+
+
Shares

लद्दाखको भिडन्तमा चीनतर्फको क्षति अस्पष्ट

हताहती भएको स्वीकार, संख्याबारे मौन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १४:४१

३ असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको द्विपक्षीय भिडन्तमा चीनतर्फ भएको क्षति अहिलेसम्म स्पष्ट भएको छैन । यद्यपि, आफ्नो सेनातर्फ पनि हताहती भएको भने चीनले स्वीकारेको छ ।

लद्दाखस्थित गलवान उपत्यकाको बिकट भूभागमा दुईतर्फका सेना आमनेसामने भएका थिए । घटनामा फायरिङ भने नभएको भारतीय सेनाले जनाएको छ । दुई सेनाबीच धकेलाधकेल, ढुंगा हानाहान र रड प्रहार भएका थिए । यस क्रममा केही भारतीय सैनिक भिरबाट खसेको बताइएको छ । भारतीय सेनाले आफ्नो तर्फका अहिलेसम्म २० जना सैनिकको निधन भएको र अझै केही बेपत्ता रहेको बताएको छ ।

यता चीनले भने यो घटनाको विवरण सार्वजनिक गरेको छैन । चीनको सरकारी मुखपत्रले हिजो चीन-भारत तनावलाई लिएर सम्पादकीय लेखेको थियो । उक्त सम्पादकीयमा झडपमा चिनियाँ सेनाले पनि क्षति व्यहोरेको उल्लेख छ ।

सम्पादकीयमा भनिएको छ, ‘चिनियाँ पक्षले आफ्नो सेनातर्फ भएको हताहतीको एकिन संख्या सार्वजनिक गरेको छैन । दुवैतर्फ अनावश्यक उत्तेजना नफैलियोस् र क्षतिको तुलना नहोस‍् भनेर यो निर्णय लिइएको हो ।’

चीनले भारतसँग भिडन्त नचाहेको तर यसलाई चीनको कमजोरीको रुपमा नबुझ्न सम्पादकीयमा आग्रह गरिएको छ। अहिले उत्पन्न तनावमा पनि पूर्णतया भारतीय सेना जिम्मेवार भएको ग्लोबल टाइम्सको दाबी छ ।

यसले लेखेको छ, ‘भारतमा केही मानिसहरू भुलवश सोच्छन् कि उनीहरूको देशको सैन्यशक्ति चीनको भन्दा बलियो छ । यही गलत बुझाइले भारतीय दृष्टिकोणलाई प्रभावित तुल्याउँछ र भारतको चीन नीतिमाथि दबाब पर्छ ।’

चीन र भारतको शक्ति दुनियाँका अगाडि छर्लंगै भएको पनि सम्पादकीयमा उल्लेख छ । तर पनि सीमा विवादमा चीनले भारतसँग जोरी नखोज्ने स्पष्ट पारिएको छ ।

‘यो हाम्रो सदासयता र संयम हो । तर चीन सीमा क्षेत्रको परिस्थितिलाई लिएर निर्धक्क छ । यसले द्वन्द्व सिर्जना गर्दैन तर द्वन्द्वबाट डराउँदैन पनि । नैतिकता र शक्ति दुवैले हाम्रो यो नीतिलाई अड्याइरहेका छन्,’ ग्लोबल टाइम्सले भनेको छ ।

यता भारतीय मिडियाले भने लद्दाख भिडन्तलाई लिएर उत्तेजनापूर्ण सामग्रीहरू प्रसारण गरिरहेका छन् । अहिलेको भारत १९६२ को जस्तो कमजोर नभएको भन्दै उनीहरूले यसपाला चीनलाई पाठ सिकाइने चेतावनी दिएका छन् । साथै, केही मिडियाले स्रोतका हवाला दिँदै लद्दाखमा चीनतर्फ ४३ जना मारिएको दाबी गरेका छन् । उनीहरूको दाबी पुष्टि गर्ने कुनै दरिलो आधार भने छैन ।

एनआइले लेखेको छ, ‘मारिनेमध्ये एक जना चिनियाँ इकाइका कमान्डिङ अफिसर रहेको स्रोतले बताएको छ ।’ आजतकले सूत्रको हवाला दिएर ४० भन्दा बढी चिनियाँ सेना मारिएको दाबी गरेको छ । उनीहरूलाई हेलिकोप्टर तथा एम्बुलेन्समा हालेर लगिएको समाचारमा जनाइएको छ ।

यसैबीच भारतीय कांग्रेस आइका नेता नेता राहुल गान्धीले लद्दाख भिडन्तका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको मौनतालाई लिएर प्रश्न उठाएका छन् । ट्विटरमा उनले लेखेका छन्, ‘प्रधानमन्त्री किन मौन छन् ? किन लुकिरहेका छन् ? अति भयो । के भएको थियो भन्ने हामीले जान्न पाउनुपर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?