१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तरर्गत सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ । नेता वंशलाल तामाङ पक्षले मतदानमा धाँधली भएको भन्दै विवाद गरेपछि अधिवेशन स्थगित भएको हो ।
सिन्धुपाल्चोक–२ मा कृष्णकुमार तामाङ र पासाङ दोङ क्षेत्रीय सभापतिका उम्मेदवार छन् । उनीहरू प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
पासाङको पक्षमा उत्रिएका नेता बंशलालले मतदानका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्रहरू प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले मतपेटिकामा खुट्टा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियोमा उनले मतपेटिकामा लात हान्दै ‘यस्तो अधिवेशन नि हुन्छ ? सबै सिग्नेचर नभएको…..’ भन्दै गरेको सुनिन्छ । अधिवेशन स्थलमा रहेका एक महाधिवेशन प्रतिनिधिका आकांक्षीले मतदानका क्रममा फर्जी मतपत्र प्रयोग भएको भन्दै विवाद भएपछि अधिवेशन स्थगित भएको जानकारी दिएका छन् ।
प्रतिक्रिया 4