
४ असार, काठमाडौं । चीनको वुहानमा अलपत्र नेपालीलाई ल्याएर खरिपाटीमा राख्दा अनियमितता भएको भनेर सार्वजनिक भएको विवरण झुठो भएको नेपाली सेनाले प्रतिक्रिया दिएको छ । कुल विनियोजित रकमको आधारमा समाचार लेखेर सैनिक मनोबल कमजोर पार्ने प्रयास भएको सेनाको ठहर छ ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार सेनालाई क्वारेन्टिन व्यवस्थापनका लागि एक करोड २९ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये खानातर्फ ५५ लाख र औषधि तथा औषधिजन्य सामग्रीतर्फ ७३ लाख ७८ हजार विनियोजन गरिएको थियो ।
त्यसमध्ये औषधि खरिदमा तीन लाख ३३ हजार र औषधिजन्य सामग्री (पीपीई, मास्क लगायत) खरिदमा ६३ लाख ३७ हजार रुपैयाँ खर्च भएको सेनाले जनाएको छ । बाँकी ७ लाख २८ हजार रुपैयाँ कोष तथा लेखा नियन्त्रण कार्यालय, सुन्धारामा मौज्दात रहेको जनाइएको छ ।
तर, वुहानबाट ल्याइएका १७५ जना विद्यार्थीलाई क्वारेन्टिनमा राख्दा १३ हजार एक सय ७९ रुपैयाँ बराबरको औषधि मात्र खर्च भएको सेनाको भनाइ छ ।
‘बाँकी ३ लाख १९ हजार ८ सय तीस रुपैयाँ बराबरको औषधि पुनः प्रयोगमा ल्याउने गरी स्टोरमा मौज्दात छ’, सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रयोग भइसकेका केही औषधि सोही क्वारेन्टिन स्थलमा नै प्रयोग गर्ने गरी छाडिएको छ र केही प्रयोगमा ल्याउने गरी स्टोरमा दाखिला भएको हो ।’
सेनाले भवितव्य आइपर्न सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर औषधि पहिल्यै मौज्दात राखेको अधिकारीहरुको भनाइ छ । कुल सामग्री मध्ये केही प्रयोगपछि डिस्पोज गरिएको र केही प्रयोग भइसकेका बाहेक २३ लाख ३० हजार रुपैयाँ बराबरको औषधिजन्य सामग्री पुनः प्रयोगमा ल्याउने गरी दाखिला गरिएको बताइएको छ ।
क्वारेन्टिनमा १७५ विद्यार्थी, नेपाल वायु सेवा निगमा १८ कर्मचारी, चिकित्सक, सफाइकर्मी तथा एम्बुलेन्स टोलीसहित ९ गरी जम्मा २ सय २ जनालाई खना खुवाउन चार प्रकारको मेनु तयार गरिएको थियो । कुल तीन लाख २२ हजार रुपैयाँको औषधि खरिद भएकोमा ७२ लाख ९८ हजार भनि एउटै मात्र आधार दिनु दिग्भ्रमित पार्ने अभिप्राय भएको जनाएको छ ।
साथै, कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाइँमा आफ्नो दायित्व र भूमिकालाई प्रभावकारी एवं पारदर्शी ढंगबाट सम्पन्न गर्न आफूहरु प्रतिबद्ध रहेको पनि सेनाले दोहोर्याएको छ ।
प्रतिक्रिया 4