Comments Add Comment

भारतले बडे भाइको दम्भ त्याग्नुपर्छ : नेकपा सांसद भट्टराई

४ असार, काठमाडौं । नेकपा सांसद खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताएका छन् ।

२१ औं शताब्दीमा पनि भारतले बल्लभ भाइ पटेलको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उनको भनाइ छ ।

नेपाल भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरु सुमधुर बनाउनु दुबै देशको कर्तव्य भएको उल्लेख गर्दै उनले भने, ‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभ भाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन । उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । भारतले बडे भाइको दम्भ त्याग्नुपर्छ ।’

नेता भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१ औं शताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत सम्बन्धको सुरुवात गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गरे ।

राष्ट्रियसभामा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको छलफलमा उनले महाकाली सन्धिमा उल्लेख भएका कतिपय कुराहरुको गलत अर्थ लगाइएको टिप्पणी गरे ।

अधिकांश महाकाली नदी सीमा नदी हो भनेर उल्लेख भएको शब्दावलीलाई गलत अर्थ लगाइएको उनले बताए । ‘महाकाली नदी सम्पूर्ण सीमानदी हो भन्न सक्ने अवस्था नेपालको छैन । महाकाली पारी पनि दोधरा चाँदनी छन् । त्यो हाम्रो होइन भन्न सक्छौं ? सक्दैनौं भने महाकाली सन्धिमा अधिकांश भूभाग सीमा नदी हो भनेको कुरा गलत ढंगले भनेको भनेर सोच्नु हुँदैन ।’

भारतीय पक्षका कारण पछिल्लो समय नेपाल भारत सम्बन्धमा दरार आएको उनले बताए । वार्ताका लागि पटक पटक आग्रह गर्दा पनि विवादित क्षेत्रमा आफैं सडक उद्घाटन गर्ने अनि सेना प्रमुखले नेपालको अपमान गर्दा नेपालले त्यो सहन नसक्ने नेता भट्टराईले बताए ।

‘सीमा समस्या समाधानका लागि पटक पटक आग्रह गर्दा पनि भारतबाट बेवास्ता गर्‍यो । भारतीय पक्षले हेपाहा र मिचाहा प्रवृत्ति देखाएका कारण समस्या उत्पन्न भयो । यो भारतीय संस्थापनको कुटनीतिक असफलता हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment