Comments Add Comment

थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

३२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५७ सय ६० पुगुको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने नौ सय ७४ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार सबैभन्दा धेरै रौतहटमा ७६ जना संक्रमित थपिएका छन् । दाङका ५४ जना, सुर्खेतका ४०, दैलेखका २९, रुपन्देहीका २६, धादिङका २५, डडेल्धुराका २४, कञ्चनपुरका २०, पाल्पा र पर्सा १७÷१७ जना र कैलालीका १२ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

यस्तै, बाराका ९ जना, गुल्मीका ८, सर्लाही ६, बझाङका ५, डोटी, बर्दिया र बाँकेका ३÷३ जना, बर्दघाट सुस्तापूर्व, बर्दघाट सुस्तापश्चिम, प्युठान र रामेछापमा २÷२ जना तथा धनुषा, सिन्धुली र रुकुमपश्चिमका १÷१ जना संक्रमित थपिएका छन् ।

थप एकको मृत्यु

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भएको जेठ १२ मा पुष्टि भएको थियो ।

एकैदिन २० हजार आरडीटी टेस्ट

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र २० हजारबढी र्‍यापिड डायग्नोटिक टेस्ट (आरडीटी) गरिएको छ । त्यसमध्ये कतिको पोजेटिभ आयो भन्ने खुलाइएको छैन ।

स्वास्थ्य मन्त्रालयको नयाँ प्रोटेकलअनुसार १४ दिन क्वारेन्टिनमा बसेकाहरूमा लक्षण नभए आरडीटी गर्ने गरिएको छ । नेगेटिभ आएकालाई घर पठाउने गरिएको छ भने पोजेटिभ आएकाहरूको पीसीआर टेस्ट गर्ने गरिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा छ हजार ५९ स्वाबको पीसीआर विधिबाट परीक्षण गरिएको छ । देशभरका क्वारेन्टिनमा अझै एक लाख ४३ हजार ६१४ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment