Comments Add Comment

तनहुँका स्थानीय तहले संयुक्त लगानीमा पीसीआर मेसिन खरिद गर्दै

३० जेठ, दमौली । तनहुँ जिल्लाका स्थानीय तहको संयुक्त लगानीमा कोरोना भाइरस संक्रमणको पीसीआर विधिबाट परीक्षण गर्ने उपकरण खरिद गरिने भएको छ ।

कोभिड–१९ को नियन्त्रण, उपचार तथा व्यवस्थापन गर्ने क्रममा क्वारेन्टिनमा रहेका व्यक्तिको पीसीआर परीक्षणमा ढिलाइ भएपछि जिल्लाका स्थानीय तहले सो उपकरण खरिद गर्न लागेका हुन् ।

बिहीबार बसेको स्थानीय तहका प्रमुखसहितको बैठकले सो उपकरणसहितको पूर्वाधार निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गर्ने र उक्त बजेट स्थानीय तहबाट खर्च व्यहोर्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समिति (जिसस) तनहुँका प्रमुख शान्तिरमण वाग्लेका अनुसार उक्त कार्यका लागि शुक्लागण्डकी नगरपालिकाले १४ लाख, व्यास नगरपालिकाले १२ लाख, भानु नगरपालिकाले १२ लाख, भीमाद नगरपालिकाले १२ लाख, म्याग्दे गाउँपालिकाले नौ लाख, आँबुखैरेनी गाउँपालिकाले नौ लाख, बन्दीपुर गाउँपालिकाले नौ लाख, ऋषिङ गाउँपालिकाले नौ लाख, घिरिङ गाउँपालिकाले नौ लाख र देवघाट गाउँपालिकाले पाँच लाख रुपैयाँ खर्च व्यहोर्नेछन् ।

क्वारेन्टिनमा बसेकाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी पोखरा पठाउनुपर्ने र पोखरामा परीक्षणमा ढिलाइ हुने गरेकाले जिल्लामै उपकरण राखेर कोरोना परीक्षणका लागि स्थानीय तह अग्रसर भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

‘गण्डकी प्रदेशको पोखरामा मात्रै पीसीआर परीक्षण हुँदा रिपोर्ट आउन ढिलाइ भइरहेको छ, जिल्लामै उपकरण राखेर परीक्षण गर्न सके सहज हुन्छ’, उनले भने, ‘सोही कारण सबै स्थानीय तहको सहभागितामा उपकरण खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।’

सरकारले तोकेको मापदण्डबमोजिम पीसीआर परीक्षण गर्ने उपकरण खरिद गरी आवश्यक पूर्वाधार निर्माण गर्ने जिम्मेवारी शुक्लागण्डकी नगरपालिकालाई प्रदान गरिएको छ ।

पीसीआर परीक्षणका लागि प्रयोगशाला शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा स्थापना गरिनेछ । पीसीआर प्रयोगशालाका लागि आवश्यक जनशक्ति गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसँग माग गर्ने निर्णयसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment