Comments Add Comment

डेक्सामेथासोन : कोरोना भाइरसबाट बच्ने औषधि भेटिएको हो ?

चीनको वुहानबाट सुरु भएको ‘कोरोना भाइरस’ अर्थात् कोभिड १९ को संक्रमणले संसारको ८१ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने चार लाख ४० हजारभन्दा बढीको मृत्युको कारण बनिसकेका छन् । सारा विश्वलाई नै प्रभावित गरेको कोभिड १९ ले नेपालमा पनि ६ हजारभन्दा बढीलाई संक्रमण र २० जनाको मृत्यु भइसक्दा यसको त्रास हामीमा हुनु स्वाभाविक हो। हुन त लामो समयको लकडाउन र त्यसले ल्याएको मुख्यतः आर्थिक समस्याले कोरोनाको त्रास  कमजोर हुँदै वा त्रासको बीचमा पनि दैनिक काममा फर्किन बाध्य भएको अवस्थामा केही राम्रा समाचारहरू पनि आउन थालेका छन् ।

कोभिड १९ को खोप तथा उपचारसम्बन्धी खबरहरूले बेलाबेलामा आशा जगाउँदै आएको छ । सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको यस भाइरसले छोटो समयमा नै संसारलाई नै अप्ठ्यारो अवस्थामा पुर्‍याउन सफल भएको छ । यो छोटो अवधिमा धेरै ठूला ठूला अध्ययन तथा अनुसन्धानहरू भइसकेको छैन । तर धेरै अध्ययनहरू जारी छन् । कहिले एचआईभी एड्सका लागि प्रयोग भएको टेनोफोभिर त कहिले मलेरियाका लागि प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विन निकै चर्चामा रहे । अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले पनि हाइड्रोक्सिक्लोरोक्विन खाएको सार्वजानिक गरे जबकि यसले धेरै नकारात्मक असर गर्ने भएकाले अमेरिकामा नै पछि यो बन्द गरिएको छ । पछिल्लो समयमा प्रिमेथ्रिन र अहिले डेक्सामेथासोन प्रभावकारी रहेको समाचार आएको छ ।

डा.बालकृष्ण साह

औषधिले नहुने रहेछ, रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्छ । त्यसैले भिटामिन ‘सी’लगायत लसुन, अदुवा खानुपर्ने तथा योग र व्यायाम गर्नुपर्ने समाचारहरू  पनि नआएका होइनन् । यसबाट बचाउन खोप उत्पादन र त्यसको अध्ययनका समाचारहरू पनि आइरहेको छ । केही खोपका अध्ययन र उत्पादन दुवैसँगै भइरहेको पनि समाचारमा आएका छन् ।

आधुनिक चिकित्सा विज्ञान मात्र होइन होमियोपेथिक र आयुर्वेदिक उपचार पद्धतिले पनि विभिन्न उपचारहरूको खोजी गरेका छन्। कति विज्ञले त पूर्णरुपले निको बनाउने दाबी गरे तापनि संसारले सहजै स्वीकार गरेको अवस्था छैन। किन भने संसारले अध्ययनको परिणाम खोजे हुन्छ । अहिले एउटा राम्रो परिणाम आएको छ। कोभिड १९ का लागि गरिएको अध्ययनहरूमा सम्भवतः सबैभन्दा बढी संक्रमित सहभागी रहेको यस अध्ययनले हाम्रो नेपाली औषधि बजारमा पनि उपलब्ध रहेको ‘डेक्सामेथाजोन’ अर्थात् एक किसिमको स्टोराइडले ठूलो सफलता पाएको देखाएको छ ।

बेलायतका विज्ञहरूले विश्वभर पाइने र सस्तो औषधि डेक्सामेथासोनले गम्भीर अवस्थाका कोरोना संक्रमितलाई बचाउन मद्धत पुगेको बताएका हुन् । उनीहरूले डेक्सामेथासोन स्टेरोइड थोरै मात्रा प्रयोग गर्दा पनि गम्भीर किसिमका संक्रमितलाई बचाउन सकिएकोे बताएका छन् । भेन्टिलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइ र अक्सिजन दिइएका पाँचमध्ये एक बिरामीलाई जोगाउने अनुसन्धानको दाबी छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले अस्पतालमा भर्ना भएका  दुई हजार बिमारीलाई डेक्सामेथासोन दिएका थिए र यो औषधि प्रयोग नगरेका चार हजारभन्दा बढी बिमारीहरूको तुलनात्मक अध्ययन गरेर सो प्रतिवेदन दिएको बीबीसीले उल्लेख गरेको छ । सो अध्ययनले भेन्टिलेटरमा रहेका बिमारीहरूको मृत्युदर ४० प्रतिशतबाट २८ प्रतिशतमा झर्ने उल्लेख गरिएको छ ।

प्रमुख अनुसन्धानकर्ता प्रोफेसर पिटर होर्बीले भनेका छन्,यो एकमात्र औषधि हो जसले संक्रमितको मृत्युको जोखिमलाई घटाउँछ यो कोरोना उपचारमा ठूलो सफलता र उपलब्धि पनि हो ।  तर यो औषधिले सामान्य अवस्थाका बिमारीलाई कुनै फाइदा नगर्ने र श्वासप्रश्वासमा समस्या रहेकालाई महत्वपूर्ण हुने प्रोफेसर होर्बीले स्पष्ट पारेका छन् ।

हुन त पछिल्लो समयमा कोभिड १९ का संक्रमितको संख्यामा वृद्धि भए तापनि यसका संक्रमितहरूको जटिलतामा उल्लेखनीय कमी आएको देखिएको छ । कोभिड १९ संक्रमणका कारणले हुने मृत्युमा पनि कमी आएको छ । भारत, रसिया र नेपालमा पनि संक्रमितको संख्या उच्च रहे तापनि यसको संक्रमणले हुने मृत्यको अनुपात युरोप, अमेरिकाको तुलनामा कम छ । यस अवस्थामा हाम्रो देशमा समेत उत्पादन हुँदै आएको डेक्सामेथाजोनको प्रभावकारिताले पक्कै सकारात्मक परिणाम दिनेछ ।

डेक्सामेथाजाेन स्टेराईड हाे, यसले काेभिड संक्रमणले तथा अन्य कारणले गर्ने इन्फ्लामेसन कम गर्ने र त्याे पनि विशेष गरी फाेक्साे र श्वासनलीकाे, त्यसैले याे श्वासप्रश्वासमा समस्या भएकाहरूलाई मात्रै फाइदा पुग्छ । सर्वसाधारणले याे खाएर राेगबाट बच्ने वा नलाग्ने हाेइन, त्यसैले काेभिड १९ बाट बच्न सामाजिक दुरी, मास्ककाे उचित प्रयाेग र हाथ धुने बानीलाई चाहिँ बिर्सिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment