Comments Add Comment

बागमतीको बजेटमा कांग्रेसको टिप्पणी : मनगढन्ते र देखावटीमात्र

२ असार, हेटौंडा । बागमती प्रदेशसभामा आगामी आर्थिक बर्षको बजेटमाथि छलफल सुरु भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले पेश गरेको बजेटको नेकपाका सांसदले बचाउ गरेका छन् भने प्रतिपक्षी दलका सांसदहरुले आलोचना गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले बजेट यथार्थपरक नभएको टिप्पणी गरे । उनले सरकारले मनगढन्ते बजेट ल्याएको भन्दै कार्यान्वयन गर्न सक्ने क्षमताअनुसार मात्र बजेट ल्याउनुपर्ने तर्क गरे । कोरोना भाइरसको जोखिमको अवस्थामा सरकारले यथार्थ भन्दा माथिको बजेट ल्याउनु देखावटी मात्रै भएको उनको भनाइ छ ।

नेपाली कांग्रेसकी सांसद गीता वाग्लेले खर्च गर्ने क्षमता नहुँदा पनि सरकारले बजेट ठूलो ल्याएको टिप्पणी गरिन् । नेपाली कांग्रेसका संसदीय दलका उपनेता कृष्णलाल भडेलले सरकारले बजेट रत्नपार्कको खुला चौरमा डुंगा चलाएको जस्तो भन्दै व्यङ्ग्य गरेका छन् । उनले भने ‘ठुलो बजेटले जनतालाई छारो हाल्ने मात्रै काम गर्छ बजेट घटाएर काम गर्न सक्नेमात्रै ल्याउनु अहिले आवश्यकता हो ।’

कांग्रेसकै निमा लामाले सरकारले कोभिड–१९ संग जुध्ने कुनै पनि योजना नल्याउनु आश्चर्यजनक भएको बताए । कांग्रेसकी विजया श्रेष्ठ केसीले बजेटलाई सुन्दर नाराले भरिएको भाषण भन्दै सरकारको नियत र कार्यक्रमले जनता निराश भएको बताइन् ।

राप्रपाकी सांसद रिता माझीले बजेट शब्द जालमात्र भएको भन्दै कार्यकर्तालाई जोगाउने तर युवालाई रोजगारी दिन नसक्ने बजेट आएको दावी गरिन् ।

नेमकिपाका सांसद सुरेन्द्र राज गोसाईँले बजेटलाई सत्तारुढ पार्टीको गुटको मात्र बनेको टिप्पणी गरे ।

सत्तापक्षकाले गरे बचाउ

नेकपाकी सांसद रचना खड्काले सरकारले यथार्थ धरातलमा टेकेर बजेट ल्याएको बताइन् ।

नेकपाकै सांसद बद्री मैनालीले सरकारले बजेट समाजवाद उन्मुख, यथार्थपरक भन्दै विरोध गर्नु प्रतिपक्षको धर्म नै भएको टिप्पणी गरे । नेकपाकै सांसद डा. राजेन्द्रमान श्रेष्ठले बजेट अनुभवले खारिएर आएको दावी गरे ।

नेकपा सांसद दीपक निरौलाले बागमती प्रदेश सरकारले गौरवको काम गर्ने बजेट ल्याएको भन्दै तारिफ गरे । नेकपाका सांसद बसुन्धरा हुमागाईँले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएको बजेटले अर्थतन्त्र बलियो बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment