Comments Add Comment

रुकुम पश्चिम घटनाको संसदीय छानबिन समितिले काम थाल्यो

२९ जेठ, काठमाडौं । रुकुम पश्चिममा ६ जना युवकको हत्याको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिले काम सुरु गरेको छ ।

समितिका सदस्यहरुले बिहीबार सिंहदरबारस्थित कार्यलयमै पुगेर सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् । भेटपछि संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले प्रारम्भिक छलफल सुरु गरिएको बताए ।

उनले पत्रकारहरुसँग भने, ‘अनौपचारिक रुपमा त पहिले पनि कुरा गरेका थियौं र आजबाट औपचारिक रुपमा प्रारम्भिक छलफल सुरु गरेका छौं ।’

सांसद पौडेलले अब कार्यविधि बनाएर अगाडि बढ्ने बताए । कार्यविधि र कर्मचारी व्यवस्थापनलगायतका विषयमा समितिले बिहीबार सभामुख सापकोटासँग छलफल गरेको हो ।

समितिलाई आफैं कार्यविधि बनाएर लागू गर्ने अधिकार दिइएको छ ।

प्रतिनिधि सभाको जेठ २६ गतेको बैठकमा समिति गठनको औपचारिक जानकारी दिइएको थियो । समितिलाई एक महिनाको समय दिइएको छ ।

समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विसुंखे, प्रकाश रसाइली (स्नेही), बिमला बिक., महेश्वरजंग गहतराज (अथक), मीनबहादुर विश्वकर्मा, र रामसहायप्रसाद यादव सदस्य छन् ।

मल्ल थरकी केटीसँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज विकसहित ६ जनाको यही जेठ १० गते हत्या भएको छ ।

उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने प्रमुख विपक्षी नेपाली कांग्रेसको निरन्तर दबाबमा प्रतिनिधि सभाले संसदीय छानबिन समिति गठन गरेर अनुसन्धानको जिम्मेवारी दिएको हो ।

असार लागेपछि घटनास्थल जाने

छानबिन समितिले असार पहिलो हप्ता घटनास्थल जाने तयारी गरेको छ ।

प्रतिनिधिसभामा सरकारको निशान छाप अद्यावधिक गर्नेसम्बन्धी संविधान संशोधन विधेयक विचाराधीन छ । उक्त विधेयक पारित गरेर मात्र घटनास्थल जाने समिति संयोजक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment