News Summary
Generated by OK AI. Editorially reviewed.- डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत गाउँ–नगर अधिवेशन बुधबार देउवा र गगन थापाको तस्वीरसहितको ब्यानर राखेर गरिएको छ।
- अधिवेशन उद्घाटन समारोहमा देउवा समूहको सहभागिता नरहेका बेला फरक दृष्य देखिएको र ब्यानरबारे आफू अनभिज्ञ रहेको निवर्तमान सभापति करुणाकर जोशीले बताए।
- अधिवेशनले वीरेन्द्र कोटकेनीलाई पालिका सभापति चयन गरेको छ।
७ असोज, काठमाडौं । डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाको तस्वीर ब्यानर राखेर अधिवेशन गरिएको छ ।
पार्टीको १५औं महाधिवेशनअन्तर्गत गाउँ–नगर अधिवेशनका क्रममा बुधबार बडीकेदारमा पूर्वसभापति देउवा र सभापति थापाको तस्वीरसहितको ब्यानर राखेर अधिवेशन गरिएको हो ।
आन्तरिक विवादका बीच जारी तल्लो तहका अधिवेशनमा देउवा समूहको सहभागिता नरहेका बेला बडीकेदार गाउँपालिकामा अधिवेशन उद्घाटन समारोहमा फरक दृष्य देखिएको छ ।
यसबारे कांग्रेस बडीकेदारका निवर्तमान सभापति करुणाकर जोशीले पूर्वसभापति देउवा र सभापति थापाको तस्वीर ब्यानरमा राखिएको विषयमा अनभिज्ञता जनाए ।
‘ब्यानर किन त्यस्तो राखियो थाहा भएन । ब्यानर बनाउने जिम्मा सचिवलाई थियो,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँले नबुझेर बनाउनु भयो कि ! मलाई थाहा भएन ।’
अधिवेशनले वीरेन्द्र कोटकेनीलाई पालिका सभापति चयन गरेको पनि जोशीले जानकारी दिए ।
प्रतिक्रिया 4