Comments Add Comment

कैलालीको नेपाल–भारत सीमामा बढ्यो सशस्त्र प्रहरीको निगरानी

३२ जेठ, कैलाली । कैलाली जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।

सीमा अतिक्रमण रोक्न, अवैध ढंगले नेपाल भारत प्रवेश गर्न नदिन, अवैध क्रियाकलाप नियन्त्रण गर्न, चोरी निकासी बन्द गर्न तथा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ ।

१०१ किलोमिटर खुल्ला सिमाना रहेको कैलालीमा पछिल्लो समय ६ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । पछिल्लो एक सातामा मात्रै ५ वटा बीओपी स्थापना गरेको सशस्त्र प्रहरीको नम्बर ३४ गणका प्रमुख एसपी कमलप्रसाद तिमिल्सिनाकाले बताए ।

सीमा क्षेत्रमा हुने समस्या नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाएको उनले बताए । ‘नेपाल–भारत सीमामा थुप्रै समस्या छन् । ती समस्या अन्त्यका लागि सरकारले बीओपी बढाउने निर्णय गरेको हो,’ उनले भने ‘कैलालीमा पनि बीओपीको संख्या बढेको छ । अब सीमा सुरक्षा एवं सीमा क्षेत्रका नागरिकले सुरक्षाको प्रत्याभूति गर्ने छन् ।’

गत ३० मंसिरमा नेपालमा ११४ वटा नयाँ बीओपी स्थापना गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो । सोहीअनुसार कैलालीमा थप ६ वटा बीओपी स्थापना गरिएको हो । यसअघि जिल्लाको फूलबारी, भजनी र खक्रौलामा तीन वटा मात्रै पोष्ट थियो ।

पछिल्लो एक सातामा कैलारी गाउँपालिका ७ भुइँयाफाँटा, धनगढी उपमहानगरपालिका ९ बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका ३ खोनपुर, भजनी नगरपालिका ७ हिक्मतपुर र टीकापुर नगरपालिका ८ श्रीलंकाटापुमा बीओपी स्थापना भएका हुन् ।

सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी प्रमुख डीआईजी हरिशंकर बुढाथोकीले ती बीओपी उदघाटन गरे । बीओपी उदघाटन गर्दै उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अबैध चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएपछि अवैध क्रियाकलाप रोकिने स्थानीयले अपेक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment