+
+
Shares

नेपाल-भारत सीमा सुरक्षा बैठक : लागुऔषधदेखि नेपाली किसान पक्राउ परेका विषयमा छलफल

महोत्तरीमा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठकमा लागुऔषध, तस्करी, मानव बेचबिखन, अवैध आप्रवासनदेखि सीमा स्तम्भ व्यवस्थापनसम्मका विषयमा छलफल भएको हो ।

विजयकुमार सिंह विजयकुमार सिंह
२०८३ भदौ ६ गते २०:४८

६ भदौ, महोत्तरी । सीमापार अपराध र अवैध गतिविधि नियन्त्रण गर्न नेपाल र भारतका सीमावर्ती प्रशासन तथा सुरक्षा अधिकारीबीच सहकार्य थप मजबुत बनाउने सहमति भएको छ ।

शनिबार महोत्तरीमा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठकमा लागुऔषध, तस्करी, मानव बेचबिखन, अवैध आप्रवासनदेखि सीमा स्तम्भ व्यवस्थापनसम्मका विषयमा छलफल भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतको सीतामढीका डीएम तनय सुल्तानियाको संयुक्त अध्यक्षतामा भएको बैठकमा अघिल्लो बैठकका निर्णय तथा प्रगतिको समेत समीक्षा गरिएको थियो ।

बैठकमा महोत्तरी, सर्लाही र रौतहटका प्रशासनिक तथा सुरक्षा अधिकारीसहित सीतामढीका सुरक्षा अधिकारी र प्रतिनिधि सहभागी थिए ।

बैठकमा सीमापार हुने लागुऔषधको अवैध कारोबार नियन्त्रणलाई प्राथमिकताका साथ उठाइएको अधिकारीहरूले बताएका छन् ।

यस्तै, अपराध तथा तस्करी नियन्त्रण, अवैध हतियार र गोलीगठ्ठाको ओसारपसार रोक्ने, चोरी भएका सवारीसाधन तथा चोरीका सम्पत्ति सीमापार हुन नदिने विषयमा दुवै देशका सुरक्षा निकायबीय समन्वय गर्ने सहमति भएको महोत्तरीका प्रजिअ यादवले बताए ।

यस्तै, आवश्यकताअनुसार सम्बन्धित निकायबीच सूचना आदानप्रदान तथा संयुक्त टोलीमार्फत निगरानीका प्रयास अघि बढाउने विषयमा समेत छलफल भएको उनले जानकारी दिए ।

बैठकमा नेपालका किसान मल लिन भारतमा जाँदा पक्राउ परेको विषय पनि नेपाली अधिकारीले उठाएका थिए । उक्त घटनाबारे भारतीय पक्षले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने र आगामी दिनमा सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको प्रजिअ यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?