Comments Add Comment

नेपाल भारत सीमामा झडप : सशस्त्र प्रहरीको गोलीबाट एक भारतीयको मृत्यु

हतियार खोसेर भाग्ने प्रयासले निम्त्याएको घटना

३० जेठ, जनकपुरधाम । सर्लाहीको नारायणपुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच शुक्रबार भएको झडपमा गोली लागेर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

लकडाउन कार्यान्वयनका लागि सरकारले नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई खटाएको छ । सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा पनि सशस्त्र प्रहरीको फरवार्ड बेसमा त्यहाँ ९ जनाको टोली खटाइएको छ ।

शुक्रबार बिहान त्यही झडप भएको हो । बिहान ९ बजेतिर ३ जना भारतीय नागरिक नेपालतर्फ प्रवेश गरेका थिए । सशस्त्र प्रहरीले रोक्दा एक जनाले थप्पड हिर्काएर भारततर्फ गएको सशस्त्र प्रहरीका एआईजीपी नारायणबाबु थापा बताउँछन् । केही क्षेत्रमा ठूलो संख्यामा मानिसहरु आएर ढुंगामुढा गरेका थिए ।

उनीहरुले हतियार खोस्ने प्रयास गरेका छन् । एआईजीपी थापा भन्छन्, ‘हाम्रा सुरक्षाकर्मीहरुले १० राउण्ड हवाई फायर गरे । तैपनि ढुंगामुडा गर्न नछाडेपछि हतियारको सुरक्षा र आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो ।’

सशस्त्र प्रहरीले ५ राउण्ड गोली चलाएको थियो । गोली लागेर एक जननको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । झडपमा सशस्त्र प्रहरीका तीन जना पनि गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्लामै उपचार भइरहेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए ।

घटना दुःखद भएको एआईजीपी थापाले बताए । ‘उनीहरु बलजफ्ती प्रवेश गर्न नखोजेको भए यस्तो घट्ना हुँदैनथ्यो’ उनले भने, ‘अहिले स्थिति सामान्य बन्दैछ ।’

नारायणपुरमा थप सुरक्षाकर्मी पठाइएको छ भने दुबै देशका सुरक्षा अधिकारीहरुबीच सम्वाद चलिरहेको छ ।

बारम्बार नेपाल प्रवेश गर्ने प्रयास

सरकारले चैत १० बाट अन्तराष्ट्रिय सीमा नाकाहरुमा आवागमन बन्द गरेको छ । भारतबाट फर्किने नेपाली नागरिकहरुका लागि २० वटा नाका तोकिएको छ ।

तर तराई मधेसका जिल्लाहरुमा भारतीय नागरिकहरुले पटकपटक बलजफ्ती नेपाल प्रवेश गर्ने प्रयास गरेको पाइएको छ । १८ जेठमा  सर्लाहीकै विष्णु गाउँपालिका-२ पकडी हुँदै भारतीय नागरिक बलजफ्ती नेपाल प्रवेश गर्न खोजेका थिए । उनलाई रोक्दा नजिकैको गाउँबाट ५० जना जतिलाई बोलाएर आक्रमण गर्न खोजेपछि सशस्त्र प्रहरीलाई हवाई फायर गर्नुपरेको थियो ।

बाराको सुर्वण गाउँपालिका ३ स्थित कबही गोठ हुँदै दुई जना भारतीय नेपाल आउन खोजे । तर, उनीहरुलाई रोक्दा भारततर्फबाट मानिसहरु बोलाएर नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा नै आक्रमण गर्न लगाए । २५ बैशाखमा भएको यो घटनामा पनि सशस्त्र प्रहरीलाई हवाई फायर गर्नुपरेको थियो । त्यसअघि बाराकै विश्रामपुर ४ बलिरामपुरमा खेतमा गएका स्थानीयलाई भारतीय सुरक्षाफौजले रोक्दा तनाव भएको थियो ।

गुट्खाजन्य र रक्सीको तस्करी

कोरोना संक्रमणबाट बच्न नेपाल र भारत दुबैले सीमामा कडाई गर्दै आवतजावतमा रोक लगाएको छ । तर भारतीयहरु नेपाल छिर्नुको कारण हो, उताबाट गुटखा र सुर्तीजन्य पदार्थ बोकेर नेपाल पस्ने तथा यताबाट रक्सी लिएर जाने ।

लकडाउनको समयमा भारतबाट नेपाल आउन चाहने अधिकांश व्यक्ति तस्करीमै संलग्न भएको देखिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले पनि तस्करीमा संलग्न भएकाहरु नै बलजफ्ती आउन खोजेको बताए ।

लकडाउनको समयमा चोर बाटो प्रयोग गरेर भारतीयहरुले अवैध कारोबार गर्न खोजेको देखिएका छन् । वैशाखको अन्तिम साता सप्तरीबाट एकजना भारतीय युवक नगद ९ लाख रुपैयाँँसहित  पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment