रणनीतिक योजनाहरू ल्याइएको थियो । पेरिसले ७५० किमीको साइकल लेन योजना यसअघि सम्पन्न गरिसकेको थियो । लकडाउनका बेलामा साइकल लेन फराकिलो बनाउन पेरिसको नेतृत्व खुलेर लागेको छ ।

पेरिसका मेयर एने हिडाल्गो आफैँ पनि साइकलप्रेमी हुन् । उनले एक पटक भनेका थिए ‘म एउटा साइकलप्रति समर्पित लामा सडकखण्ड (एक्सिस) चाहन्छु र जसमा अन्य बस, ट्याक्सी, इमरजेन्सी भेहिकल र क्राफ्टम्यान भेहिकलहरूलाई पनि प्रवेश अनुमति हुनेछ, तर कारलाई होइन ।’

मेयर ऐने हिडाल्गोले कोरोना महामारी हुनुअघि नै सन् २०२४ सम्ममा पेरिसका हरेक सडकबाटाहरू साइकलमैत्री गर्ने संकल्पसहित ‘प्लान भेलो’ योजना ल्याएका थिए । लकडाउन खोलेसँगै कारहरूको अत्यधिक प्रयोगले पेरिसका सडकहरू ग्रिडलकमा फस्ने र वायुप्रदूषण अचाक्ली हुने अनुमान गर्दै ‘प्लान भेलो’ लाई लकडाउनकै बेला अझ थप सक्रियताका साथ अघि बढाएका थिए।

पेरिसमा लकडाउन मे ११ देखि खोलिएको छ। लकडाउनपछि पेरिसको आवागमन चुस्त राख्न र पेरिसवासीहरूलाई सक्रिय र स्वस्थ ट्राभलमा प्रेरित गर्न २० मिलीयन युरोको योजना ल्याइएको छ ।

रजिस्ट्रर्ड साइकल स्टोरहरूमा साइकल बनाउनको लागि ५० युरोको अनुदान दिइएको छ । यो नागरिकको लागि दिइएको अनुदान हो । पेरिसवासीलाई साइकल सिक्न र प्रशिक्षणको लागि यस बजेटबाट खर्च दिइन्छ । पोप-अप (तत्काल बनाउन सकिने) साइकल लेन र साइकल पार्किङहरूको निर्माण अत्याधिक गरिएको छ । प्राय: सडकका कार स्पेसहरूलाई घटाएर ५० किमी पप-अप साइकललेन निर्माण केही दिनभित्रै सकिएको थियो ।

प्रमुख रोडहरू रूए डे रिभोली र रूए सेन्ट एन्टोनी, पूर्वपश्चिम रुटलाई प्राइभेट कार, गाडीहरूका लागि सिलगरेर त्यसमा ५० माइलको थप साइकललेन निर्माण योजना बढेको छ । केही वर्षअघि पेरिसका मेयरले भीले डु क्वार्ट ऊरे अर्थात १५ मिनेटको सिटी योजनाको बृहत् योजना ल्याएका थिए। यस कार्ययोजनामा कारजस्ता निजी साधनहरूलाई बन्द या निरुत्साहित गर्दै सहरवासीलाई १५ मिनेटको हिँडाइ या साइक्लिङ गरेर आफ्ना दैनिक सेवाहरू, किनमेल बजार, स्कुल, कलेज, थिएटर, हस्पिटलजस्ता सेवाहरू लिन सक्नु हो । लकडाउन समयमा यी द्रूतगतिमा कार्य गर्ने मौकालाई सदुपयोग गर्दै खटेका मेयर र उनको टिमको उत्साह प्रशंसायोग्य थियो ।

ब्रसेल्स विगतमा ट्राफिक जाम र सुन्दर पार्कहरूलाई कारले बिथोलेको दृष्यहरू र वायुप्रदूषण र कार, गाडीहरूले अतिक्रमित साइकल लेनहरूका दृष्यहरूले कुरूप बनेको ब्रसेल्स सहर अहिले लकडाउनसँगै युटर्न भएको थियो । यसका लागि कोरोना भाइरस लकडाउनको समयमा नयाँ योजनाहरू किकस्टार्ट गर्दै ४० किमी साइकल लेन थपिए ।

सहरका धेरैजसो महत्वपूर्ण भागहरू कार र सवारी साधन मुक्त गरिएको छ र सम्पूर्ण सहरमा कार, गाडीहरूलाई २० किमी प्रतिघण्टाको सीमीत गति नियम लागु गर्दै युरोपको राजधानी ब्रसेल्स साइकल, व्हिलचेयर र पैदलमैत्री बनेको छ । यसअघि त्यहाँ नै साइकललेनको राम्रो नेटवर्क खडा गरिएको छ ।

लिभरपुल मेयर जोय एन्डेरसनले २ मिलियन पाउण्डको प्याकेज लिभरपुल सिटीसेन्टर भित्र र अन्य प्रमुख रुटहरूमा १०० किमीको पपअप साइकल लेनको विकास गर्न स्वीकृत गरेका छन् ।

स्कटिस सरकारले ग्रेटर मेनचेस्टरमा एक करोड पाउण्डको इमरजेन्सी फन्डिङ घोषणा गर्दै साइकल लेन, फुटपाथको थप विकास गरिँदैछ । मेनचेस्टरको भित्रीभाग ‘डिन्सगेट’ क्षेत्र मोटरगाडी र कारहरूका लागि बन्द गरिएको छ । न्युकास्टलको ग्रेट्स्ट्रिटका कार पार्किङ स्पेसहरू हटाएर साइकल लेन र बटुवाहरूको लागि थप स्पेस छुट्टाएको छ।

रातारात बर्लिनमा २२ किमीको थप साइकल लेन तयार गरियो । हँगेरीको बुडापेस्टका व्यस्त सडकहरू २० किमीको थपसाइकल लेन गतमहिनाको अन्तमा तयार गरिएको छ। अल्बानियाको टिराना, माल्टाको भालेट्टा सहरमा कम्युटिङ जोन तयार भएको छ।

ग्रीसको एथेन्सको मेयर कोस्टास बाकोयानिस, जो एथेन्सको अहिलेसम्मकै कान्छो मेयर हुन् । केही दिनअघि महत्वाकांक्षी कायाकल्प योजना अघिसारेका छन् । मेयर बाकोयानिसले एथेन्सको ५० हजार वर्गमिटर क्षेत्रफलको पब्लिक स्पेश साइकल र पैदलयात्रीहरूका लागि छुटाएका छन् ।

सम्पूर्ण युरोप आज वातावरणीय संकट र कोरोना भाइरस संकटलाई एउटै आँखीझ्यालबाट हेर्न थालिरहेको देखिन्छ । हाम्रा सबै कर्महरूको नतिजा कोरोना क्राइसिस हो । यस क्राइसिसले पीडाग्रस्त र संकटग्रस्त पक्कै छ । तर पाठ पनि पढाइरहेको छ । हाम्रो जीवनशैलीलाई परिवर्तन गर्न सकिन्छ र यो र्‍याडिकल डिसीजन लिएर पाराडाइम सिफ्ट गर्न सकेनौं भने कोरोना कहरहरूको सिलसिला रोकिनेवाला छैन। यसको ठूलो मूल्य निकट भविष्यमा मानव जगत विशेष गरेर हाम्रा छोरानातीहरूले निश्चितरुपमा भोग्न बाध्य हुनेछ ।

विश्व बैङ्कको २०१९ को अध्ययन रिपोर्टअनुसार पार्टिकुलेट वायुप्रदूषणको एक्सपोजरको आधारमा नेपाल विश्वकै प्रदूषित देशमा पर्छ । वर्षौंदेखिको हामीले भोगिरहेको धुवाँधुलोको स्तरले यसलाई पुष्ट्याउँछ नै ।

लकडाउनमा देखिएको स्वस्थ वातावरणलाई यदि बरकारार राख्ने हो भने स्पष्ट छ सरकारहरूले विषेश कदम चाल्नु आवश्यक छ । सहरी यातायात प्रणाली र नीतिमा अन्य प्राथमिकता अबको समयमा सस्टेनेबल यातायातलाई यदि प्रोत्साहन गरिएन भने हाम्रो सहरले लकडाउनपछिको वायुप्रदूषण, सडक जाम र दुर्घटनाको आतंक भोग्नुपर्नेछ । अधिकाधिक मानिसहरू पब्लिक यातायातको प्रयोग छाडेर निजी कार, मोटरसाइकल आदिको प्रयोग गर्नेछन् । जसले उपत्यकामा ह्वात्तै निजी कार र मोटरसाइकल बढ्ने पक्का छ । लकडाउनको समयमा सडक विभागबाट सडकहरूमा धेरै मर्मतसम्भार गरिएको थियो । तर फुटपाथहरूमा खासै ध्यान दिइएन । सडक बाटाहरू चिल्लो देखिएको छ । लकडाउनपछि हाम्रा सडकहरू ग्रिडलकमा फस्ने पक्कापक्की छ भन्ने कुरा केही दिनअघि हल्का खोलिइएको लकडाउनको समय देखिएका ट्राफिक जामका दृष्यहरूले इङ्कित गरेको छ । लकडाउनपछि काठमाडौं उपत्यकालगायत देशका सहरहरूमा अब पुन: वायुप्रदूषण, ट्राफिक कन्जेसन र दुर्घटनाहरूको आतंकले कोरोनाको आतंक झनै भयावह बनाउने छ ।

सन् २०२० भित्र कुल सवारीमध्ये २० प्रतिशत विद्युतीय बनाउने सरकारकै नीति थियो । वागमती प्रदेशको २०३० सम्ममा पेट्रोलियम सवारीसाधन हटाइसक्ने नीतिविरुद्ध हालको बजेटमा विद्युतीय सवारीसाधनमा ८०% कर बढाउनु धेरै लज्जास्पद छ । यस्तो परिस्थितिमा पनि सरकारी बजेटमा कोरोना-क्राइसिसको समयमा लकडाउनपछिको तयारीबारे कुनै कार्यक्रम नआउनु नेपाल सरकारको नेतृत्वमा रहेकाहरूको संवेदनहीनताको चासो कता छ ? भन्ने स्पष्ट भएको छ । अत: सरकारले पुन: गम्भीररुपमा यस विषयमा सोच्‍दै कार्यक्रमहरू ल्याउनु नै बुद्धिमानी ठहरिने छ ।

(श्रेष्ठ नेपाल साइकल सोसाइटीका अध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment