Comments Add Comment

नियमित ड्युटीसँगै कोरोनाबारे सचेतना फैलाउँदै ट्राफिक प्रहरी

१ असार, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ । महाशाखासहित मातहतका ३४ कार्यालयमा कार्यरत ट्राफिक प्रहरी परिचालन गरेर कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउन थालिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट सडक प्रयोगकर्तामा हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य चोक एवं भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनमा हुने भिडभाड कम गराउनका लागि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाइएको हो ।

‘प्लेकार्डमा सधैं मास्क लगाएर यात्रा गरौँ, जोरबिजोर नियम पालना गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौं‌, जथाभावी हिँडडुल नगरौँ र ट्राफिक नियमको पालना गरौ‌ंलगायतका कुरा लेखिएका छन्’, ढकालले भने, ‘अहिले महाशाखा र मातहतका कार्यालयबाट ८२ स्थानमा दुई सय बढी ट्राफिक प्रहरी परिचालित छन् ।’

दैनिक बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म र बेलुकी ४ः०० बजेदेखि ७ः०० बजेसम्म प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

‘यात्रु तथा सडक प्रयोगकर्तालाई लक्षित गरी कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहनका लागि सचेतना अभियानमा ट्राफिक प्रहरी परिचालित गरिएको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ’, श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment